न्युयोर्क

नेवाः गुठीको आयोजनामा न्यूयोर्कमा म्हः पूजा

नेवाः गुठी अमेरिकाको आयोजनामा न्यूयोर्कमा म्हः पूजा सम्पन्न भएको छ । न्हुदया भिन्तुना ११३७ (नेपाल सम्बतको सुरुवात) सँगै मनाईने म्हः पूजा सोमबार सामुहिक रुपमा मनाईएको हो । गुठीले विगत १० वर्षदेखि न्यूयोर्कमा सामुहिक रुपमा म्हः पूजा मनाउँदै आएको छ । 
न्यूयोर्कको सन्निसाईडमा आयोजित कार्यक्रममा न्यूयोर्कमा रहेका अधिकांश नेवार परिवार, विभिन्न संघसंस्थाका प्रतितिनिधिका साथै गैरनेवारहरुको पनि उपस्थिति रहेको थियो । कार्यक्रममा नेवार जातिको पहिचान झल्किने विभिन्न कार्यक्रमसमेत गरिएको थियो । म्हः पूजा सुरुहुनु अघि गुठीले औपचारिक कार्यक्रमका साथै विविध सांस्कृतिक कार्यक्रम पनि गरेको थियो । 
औपचारिक कार्यक्रमपछि सुरु भएको म्हः पूजा सम्पूर्ण विधिसहित गरिएको थियो । कार्यक्रममा आवश्यक पर्ने अधिकांश समाग्रीहरु नेपालबाटै ल्याईएको आयोजकले जानकारी दिए । पूजामा प्रयोग गरिएका अधिकांश सामाग्रीहरु पूर्ण परम्परागत थिए । 
गुठीका कार्यबाहक अध्यक्ष प्रधानले भन्नुभयो– ‘आफ्नो आत्मालाई साक्षि राखी आगामी वर्षमा गरिने शुभकार्यहरुको लागि प्रतिवद्धता गर्ने पर्वको रुपमा यसलाई लिइन्छ ।’ म्हः पूजा आत्म शान्ति र आफूले आफैलाई चिनेर अघि वढ्ने पर्वको रुपमा परापूर्व कालदेखि मनाउँदै आएको पर्व हो ।
गुठीका कार्यबहाक अध्यक्ष निर्मल प्रधानको स्वागतबाट सुरु भएको कार्यक्रममा गुठीका संस्थापक सल्लाहकार विके नेवा र निवर्तमान अध्यक्ष समिर मर्हजनले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । त्यस्तै कार्यक्रममा विभिन्न संघसंस्थाबाट प्राप्त शुभकामना सन्देश पढेर सुनाईएको थियो । गुठीले नेवारी भाषा र संस्कृति संरक्षणका लागि उल्लेख्य योगदान पु¥याउने विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरेको थियो । कार्यक्रममा रिभाईविङ नेपाल भाषा नामक वृत्तचित्र बनाई नेपाल भाषा संरक्षण, सम्बद्र्धन र उत्थानका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा जनचेतना जगाउन उल्लेख्य योगदान पु¥याउने विमिना रञ्जित र साम शाक्यलाई सम्मान गरिएको थियो । त्यस्तै लुना रञ्जित, जोलि अमात्य, कञ्चन अमात्य र रत्न मानन्धरलाई पनि सम्मान गरिएको थियो । 
कार्यक्रममा समिर महर्जन, राजेन्द्र मर्हजन, सरिता महर्जन, श्रीजना तुलाधार, र लक्ष्मी श्रेष्ठले भिन्तुना गीत गाएका थिए भने नविन श्रेष्ठ, बसन्ती राई र करुण श्रेष्ठले नृत्य गरेका थिए । त्यस्तै सपनाश्री र राम श्रेष्ठले पनि गीत गाएका थिए । 


