विश्व

अमेरिकी राष्ट्रपतीय चुनाव मंगलबार, दुबै उम्मेदवार मत बटुल्दै

न्यूयोर्क– अमेरीकी राष्ट्रपतीय चुनावको तयारी अन्तीम चरणमा पुगेको छ । अक्टोबर आठ अर्थात् मंगलबार हुने अमेरीकी राष्ट्रपतीय चुनाव हुन एक दिन मात्र बाँकी रहँदा डेमोक्र्याटिक पार्टीकी उम्मेद्वार हिलारी क्लिन्टन र  रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिएको छ । दुबै उम्मेदवारले आ–आफ्ना चुनावी अभियानलाई तीब्र पारिनै राखेका छन् । 
राष्ट्रपतिको सशक्त उम्मेदवार मानिएकी हिलारी क्लिन्टनले विभिन्न सेलिब्रेटीहरु तथा सार्वजनिक व्यक्तित्वहरुलाइ आफ्नो चुनावी अभियानमा सहभागी गराएकी छिन् । उनले चर्चित गायिका केटी पेरी, बेयोन्से तथा बेयोन्सेका पति जे जेडलाइ सहभागी गराएकी छिन् । त्यस्तै, उनलाई वर्तमान राष्ट्रपति बाराक ओबामाको पनि साथ रहेको छ ।  
यता, डोनाल्ड ट्रम्पले अमेरीकाको विभिन्न राज्यमा ¥याली तथा कार्यक्रम गरिरहेका छन् । उनले आयोवा, मिनेसोटा, मिचिगन, पेन्सलभेनिया, कोलोराडो, भर्जिनिया, फ्लोरिडा, नर्थ क्यारोलिना तथा न्यु हेम्पसायरमा भएका कार्यक्रममा सहभागी हुँदै आएका छन् । चुनावको अन्तिम साताको राजनीतिक विज्ञापनका लागि ट्रम्पले २५ करोड डलर खर्च गरेको जनाइएको छ । स्विङ् स्टेट्स भनिने कुनै उम्मेद्वारले जित्ने निश्चित नभइसकेका राज्यहरुमा दुबै उम्मेद्वारले आफ्नो अभियानलाइ तिब्र पारेका छन् । फ्लोरीडा, पेन्सलभेनिया, आयोवा, ओहायो लगायतका स्विङ स्टेट्समा दुबै उम्मेद्वारले ¥याली तथा सम्बोधनका कार्यक्रम सार्वजनिक गरेका छन् । एक साता अघिसम्म डोनाल्ड ट्रम्पलाइ मत सर्वेक्षणमा पछि पार्दै आएकी हिलारी क्लिन्टनले अहिले भने ट्रम्पसँगको अग्रता गुमाउँदै गएकी छिन् ।

विभिन्न यौन दुव्र्यवहार तथा अनैतिक घटनामा संलग्न भएको भिडियो संचारमाध्यमले सार्वजनिक गरेपछि मतदातामाझ ट्रम्पको विश्वसनीयता गुमेको थियो । तर हालैमात्र विकिलिक्स्ले विदेशमन्त्री हुँदा क्लिन्टनले प्रयोग गरेको नीजी इमेल सार्वजनिक गरेपछि तथा अमेरीकाको संघीय अनुसन्धान ब्युरो एफबीआईले उनको इमेलको अनुसन्धान गर्ने भएपछि भने क्लिन्टनले ट्रम्प विरुद्ध पाएको अग्रता गुमाउँदै गएकी हुन् । क्लिन्टनले अक्टोबरको अन्तिम हप्ता मात्र अमेरीकी समाचार संस्था एबीसीले सार्वजनिक गरेको मत सर्वेक्षणमा १० अंकले ट्रम्पलाइ पछि पारेकी थिइन् । 

तर, अर्को अमेरीकी समाचार संस्था फक्स न्युजले भर्खरै सार्वजनिक गरेको मत सर्वेक्षणमा उनी मात्र एक अंकले ट्रम्पभन्दा अघि रहेकी छिन् । ट्रम्प मध्यम वर्गीय श्वेतहरुमाझ लोकप्रिय छन् भने अश्वेत, ल्याटीन अमेरीकी मूलका मानिसहरु, महिला तथा मुसलमानहरु क्लिन्टनको पक्षमा रहेका छन् । मत सर्वेक्षणका अनुसार अर्कान्सास, वियोमिङ, वेस्ट भर्जिनिया, ओक्लाहोमा, नेब्रस्का तथा इडाहो राज्यमा ट्रम्प भारी अन्तरले अगाडी रहेका छन् भने मेरील्याण्ड, डेलावयर, क्यालिफोर्निया, भर्मन्ट, मासाचुसेट्स तथा न्युयोर्कमा क्लिन्टन अगाडी रहेकी छिन् ।

२२ कार्तिक २०७३ ।