कला-साहित्य

शान्तिले जितिन् मिसेस तामाङको उपाधि

काठमाडौं– ‘प्रथम मिसेस तामाङ –२०१६’को उपाधि शान्ति तामाङले हात पारेकी छन्। ‘एसके इन्टरटेन्मेन्ट’को आयोजनामा  राजधानीमा सम्पन्न ‘प्रथम मिसेस तामाङ –२०१६’ मा १७ प्रतिस्पर्धीलाई पछि पार्दै धादिङ, दार्खाकी शान्ति ताज पहिरिन सफल भएकी हुन्।

कृषि विकास राज्यमन्त्री राधिका तामाङको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा शान्तिले उपाधिसँगै हिरो कम्पनीको दियो स्कुटी, सिटिभी कम्पनीको थ्रिजी मोबाइललगायत पुरस्कृत प्राप्त गरिन्।  त्यस्तै, फस्ट रनरअपको उपाधि अनुकुमारी लामाले जितेकी छिन् भने सेकेन्ड रनरअप अनिता लामा, थर्ड रनरअप सुनिता घलान, फोर्थ रनरअप श्याममाया लामा र फिप्थ रनरअप राधा थोकरले जितेकी छिन्। विजेताहरु सबैलाई नगद राशी क्रमशः ५० हजार, ३५ हजार, २५ हजार, २० हजार र १५ हजारसहित सिटिभी कम्पनीको थ्रिजी मोबाइल प्रदान गरिएको थियो।

शान्ताकुमारी लामाको आयोजनामा सम्पन्न कार्यक्रममा भाषाविद् तथा तामाङ डाजाङका सल्लाहकार अमृत योञ्जन तामाङ, शिव सेना नेपालका अध्यक्ष मुस्कान पौडेल, मोडल निर्जन थापा र समाजसेवी दीक्षा चापागार्इं निर्णायक भूमिकामा थिए। १८ प्रतिस्पर्धीबाट १० जना अन्तिम प्रतियोगिताका लागि छानिएका थिए। उनीहरु सबैलाई निर्णायकहरुले एउटै प्रश्न सोधेका थिए। ‘यदि तपाईं देशको प्रधानमन्त्री हुनुभयो भने के गर्नुहुन्छ?’ उक्त प्रश्नको उत्तर सबैले आ–आफ्नो शैलीमा जवाफ दिएका थिए। कार्यक्रममा फोटो पोजिसन, को–अपरेटिभ, इन्टेलिजेन्ट, फेसबुक बिजेता, पपुलर, फोटो जेनिक, स्माइलिङ, वाकिङ, फ्रेन्डसिप, ड्रेसलगायत विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो।

कार्यक्रममा चर्चित कलाकार युवा गायक विजय लामा, हास्यकलाकार बुद्धि तामाङ ‘हैट’, गायक फूलकुमार बम्जन, गायिका मेनुका राई तामाङ, गायक सगुन तामाङलगायतले आ–आफ्नो प्रस्तुति दिएका थिए। युवा गायक लामाको प्रस्तुतिले सबैको मन जितेको थियो।

कार्यक्रममा ‘संयुक्त अपाङ्ग आवाज केन्द्र नेपाल’लाई ४० हजार रुपैयाँ नगद दिलबहादुर कार्कीको हातमा आयोजक टिमले हस्तान्तरण गरेका थिए। आयोजक एसके इन्टरटेन्मेन्टका प्रमुख शान्ताकुमारी लामाले तामाङ गृहिणीहरु पनि कम नभएको बताइन्। एउटी महिला श्रीमती, बुहारी, सासु, र आमा बनेर गृहिणीमा परिणत भए पनि क्षमतामा कमी छैनन् बरु अनुभवले अरु खारिएका छन् भन्ने सन्देश दिन पहिलोपटक मिसेस तामाङको आयोजना गरिएको बताइन्।