न्युयोर्क

नेवारी समुदायमा म्हः पूजाको महत्व

न्यूयोर्क । नेपालका चाडपर्व मध्ये म्हः पूजा विशेष पर्वमा पर्छ । खासगरी नेवारी समुदायले मनाउने यो पर्वको विशेष अर्थ रहने गरेको छ । परिवारका सबै सदस्य भेला भएर गरीने म्हः पूजा आफ्नै शरीरको पूजा हो । नेवारी भाषामा म्हः को अर्थ शरीर हो । आफ्नो शरीरलाई परमात्मा मानेर आफूले आफूलाई आराधना गरी शरीरभित्रको चेतनालाई पूजा गर्ने यस पर्वको रुपमा यसलाई लिने गरिन्छ । मानव शरीर नै त्यस्तो चिज हो जसमा समग्र देवता, ऊर्जाशक्ति र विश्व ब्रम्हाण्ड हुने विश्वार गरिन्छ । त्यतिमात्र होइन आफूले आफैलाई चिन्न सक्नुपर्छ र आफ्नो उद्दार पनि आफैले गर्नु पर्छ भन्ने अर्थ यो पर्वले बोक्ने गरेको छ ।
परापूर्व कालमा दैवी प्रकोपबाट नेवारी समुदायमा ठूलो मानवीय क्षति भएपछि जीवित रहेका मानिसले आत्मसुरक्षाका लागि शरीरको पूजा गर्ने परम्परा सुरु भएको किम्बदन्ती छ ।
शरीरमा शान्ति नभएसम्म जीवनले सार्थकता नपाउने मान्यता अनुसार पनि म्हः पूजाको महत्व रहेको छ । म्हः पूजाले आत्म शान्ति मात्र होइन वर्षभरी नै शरीरको सुरक्षा हुने विश्वास गर्ने गरिन्छ ।
म्हः पूजा गर्न परिवारका प्रत्येक सदस्यको लागि पूर्वसम्मुख पारेर एक÷एक वटा मण्डल बनाइन्छ । मन्डलामा खाने तेलको सानो घेरालाई बीचमा पारी त्यसपछि क्रमशः बाहिर अक्षता, लावा, कालो भटमास, मासको गेडा, धान, बेसारले रंगाएको चामलको धूलो, त्यसपछि पानी र रंगीबिरंगी फूलका घेरा हालिन्छ । परिवारका सबै सदस्यलाई पुग्नेबाहेक म्हःपूजा गर्न बस्ने ठाउँभन्दा अगाडि सुकुन्दा, त्यसपछि धर्मदूत र अन्त्यमा कर्मदूतको लागि भनेर पनि मन्डला बनाइन्छ ।
घरमा भएका नाङ्लो, कुचो, जाँतो, घ्याम्पो, घडा आदिका लागि पनि मन्डला बनाइन्छ । मन्डलाहरुको अगाडि परिवारको जेठोदेखि क्रमबद्ध भएर परिवारका सबै सदस्य बसेपछि परिवारका मूलीले सबैलाई पूजा गर्दै रातो अक्षताको टीका लगाइदिन्छन् । त्यसपछि मूलीले एक पाथी अटाउने काठको नाप्ने भाँडोमा अक्षता, फलफूलका टुक्राहरु, सिंगो सुपारी र खुद्रा पैसा राखेर प्रत्येकको शरीरमा तीन पल्ट अभिषेक गर्छन् ।
त्यस्तै मण्डला छेउँमा ब्रह्मा, विष्णु, महेश्वर, यमराज, यमुनाको स्थापना गरिन्छ । आफ्नो शरीरका साथै ती देवी देवतालाई अक्षतालगायत सयपत्री फूलले पूजा गरिन्छ । नेवार समुदाय हिन्दू र बौद्ध धर्मावलम्बी छन् । बौद्ध अनुयायीले भने म्हःपूजा केही फरक तरिकाले गर्छन् । यस सम्प्रदायमा विभिन्न नौ किसिमका गेडागुडीको प्रयोग गरी मण्डल निर्माण गरिन्छ । सौर्यमण्डल गोलो भएकाले सोहीअनुरुप विश्व ब्रह्माण्डलाई प्रतिनिधित्व हुने गरी मण्डल निर्माण गरिन्छ । यमराज कुलदेवताको आराधना गरेर म्हः पूजासँगै दशै दिशाका लोकपालको पनि पूजा गरिने परम्परा छ ।
त्यस्तै म्हः पूजा नेपाल सम्वत् अर्थात नयाँ वर्षको सुरुवातको उपलक्ष्य पारेर मनाउने पर्व पनि हो । राष्ट्रिय विभूति शङ्खधर साख्वाले इसं ८८० बाट नेपाल सम्वतको सुरुवात गरेका थिए । यसैको उपलक्ष्यमा नेवार समुदायले म्हः पूजा अर्थात् आफ्नो शरीरको पूजा गरि सुस्वास्थ्य तथा दिर्घायुको कामना गर्ने गरेको पाईन्छ ।

न्यूयोर्कमा हुँदैछ म्हः पूजा

नेवाः गुठीले यहिं अक्टोबर ३१ तारिखमा न्यूयोर्कमा म्हः पूजा गर्ने भएको छ । न्यूयोर्कको सन्निसाईडमा गर्न लागिएको म्हः पूजाका गुठीले आफ्नो तयारी तिब्र बनाएको छ । गुठीले सन् २००७ देखि प्रत्यक वर्ष म्हः पूजा गर्दै आएको छ । नेपाल सम्बत ११३७ प्रारम्भ अर्थात न्हूँदया भिन्तुना विशेष कार्यक्रमसहित म्हः पूजा गर्न लागिएको आयोजकले जनाएका छन् ।
कार्यक्रममा सहभागिताका लागि ३५ डलरको टिकटको व्यवस्था गरिएको छ । कार्यक्रम स्थलबाटै टिकट लिनुपरेमा ४० डलर भुक्तान गर्नुपर्नेछ । त्यस्तै १२ वर्ष मुनीका बालबालिकाका लागि भने २० डलरको टिकटको व्यवस्था गरिएको छ । म्हः पूजामा नेवारी खाना, गीत संगीत, नेवारी संस्कृति झल्कने विभिन्न कार्यक्रमका साथै अन्य विविध कार्यक्रम गरिने आयोजकले जानकारी दिएका छन् ।