कला-साहित्य

कविता- लाखौं बालक बस्द छन् सडकमा

लाखौं बालक बस्दछन् सडकमा भोका र नाङ्गा हरे
लाखौं औषधि नै नभै समयमा जन्मेर मात्रै मरे
सारा शासक वातमा रुमलिए साह्रै उछित्तो गरे
चिल्ला कार चढेर नाम तिनको पारेर खल्ती भरे ।।१

शिक्षामा पनि छैन रे पहुँच नै सम्पूर्ण देशैभरी
धेरै बन्चित छन् नपाई सुबिधा लाखा र पाखा परी
वाँधा बस्न गरिन्छ बाध्य घरमा नावालकै त्यो अनि
बच्चाकै श्रम हुन्छ शोषण यहाँ खोसिन्छ यिनै पनि ।।२

कोही यद्धविषे प्रताडित भए ज्यानै त फाले यहाँ
कोही गैकन बालदेश अणुनै ताकी खसाले यहाँ
कोही भ्रष्टभई हुले कुलतमा साह्रै फसाए यहाँ
कोही गाँस र बास मिल्दछ भनि डाँडै कटाए यहाँ ।।३

धर्म बाँकी रहेन यो जगतमा भो सत्य टाढा अनि
हिंसामै कति बालिकाहरु यहाँ पर्छन् घरैमा पनि
भोग्नै बाध्य भइरहेछ दुनियाँ संत्रासको जीवनी
जाग्यो मानबभित्र दानबपना अन्ययमुखी बनी ।।४

- रामशरण न्यौपाने
काठमाडौं