न्युयोर्क

अमेरिकी राजनीतिमा डर लाग्दो खलपात्र डोनाल्ड ट्रम्प किन र कसरी ?

न्यूयाेर्क– विश्व चर्चित ‘अमेरिकन ट्रम्म’ अर्थात् ‘अमेरिकी सपना’को मूल्य र मान्यतालाई चुनौती दिने खलपात्रको रुपमा रिपब्लिकन पार्टीका राष्ट्रपतीय उम्मेद्वार डोनाल्ड ट्रम्पले निक्कै आलोचना ब्यहोर्नु परेको छ । यसै कारण उनी आगामी नोभेम्बर ८ तारिख हुने राष्ट्रपतीय निर्वाचनमा नराम्रोसँग पराजित हुने सम्भावना बढेर गएको छ । उता डेमोक्रेटिक पार्टीकी उम्मेद्वार हिलारी क्लिण्टन चाहिँ अमेरिकामा पहिलो महिला राष्ट्रपति बनेर इतिहास रच्न लागेको भन्दै विश्वमै चर्चित बन्न पुगेकी छिन् । ट्रम्पलाई साठीको दशकका विभेदकारी विचार राख्ने राष्ट्रपतीय उम्मेद्वार एबम् अलाबामा राज्यका ४५औं गभर्नर जर्ज वालासपछिको अर्को बिभाजनकारी डरलाग्दो नेताको रुपमा अमेरिकी मिडिया र राजनीतिक पण्डितहरुले चित्रण गर्न थालेका छन् । ट्रम्प किन र कसरी करोडौं समानताप्रेमी जनताको नजरमा खलपात्र बने ? यो यक्ष प्रश्नको जवाफ यस अंकको कभर स्टोरीमा खोज्ने प्रयास गरिएको छ ।

जर्ज वालासको विचार
सन् १९६३ अर्थात् आजभन्दा ५३ वर्षअघि जर्ज वालासले आफू अलाबामा राज्यको गभर्नर निर्वाचित भएपछिको उद्घाटन समारोहमा भनेका थिए – ‘सेग्रेगेसन नाउ, टुमरो, फरेभर’ अर्थात ‘छालाको रंगको नाममा छुट्याउने काम अहिले, भोलि र सदा रहिरहनेछ ।’ हुन पनि, सन् १९६५ को भोटिङ राइट्स एक्टदेखि अमेरिकी संविधानको १४औं र १५औं संसोधनपछि बल्ल काला जातिका जनताले बिना रोकतोक निर्वाचनमा मतदान गर्न पाएका हुन् । अमेरिकाका वर्तमान राष्ट्रपति बाराक ओबामा (जो आप्रवासी काला जातिका बुवा र गोरा जातिकी आमाको छोरा हुन्)ले शायद राष्ट्रपति बन्ने मौका नै पाउने थिएनन् होला यदि जर्ज वालासको जस्तो विभेद्कारी विचार अमेरिकी राजनीतिमा हाबी भैरहेको भए ।
ट्रम्पको खलपात्र काम
सन् १४९२ मा कृष्टोफर कोलम्बसले न्यूवोर्लड (नयाँ विश्व)को रुपमा अमेरिकी महादेशलाई पत्ता लगाएपछि युरोपका गोरा जातिका मानिसहरु अमेरिका छिरेका हुन् । त्यतिखेर अर्थात ५२४ वर्ष अघि नेटिभ अमेरिकन मात्र हालको उत्तर र दक्षिण अमेरिकामा बसोबास गर्दथे । डोनाल्ड ट्रम्पले यो कुरो भुसुक्कै बिर्से कि उनका पुर्खा पनि जर्मनी र स्कटल्याण्डबाट आप्रवासीको रुपमा अमेरिका आएका थिए । अझ, उनकी वर्तमान श्रीमती मेलानिया काउस ट्रम्प स्लोभेनिया देशकी आप्रवासी हुन् ।
तर दुर्भाग्यबस, रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पले अमेरिका छिरेर बसोबास गरेका बैधानिक कागजपत्र नभएका आप्रवासी (इमिग्रेण्ट)हरुलाई आआफ्नो देश फर्काउनु पर्ने जिकीर गर्दै आएका छन् । उनले आप्रवासी प्रवेश रोक्न मेक्सिको र अमेरिकाको सीमानाबीच पर्खाल खडा गर्ने बताउँदै मेक्सिकन आप्रवासीहरुलाई ‘बलात्कारी’ र लागू औषधि ओसारपसार र अपराध गर्ने मान्छेहरुको रुपमा उल्लेख गरेका छन् ।
अर्कोतिर, मुस्लिमहरुलाई अमेरिका छिर्न निषेध गर्ने उल्लेख गर्दै उनले अमेरिकी समाजमा सद्भाव हैन घृणा र बिद्वेस फैलाउने, सामाजिक र धार्मिक एकता खल्बल्याउने काम गरेका छन् । ट्रम्पले आफ्नो संकुचित पुरुषवादी सोंच र मानसिकतालाई उदांगो पार्दै महिलाहरुबिरुद्ध पनि बिना हिच्किचाहट बिष बमन गर्दै आएका छन् । उनले निसंकोच महिलालाई मोटो सुंगुर (फ्याट पिग), कुकुर्नी (डग) असभ्य (स्लोब) र घिनलाग्दो जनावर (डिस्गटिङ एनिमाल) को रुपमा प्रस्तुत गरेका छन् ।

