न्युयोर्क

नेवाः गुठी अमेरिकाको अध्यक्षमा धर्मेन्द्र गोपाली निर्वाचित

न्यूयोर्क । नेवाः गुठी अमेरिकाको साधारणसभाले आगामी दुई वर्षका लागि धर्मेन्द्र गोपालीको संयोजकत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।  न्यूयोर्कको ज्याक्सन हाईटस्मा सम्पन्न भएको साधारणसभाले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।

सधारणसभाले उपाध्यक्षमा निर्मल प्रधान र रविन बज्राचार्य, सचिवमा विजय मान सिंह, सहसचिवमा सन्तोष महर्जन, कोषाध्यक्षमा राजेन्द्र महर्जन र सहकोषाध्यक्षमा सूर्या श्रेष्ठ महर्जनलाई चयन गरेको छ । त्यस्तै बोर्ड सदस्यहरुमा राजन कर्माचार्य, सृजना ताम्राकार, विरेन्द्र मानन्धर, हृदय तुलाधर, लक्ष्मी श्रेष्ठ, विनिता नकर्मी, सुवर्णकुमार शाक्य, उमेश गोपाली, विजय डंगोल र अविन मानन्धर चयन भएका छन् । 

सधारणसभाले मिडिया संयोजकमा गोकुल श्रेष्ठ, महिला संयोजकमा सृजना ताम्राकार, विद्यार्थी संयोजकमा विजय मान सिंह, जनसम्पर्क संयोजकमा रविन बज्राचार्य, खेलकुद संयोजकमा प्रलय राजभण्डारी, संंघसंस्था संयोजकमा मंगलदास श्रेष्ठ र सांस्कृतिक संयोजकमा राम श्रेष्ठलाई चयन गरेको छ । निर्वाचन आयुक्त मंगलदास श्रेष्ठले सर्वसम्मत चयन भएका पदाधिकारी तथा बोर्ड सदस्यहरुको घोषणा गर्नु भएको हो ।
गुठीका निवर्तमान अध्यक्ष समिर महर्जनको सभापतित्वमा सम्पन्न भएको साधारणसभामा गुठीले हालसम्म गरेका कार्यहरुको विवरण प्रस्तुत गरिएको थियो । निवर्तमान अध्यक्ष महर्जनले नवनिर्वाचित अध्यक्ष गोपालीसहित सम्पूर्ण टिमलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै बधाई ज्ञापन गर्नु भएको थियो । त्यस्तै अध्यक्ष गोपालीले निवर्तमान अध्यक्ष महर्जनलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो । 
नेवाः गुठी अमेरिका सन् २००७ मा न्यूयोर्कमा स्थापना भएको संस्था हो । गुठीले अमेरिकामा रहेका नेवारहरुलाई संगठित गरी आफ्नो भाषा, संस्कृति र परम्पराको संरक्षण गर्दै आएको छ । विदेशमा रहेर मातृ भूमि नेपालमा भैपरिआउने विभिन्न संकटहरुमा पनि हातेमालो गर्दै आएको छ । स्थापना कालदेखि नै नेवार समुदायका पर्वहरुः न्यू दया भिन्तुना, महःपूजा, इही, कयटा पूजा, एन्या पुन्हीलगायतका महत्वपूर्ण पर्वहरुलाई विशेष महत्वका साथ मनाउँदै आएको छ ।
गुठीले नेपालबाट आउने विभिन्न नेवाः व्यक्तिहरुसंग अन्तरक्रिया गर्ने गरेको छ । त्यस्तै नेपालमा रहेका विभिन्न नेवाः संघसंस्थाहरुसँग सहकार्यगरी आर्थिक, भौतिक तथा समाजिक सहयोग गर्ने गरको छ । गुठीले अहिले पनि नेपालमा रहेको ज्यापु समाजसँग सहकार्य गरी विभिन्न कार्यक्रम सञ्चालन गरेको छ । गुठीले अमेरिकामा सम्पन्न वल्र्ड नेवाः सम्मेलनमा उल्लेख्य भूमिका निर्वाहसमेत गरेको थियो । त्यस्तै नेवाः गुठी अमेरिकाले नेपालका भूकम्प पीडितहरुका लागि आर्थिक सहयोग संकलन गरी हस्तान्तरण गरिसकेको छ । त्यस्तै गुठीले सन् २००७ देखि नै विश्व आदिवासी दिवसको दिनमा संयुक्त राष्ट्रसंघले आयोजना गर्ने कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै आएको छ भने न्यूयोर्कमा आयोजना हुने विभिन्न महत्वपूर्ण कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै आएको छ । गुठीले प्रशा तुलाधरको उपचारका लागि आर्थिक सहयोगसमेत गरेको थियो ।