विश्व

ट्रम्प विश्वकै लागि खतराः ओबामा

अमेरिका- अमेरिकी राष्ट्रपति बाराक ओबामाले रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्प पूरै विश्वका लागि खतरा भएको बताएका छन्। अमेरिकाको उत्तरी कैरोलाइनामा डेमोक्रेटिक पार्टीद्वारा आयोजित एक कार्यक्रममा बोल्दै ट्रम्पले जिते पछिल्लो आठ वर्षमा अमेरिकाले गरेको प्रगति सबै उल्टिने खतरा रहेको बताएका छन्।

उनले ट्रम्प कमाण्डर इन चीफ बन्न समेत योग्य नभएको बताएका छन्। उता ट्रम्पले एक कार्यक्रमलाई सम्बोधन गर्दै यदि हिलारी क्लिन्टनले जिते अमेरिकाले संवैधानिक संकटको सामना गर्नुपर्ने बताएका छन्। ट्रम्पले यदि हिलारीले चुनाव जिते उनीमाथि आपराधिक आरोप लाग्न सक्ने बताएका छन्।

अमेरिकामा ८ नोभेम्बरमा राष्ट्रपतिका लागि निर्वाचन हुँदैछ। पछिल्लो मतसर्वेक्षण अनुसार केही स्थानमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प अघि देखिएको छ भने कुनै स्थानमा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टन अघि देखिएको बीबीसीले जनाएको छ। हाल उम्मेदवारद्वय विभिन्न राज्यहरुमा भोट माग्न व्यस्त छन्।
१८ कार्तिक २०७३ ।