कला-साहित्य

साहित्यकार झमकलाई मानार्थ विद्यावारिधिको उपाधि

काठमाडौं– मदन पुरस्कार विजेता साहित्यकार झमक घिमिरे मानार्थ विद्यावारिधि उपाधिबाट सम्मानित भएकी छन् । मध्यपश्चिम विश्वविद्यालयले उनलाई मानार्थ विद्यावारिधि प्रदान गरेको हो । विश्वविद्यालयले सोमबार आयोजना गरेको विशेष दीक्षान्त समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झमकलाई सो उपाधि अर्पण गरेका हुन् ।

उपाधि पाएपछि झमक घिमिरे साहित्य कला प्रतिष्ठानकी काठमाडौं संयोजक अनिता लामाले झमकको लिखित मन्तव्य पढेर सुनाएकी थिइन् । पत्रमा झमकले आफूले विद्यावारिधि पाउँदा खुसी लागेको उल्लेख गरेकी छिन् । विद्यालय भर्ना भएर आफूले कहिल्यै पढ्न नपाए पनि प्रकृतिको अध्ययन गरेर पनि धेरै कुरा सिक्न सकिँदो रहेछ भनेर जीवनयात्रामा जानेको उनको मन्तव्यमा लेखिएको छ ।

सुर्खेतमा रहेको विश्वविद्यालयले गत जेठ २६ गते उनलाई मानार्थ विद्यावारिधि दिने निर्णय गरेको थियो । तत्कालीन प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा सम्पन्न विश्वविद्यालयको पाँचौं सभाले विद्यावारिधिको उपाधि दिने प्रस्ताव पारित गरेको थियो ।

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले साहित्य र शिक्षा एकै सिक्काको दुई पाटो भएको चर्चा गर्दै झमकको प्रतिभाले सिंगो नारी जगत्लाई नै अभिप्रेरित गरिरहेको बताइन् । यस्तै, विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री प्रचण्डले झमक जस्तो प्रेरणादायी प्रतिभालाई सम्मान गर्न पाउँदा गौरव महसुस भएको उल्लेख गरे । झमकले आफ्नो संघर्षपूर्ण जीवनको बारेमा लेखेको आत्मकथा ‘जीवन काँडा कि फूल’ ले ०६८ सालको मदन पुरस्कार प्राप्त गरेको थियो ।

२० भदौ, २०७३ ।