कला-साहित्य

कविता - समाबेशी चिन्तन

सवाल नाकको हो साथी 
भनुम् भने तिम्रो मन दुख्ला
नभनि फेरि मनमै दबाएर 
म कति दिन बस्न सकुँला ?

तिम्रो र मेरो सपनाहरु
एउटै स्तरका कहाँ छन र ?
तिमी त पुग्नु छ 
विश्वका विकसित राष्ट्रहरुमा
र नश्लवादी काठमाण्डूलाई 
आदर्शको पाठ पढाउनु छ ।

मचाहिँ आदिवासी गाउँबाट
काठमाण्डूको सिंहदरबारसम्म
ढुँगे गाउँदेखि ढोँगी सहरसम्म
जफत गरिएको किपट
जफत गरिएको अधिकार 
फिर्ता लिन पुग्नु छ
र यो देशको सच्चा नागरिक 
नेपाली हुनुको महसुस गर्नुछ ।

हामी कति अन्तर छौँ हगि ?
तिमी अधिकार सम्पन्न छौ 
र त रातो राहदानी बोकेर
स्वतन्त्र विश्व घुमिरहेका छौं
म हरियो राहदानी बोकेर 
खाँडी र मलेसियामा
श्रम बेचिरहेको छु ।

यसरी त भएन
सामन्तको आदर्श छाँटेर
ब्यवहार चाहिँ असमान गर्ने ?
त्यसैले त हामीबीच अन्तर छ 
तिमी अमेरिका पुग्न
तिमी अष्ट्रेलिया पुग्न
आकाशमा उडेर यात्रा गर्छांै
म भने काठमाण्डूसम्म पुग्न
सडकमा घस्रेर यात्रा गर्छु ।

हो यहिनिर असमानता छ
तिमी आकाशमा छौं
म सडकमा छु
हाम्रो पनि आकाशमा उड्ने रहर छ
रातो राहदानी बोकेर
विश्व घुम्ने मन छ 
तर
त्योभन्दा पहिले
हामीलाई समानता चाहिएको छ ।।

भीम स्नेही 

मलेसिया