न्युयोर्क

अमेरिकी राष्ट्रपति ओबामा र परराष्ट्रमन्त्री डा महतबीच भेट

काठमाडौँ- अमेरिकी राष्ट्रपति बाराक ओबामा र परराष्ट्रमन्त्री डा प्रकाशशरण महतबीच न्युयोर्कमा भेटवार्ता भएको छ । परराष्ट्रमन्त्री डा महत संयुक्त राष्ट्र संघको ७१औँ महासभामा नेपाली प्रतिनिधिमण्डलको रुपमा अमेरिका पुगेका मन्त्री महतले  अमेरिकी राष्ट्रपति ओबामासँग भेटवार्ता गरेका हुन् । 

संयुक्त राष्ट्रसङ्घको ७१औँ महासभामा सहभागी हुन अमेरिका पुगेका संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुख एवम् प्रतिनिधिमण्डलका नेताको सम्मानमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले मङ्गलबार साँझ न्युयोर्कमा आयोजना गरेको स्वागत समारोहमा राष्ट्रपति ओबामासँग भेटवार्ता गरेका हुन् । 

सोही समारोहमा परराष्ट्रमन्त्री डा प्रकाशशरण महत र अमेरिकी विदेशमन्त्री जोन केरीबीच सङ्क्षिप्त कुराकानी भएको छ । त्यस क्रममा नेपाल अमेरिका द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको न्युयोर्कबाट मन्त्री डा महतले जानकारी दिए । कुराकानीका क्रममा अमेरिकी विदेशमन्त्री केरीले आफू नेपाल जान इच्छुक रहेको र यसअघि पनि आफूले नेपाल जाने योजना बनाएकामा परिस्थितिबस स्थगित भएको जानकारी गराए ।

विदेशमन्त्री केरीबाट नेपाल भ्रमणको ईच्छा व्यक्त

अमेरिकी विदेशमन्त्री जोन केरीले नेपाल भ्रमणको इच्छा व्यक्त गरेका छन् ।  संयुक्त राष्ट्रसंको ७१ औँ महासभामा भाग लिन न्युयोर्कमा रहेका नेपाली प्रतिनिधिमण्डलका नेता एवम् परराष्ट्रमन्त्री डा प्रकाशरण महतसँग भएको भेटवार्तामा अमेरिकी विदेशमन्त्री केरीले उक्त इच्छा व्यक्त गरेका हुन् । उनले भने– ‘म अघिल्लो पटक भारत भ्रमण गर्दा नेपाल जान चाहेको थिएँ, व्यस्तताले गर्दा मिलेन, अब कुनै उपयुक्त समयमा म नेपालको भ्रमण गर्नेछु, नेपालको विकास र समृद्धिमा अमेरिका सधैँ सहयोग गर्न तयार छ ।’ अमेरिकी विदेशमन्त्री केरीले नेपालका पर्यटकीय गन्तव्यमध्ये कुनै एक गन्तव्यको पदयात्रा गर्ने इच्छासमेत व्यक्त गरेको परराष्ट्रमन्त्री डा। महतले जानकारी दिए । नेपालको संविधान निर्माणपछिको अवस्थाबारे चासो राख्दै केरीले नेपालका राजनीतिक दल मिलेर लोकतन्त्रलाई संस्थागत गरुन् भन्ने सदीक्षासमेत राखेका थिए ।

सार्कलाई प्रभावकारी बनाउने विषयमा छलफल

संयुक्त राष्ट्र सङ्घको ७१औँ महासभामा परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०लाई गतिशील र समयसमापेक्ष बनाउनुपर्नेमा जोड दिनुभएको छ ।  सार्क क्षेत्रका परराष्ट्रमन्त्रीहरुको अनौपचारिक बैठकलाई सम्बोधन गर्दै उनले पोखरामा केही समय पहिले सम्पन्न सार्कको परराष्ट्र मन्त्रिस्तरीय बैठकले गरेका निर्णय कार्यान्वयन गर्दै यसलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए ।  सार्क क्षेत्रमा रहेको गरिबी, असमानता, बेरोजगारी, जलवायु परिवर्तन तथा आपसी हित र चासोका सम्बन्धमा समान धारणा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।  यस्तै, बैठकमा सार्कको पाकिस्तानमा हुने आगामी १९ औँ शिखर सम्मेलनको बारेमा समेत छलफल भएको थियो । 

६ असाेज, २०७३ ।