नेवारी समुदायमा म्हः पूजाको महत्व
नेपालका चाडपर्व मध्ये म्हः पूजा विशेष पर्वमा पर्छ । खासगरी नेवारी समुदायले मनाउने यो पर्वको विशेष अर्थ रहने गरेको छ । परिवारका सबै सदस्य भेला भएर गरीने म्हः पूजा आफ्नै शरीरको पूजा हो । नेवारी भाषामा म्हः को अर्थ शरीर हो । आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको रुपमा यसलाई लिने गरिन्छ । मानव शरीर नै त्यस्तो चिज हो जसमा समग्र देवता, ऊर्जाशक्ति र विश्व ब्रम्हाण्ड हुने विश्वार गरिन्छ । त्यतिमात्र होइन आफूले आफैलाई चिन्न सक्नुपर्छ र आफ्नो उद्दार पनि आफैले गर्नु पर्छ भन्ने अर्थ यो पर्वले बोक्ने गरेको छ । 
परापूर्व कालमा दैवी प्रकोपबाट नेवारी समुदायमा ठूलो मानवीय क्षति भएपछि जीवित रहेका मानिसले आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा सुरु भएको किम्बदन्ती छ । 
शरीरमा शान्ति नभएसम्म जीवनले सार्थकता नपाउने मान्यता अनुसार पनि म्हः पूजाको महत्व रहेको छ । म्हः पूजाले आत्म शान्ति मात्र होइन वर्षभरी नै शरीरको सुरक्षा हुने विश्वास गर्ने गरिन्छ । 
म्हः पूजा गर्न परिवारका प्रत्येक सदस्यको लागि पूर्वसम्मुख पारेर एक÷एक वटा मण्डल बनाइन्छ । मन्डलामा खाने तेलको सानो घेरालाई बीचमा पारी त्यसपछि क्रमशः बाहिर अक्षता, लावा, कालो भटमास, मासको गेडा, धान, बेसारले रंगाएको चामलको धूलो, त्यसपछि पानी र रंगीबिरंगी फूलका घेरा हालिन्छ । परिवारका सबै सदस्यलाई पुग्नेबाहेक म्हःपूजा गर्न बस्ने ठाउँभन्दा अगाडि सुकुन्दा, त्यसपछि धर्मदूत र अन्त्यमा कर्मदूतको लागि भनेर पनि मन्डला बनाइन्छ । घरमा भएका नाङ्लो, कुचो, जाँतो, घ्याम्पो, घडा आदिका लागि पनि मन्डला बनाइन्छ । मन्डलाहरुको अगाडि परिवारको जेठोदेखि क्रमबद्ध भएर परिवारका सबै सदस्य बसेपछि परिवारका मूलीले सबैलाई पूजा गर्दै रातो अक्षताको टीका लगाइदिन्छन् । त्यसपछि मूलीले एक पाथी अटाउने काठको नाप्ने भाँडोमा अक्षता, फलफूलका टुक्राहरु, सिंगो सुपारी र खुद्रा पैसा राखेर प्रत्येकको शरीरमा तीन पल्ट अभिषेक गर्छन् ।
त्यस्तै मण्डला छेउँमा ब्रह्मा, विष्णु, महेश्वर, यमराज, यमुनाको स्थापना गरिन्छ । आफ्नो शरीरका साथै ती देवी देवतालाई अक्षतालगायत सयपत्री फूलले पूजा गरिन्छ । नेवार समुदाय हिन्दू र बौद्ध धर्मावलम्बी छन् । बौद्ध अनुयायीले भने म्हःपूजा केही फरक तरिकाले गर्छन् । यस सम्प्रदायमा विभिन्न नौ किसिमका गेडागुडीको प्रयोग गरी मण्डल निर्माण गरिन्छ । सौर्यमण्डल गोलो भएकाले सोहीअनुरुप विश्व ब्रह्माण्डलाई प्रतिनिधित्व हुने गरी मण्डल निर्माण गरिन्छ । यमराज कुलदेवताको आराधना गरेर म्हः पूजासँगै दशै दिशाका लोकपालको पनि पूजा गरिने परम्परा छ ।
त्यस्तै म्हः पूजा नेपाल सम्वत् अर्थात नयाँ वर्षको सुरुवातको उपलक्ष्य पारेर मनाउने पर्व पनि हो । राष्ट्रिय विभूति शङ्खधर साख्वाले इसं ८८० बाट नेपाल सम्वतको सुरुवात गरेका थिए । यसैको उपलक्ष्यमा नेवार समुदायले म्हः पूजा अर्थात् आफ्नो शरीरको पूजा गरि सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्ने गरेको पाईन्छ ।