विश्व

नोबेल शान्ति पुरस्कार विजेता पेरेजको निधन

एजेन्सी– नोवेल शान्ति पुरस्कार विजेता ईजरायलका पूर्वराष्ट्रपति तथा प्रधानमन्त्री सिमोन पेरेजको बुधबार निधन भएको छ। दुई साता अघिदेखि सिकिस्त बिरामी रहेका पेरेजको ९३ वर्षको उमेरमा स्थानीय समयअनुसार बिहान ३ बजे निधन भएको पेरेजका छोरी–ज्वाइँ रफी वालडेनले जानकारी दिए।

पेरेज दुई पटक प्रधानमन्त्री र एकचोटि राष्ट्रपति बनेका थिए भने जीवनको उत्तरार्धसम्म पनि सक्रिय राजनीतिज्ञकारुपमा क्रियाशिल थिए। प्यालेस्टाइनसँग शान्ति सम्झौता गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै उनलाई सन् १९९४ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो। उनको निधन प्रति विभिन्न देशका सरकार प्रमुख तथा राष्ट्रप्रमुखले दुःख व्यक्त गरेका छन्।

अमेरिकी राष्ट्रपति बाराक ओबामाले शान्तिका लागि सधैँभरी प्रयत्न गरिरहने व्यक्तिका रुपमा उनलाई स्मरण गरेका छन्। ओबामा पेरेजको अन्त्येष्टी कार्यक्रममा सहभागी हुन शुक्रबार इजरायल जाने भएका छन्। संयुक्त राष्ट्रसङ्घका महासचिव वान की मुनले पनि शोक वक्तव्य प्रकाशित गरी शान्ति स्थापनमा महत्वपूर्ण भूमिका खेलेका पेरेजको निधनले दुखित बनाएको बताएका छन्।

अमेरिकाकै पूर्वराष्ट्रपति विल क्लिनटनले पनि पेरेजलाई शान्ति र मेलमिलापका अभियान्तको रुपमा सम्झना गरेका छन्। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले गहिरो शोक व्यक्त गरेका छन् भने प्रतिपक्षी दलका नेता इस्साक हेर्जङले उनी इजरायलको इतिहासका प्रतीक भएकाले कहिल्यै भुल्न नसक्ने बताएका छन्। पेरेजले प्रधानमन्त्री र राष्ट्रपतिका रुपमा सन् २००७ देखि २०१४ सम्म इजरायलको नेतृत्व गरेका थिए।

१२ असोज, २०७३ ।