कला-साहित्य

देशभक्ति गीत- कविता

चट्टै माया नमार्नु है परदेसियो भनि
मन त सधैँ गाउँमै हुन्छ टाढै रहे पनि ।

देशको माया गीत बनाई सम्झनाले लेख्छु
थेम्स नदी तर्दै जाँदा अरुण तमोर देख्छु ।

गुराँस कै लाली पाउँछु डाफडीलमा पनि
मन त सधैँ गाउँमै हुन्छ टाढै रहे पनि ।

बाढी पैरो गयो भन्दा गाउँघरसँगै रुन्छु
आईफल टावर चढ्दै जाँदा सुनधारा मै पुग्छु ।

दौरा सुरुवाल पहिरन मेरो जहाँ गए पनि
मन त सधैँ गाउँमै हुन्छ टाढै रहे पनि ।।

भरत लोहोरुङ राई
संखुवासभा
हालः बेलायत