श्रीमती सुपर मोडलको नग्न तस्वीर काण्ड
झण्डै १५ वर्षअघि बेलायती जीक्यू पत्रिकामा तत्कालिन सुपर मोडल र हाल अमेरिकी राष्ट्रपतिका उम्मेद्वार डोनाल्ड ट्रम्पकी श्रीमती मेलानिया काउस ट्रम्पले खिचेको नग्न फोटोहरू अर्का राष्ट्रपतिका उम्मेद्वार टेड क्रुजको समर्थन गर्ने एण्टी ट्रम्प सुपर प्याक ‘मेक अमेरिका असम’ले ट्रम्पको विरूद्धमा प्रयोग गरेपछि उनले त्यसको प्रतिवाद गर्दै आफ्नो ट्वीटमा भनेका छन् ‘...बि किअरफूल लाईङ टेड, अर आई विल स्पिल दी बिन्स अन योर वाईफ !’ उक्त निर्वाचन विज्ञापनमा भनिएको छ ‘मिट मेलानिया ट्रम्प । योर नेक्स्ट फष्र्ट लेडी । ओर, यू कुड सपोर्ट टेड क्रुज अन ट्युस्डे ।’  ट्रम्पले अर्को ट्वीट पोष्टमा क्रुजकी श्रीमती हेईडी क्रुजको अनुहार बिगारिएको फोटोसँग मेलानियाको हँसमुख फोटो जोडिएको फोटो पोष्ट गर्दै भनेका छन् ‘ए पिक्चर इज वोर्थ ए थोउसन्ड वर्ड ।’

ट्रम्पको रेकर्ड 
डोनाल्ड ट्रम्पले आफूलाई गैरराजनीतिज्ञ र आफू सफल ब्यावसायी रहेको दाबी गर्दै अमेरिकालाई पुनः बैभवशाली बनाउने (मेक अमेरिका ग्रेट अगेन) मुद्दा अघि सारेका छन् । उनी चर्चित भवन निर्माण गर्ने रियलस्टेट डेभलपर हुन् । उनको सम्पत्ति ६ देखि १० अर्ब अमेरिकी डलरको रहेको बताइन्छ । तर उनले खोलेका क्यासिनोहरु टाट पल्टिएर ब्याङ्क्रप्सी फाईल गर्नुपरेको तथ्य एकातिर छ भने उनको नाममा खुलेको ट्रम्प युनिभर्सिटी (जुन अहिले बन्द भैसकेको छ) ले ट्यूसन शुल्क तिरेअनुसारको पाठ नपढाएको कारण मुद्दा खेप्नु परेको छ ।
उनको बानी ब्यहोर्दा हेर्दा उनी एक सामान्य ब्यावसायी, संकुचित मानसिकता भएको ब्यक्तिको रुपमा बाहेक कुनै बिशेष खुबी देखिँदैन जो अमेरिकाको राष्ट्रपति बन्ने हैसियत र क्षमता राखोस् । जर्ज वालासको बिचार जस्तै ट्रम्पको बिचार पनि आगामी नोभेम्बरपछि सदाको लागि इतिहासको गर्भमा नासिनु पर्दछ, नासिनेछ । 

