विश्व

उत्तर कोरियामा भीषण बाढी, १ सय ३३ को मृत्यु

एजेन्सी– उत्तर कोरियाली सीमा क्षेत्रमा आएको भीषण बाढीमा परी एक सय ३३ को मृत्यु भएको छ ।  बाढीमा परी ३ सय ९५ भन्दा बढी वेपत्ता भएको जनाइएको छ । हजारौँ घरहरु बगाएको संयुक्त राष्ट्रसंघले जनाएको छ। बाढीग्रस्त क्षेत्रमा ठूलो मानवीय सङ्कट परेको राष्ट्रसंघले प्योङयाङ स्रोतलाई उद्धृत गर्दै बताइएको छ ।

प्योङयाङका सरकारी अधिकारीहरुले दिएको तथ्यांक अनुसार पनि तुमेङ नदीमा आएको बाढीबाट उक्त क्षेत्रबाट करिब एक लाख सात हजार मानिस विस्थापित भएका छन्। चीन र रसियासँगको सीमाक्षेत्र नजिकका नदीमा पनि भीषण बाढी आएर त्यहाँका बासिन्दाले अत्यन्त कष्टपूर्वक गुजारा चलाइरहेको उत्तर कोरियाका सरकारी सञ्चार माध्यमले बताएका छन्।
बाढीका कारण ३५ हजारभन्दा बढी घर प्रभावित भएको बताइएको छ। तीमध्ये ६९ प्रतिशत घरहरु पूर्णरुपमा नष्ट भएका छन्। यस्तै आठ हजार सात सय सार्वजनिक भवनमा क्षतिग्रस्त भएको राष्ट्र संघद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रसंघका अनुसार बाढीकै कारण करिब १६ हजार हेक्टर कृषियोग्य जमिन जलमय भएको छ। कम्तीमा एक लाख ४० हजार जनतालाई तत्काल पिउने पानी शुद्धीकरण गर्ने रसायन, खाद्यान्न तथा औषधि जस्ता मानवीय सहायताको आवश्यकता छ। उत्तर कोरियाली सरकारले वर्षा रोकिनासाथ भत्केका र पहिरोले क्षतिग्रस्त बनाएका सडक खुलाउन पहिलो प्राथमिकता दिई उद्धारका सामान तथा निर्माण सामाग्री तत्कालै ढुवानी गर्ने जनाएको छ।