न्युयोर्क

‘नो भाषण, नो आसन’ राजेशको सांगीतिक साँझमा मात्र ‘सारेगम..’

न्यूयोर्क– नेपाल चर्चित गायक राजेश पायल राईको एकल साँझ न्यूयोर्कमा आगामी शनिबार (नोभेम्बर–१९) मा हुने भएको छ । एकल साँझ कार्यक्रमकाे सम्पूर्ण तयारी पूरा भएको छ । ‘मेगास्टार राजेश पायल राई लाईभ ईन न्यूयोर्क’ नाम दिइएको उक्त कार्यक्रममा राईले सवा दुई घण्टा भन्दा बढी समय आफ्ना चर्चित गीतहरु दर्शकमाझ प्रस्तुत गर्नेछन् । आईलाईन क्रियशनको मुख्य आयोजनामा हुने उक्त कार्यक्रम न्यूयोर्ककको कुइन्सस्थिति गुल्सन टेरेस (ढाका  क्लब) मा बेलुकी ८ः३० बजेबाट शुरु हुनेछ । 

नेपाली सांगीतिक क्षेत्रकै भर्सटायल गायक राईको आवज र गीतमा मन्त्रमुग्ध हुने जमात न्यूयोर्कमा पनि उल्लेख्य छ । स्वदेशमा भन्दा बढी देश विदेशमा स्टेज कार्यक्रम गरेर चर्चा बटुलेका राईको न्यूयोर्कमा हुने यो एकल साँझ पनिमा पनि दर्शकको बाक्लाे उपस्थिति रहने आयोजकले दाबी गरेको छ । 

विशुद्ध सांगीतिक मनोरञ्जन प्रदान गर्ने हेतुले आयोजकले कार्यक्रमको टिकटमै ‘नो भाषण, नो आसन’ लेखेर एक महिना अघि देखि नै विक्री गर्दै आएको छ । पछिल्लो समय मानिसहरु, आसनग्रहण र भाषणबाजीका कारण वाक्क दिक्क बन्ने थालेपछि आयोजकले कार्यक्रममा नयाँपन दिन लागेको हो । उसले कार्यक्रममा उद्घोषक समेत राखेको छैन । कार्यक्रममा डिजेइङ भने डिजे जाङ्बुले गर्नेछन् । 

कार्यक्रमको मुख्य आयोजक रहेको आईलाईन क्रियसनले ग्राफिक, वेब डिजाइनिङ, प्रिन्टिङ्ग, भिडियो निमार्णसँगै ईभेन्ट व्यवस्थापन लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।

३ मंसिर २०७३ (18 Nov 2016)