अमेरिकाः ‘मेल्टिङ पट अफ इम्मिग्रेण्ट’
ओहो, अमेरिकालाई ‘मेल्टिङ पट अफ इम्मिग्रेण्ट’ तेसै भनिएको होइन । यहाँ संसार भरका मानिसहरुको बेरोकतोक बसोबास रहिआएको छ । यहाँ बिबिधतामा एकता छ । ‘डाईभर्सिटी ईज यूनिटी’ त्यसै भनिएको होइन । न्यूयोर्क शहरमा मात्रै पनि विश्वभरकै दुई सय मुलुकका खानेकुरा चाख्न पाइने र सयौं भाषा, जाति र भेषभुषा सुन्न र देख्न पाइने कुराले पनि कसको मन खुशी नहोला ? अर्को कुरा, अमेरिकाको सपना (अमेरिकन ड्रिम) भन्ने बिख्यात भनाई त्यतिकै चलेको होइन । यो भूमिमा सबैभन्दा पहिले हजारौं वर्ष अघि मिठो खाने कुराको खोजीमा नेटिभ अमेरिकनहरु साइबेरिया हुँदै यहाँको मलिलो बस्तीमा बसोबास गर्न पुगेका थिए । पन्धौँ शताब्दीको शुरुमा कृस्टोफर कोलम्बसले अमेरिका पत्ता लगाएपछि युरोपियनहरु अमेरिकामा आफ्नो अमेरिकन ड्रिम पुरा गर्न सुखजिलो जीवन जिउन अमेरिका ओइरिएका थिए । अमेरिका आईपुगेका गोरा जातिले अफ्रिकाका काला जातिका मानिसहरुलाई दासको रुपमा कज्याउन अमेरिका ल्याए । त्यसै कारण गोरा र काला जातिबीच विभेद र असमानताको ठूलो खाडल सृजना भएको थियो जुन असमानाताको पाटो अहिले पनि कायमै छ । तर समयक्रममा अमेरिका विश्वको सबैभन्दा धनी र सामरिक हिसाबले सबैभन्दा शक्तिशाली देश बन्न सफल भयो । सन् १९६५ को भोटिङ राइट्स एक्टबाट त अमेरिकाका काला जातिका जनताले मतदान गर्न पाएका हुन् नि ! त्यसको ४३ वर्षपछि अर्थात सन् २००८ को राष्ट्रपतीय चुनावबाट काला जातिका आप्रवासी बुबा र गोरा आमाको छोरा बाराक ओबामा अमेरिकाको पहिलो राष्ट्रपति बन्न सफल भए ।

अमेरिकी जनताको दुई काम
यस पटकको अमेरिकी राष्ट्रपतीय चुनावको दूरगामी असरको कुरा गर्दा हामीले के कुरालाई बिर्सनु हुँदैन भने अमेरिका आप्रवासीहरुको पसिना, सीप र उधमशीलताले आर्जेको मुलुक हो । रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पको जस्तो इमिग्रेण्टविरुद्धको तुच्छ मानसिकता अमेरिकाको स्पिरिट (आस्था) कदापि होइन ।
र, एतिहासिकताको कुरा के हो भने आजभन्दा ९६ वर्षअघि अर्थात सन् १९२० मा मात्र अमेरिकी महिलाहरुले पुरुष सरह मतदान गर्न पाएका हुन् । यसपाली अमेरिकी जनताले आफ्नो मतद्वारा पहिलो महिला राष्ट्रपति निर्वाचित गराउने सुनौलो अवसर पाएका छन् ।

अतिथि सम्पादक प्रदीप परियार थापा मगर ‘युएस नेपाल अनलाईन डट कम’ का प्रधान सम्पादक र ‘जातीय विभेद र छुवाछुतको अन्त हाम्रै पालामा’ (इण्डअफकास्टडटकम) का अभियन्ता पनि हुन् ।