विश्व

जी–२० सम्मेलन र ओबामाको असन्तुष्टि

एजेन्सी– जी– २० सम्‍मेलनका क्रममा चीनको हाङझाउ पुगेका बेला आफूप्रति कूटनीतिक ‘अभद्रता’ प्रदर्शन गरिएको भन्दै अमेरिकी राष्ट्रपति बाराक ओबामाले असन्तुष्टि प्रकट गरेका छन् । शनिबार आफू र आफ्नो टोलीमाथि भएको व्यवहारप्रति ओबामाले असन्तुष्टि पोखेका हुन् । 
अमेरिकी र चिनियाँ मूल्यमान्यता फरक भएका कारण यस्तो भएको आरोप उनले लगाएको जनाइएको छ । यसै घटनाबाट पनि चीन र अमेरिकाको मूल्यमा भएको पृथक्ता स्पष्ट भएको छ । शनिबार विमानस्थलमा चिनियाँ अधिकारीले अमेरिकी सञ्चारमाध्यम र अन्य अमेरिकी अधिकारीलाई सुरक्षाको कारण देखाउँदै ओबामाको विमाननजिकै जान दिएका थिएनन् ।

अमेरिकी अधिकारीले आफू ओबामासम्म पुग्न पाउनुपर्ने भन्दै आपत्ति प्रकट गरे पनि त्यो सम्भव भएको थिएन । यो अमेरिकी विमान भएको भन्दै अमेरिकी अधिकारीले त्यहाँसम्म जान पाउनुपर्ने माग राखेपछि चिनियाँ अधिकारीले उक्त विमानस्थल चीनको भएको जबाफ दिएका थिए । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार सुसन राइस र ह्वाइट हाउसको प्रेस हेर्ने अधिकारीमाथि पनि चिनियाँ अधिकारीले सुरक्षा जाँच गरेका थिए ।

यसै विषयलाई लिएर ओबामाले मानवअधिकार र प्रेस स्वतन्त्रताप्रतिको चिनियाँ दृष्टिकोण भन्दै व्यंग्य गरेका थिए । यो व्यवहार नै दुई देशबीच पाइने प्रेस र स्वतन्त्रताप्रतिको फरक भएको उनको भनाइ थियो । ओबामाले यो विषय बेलायती प्रधानमन्त्री टेरेसा मेसँग पनि उठाएका थिए । चीनको यस्तो व्यवहार पहिलोपटक नभएको भन्दै उनले टिप्पणी गरेका थिए ।

उनले भने, ‘हामीले गरेको कामसम्म प्रेसको निर्बाध पहुँच हुनुपर्छ । हामीले यात्राका क्रममा पनि यस्ता आदर्शको सम्मान गर्छौं ।’ अरू मुलुक यात्राका क्रममा अमेरिकी अधिकारीको सुरक्षा जाँच र ती अधिकारीलाई विशेष छुट दिइएको हुन्छ । विमानबाट उत्रनासाथ अमेरिकी राष्ट्रपतिको तस्बिर दिन त्यस्तो छुट दिइने अमेरिकी भनाइ छ ।

यसअघि ओबामाको आगमनमा समेत उनलाई नियोजित रूपले रातो कार्पेटबाट हिँड्न अमेरिकी सरकारले वञ्चित गरेको थियो । उनलाई चिनियाँ सरकारले एयरफोर्स विमानबाट ओर्लने क्रममा सिँढीको समेत व्यवस्था गरेको थिएन । जी–ट्वान्टी सम्मेलनमा पुगेका संसारभरिका अन्य १८ नेताका लागि भने चिनियाँ प्रशासनले रातो कार्पेटको व्यवस्था गरेको थियो ।


रूस दोषीः अमेरिका
अमेरिकाले सिरिया द्वन्द्वबारे सहमतिमा पुग्न नसक्नुमा रूस दोषी रहेको पनि आरोप लगाएको छ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले यसअघि सिरिया द्वन्द्व अन्त्यका लगि सहमति गर्न रूस र अमेरिका चौबीसै घन्टा लागिपरेको बताएका थिए । विश्व अर्थतन्त्रका प्रमुख २० प्रमुख अर्थतन्त्रको समूह ‘जी–ट्वान्टी’ को शिखर सम्मेलनका अमेरिकी राष्ट्रपति ओबामाले भने, ‘सिरिया द्वन्द्व समाधानमा लागि लागिपरे पनि यसलाई सल्टाउन निकै कठिन छ । यो साह्रै कठिन काम देखिएको छ ।’

अमेरिकाले सिरिया समस्या सम्बन्धमा हल भएका भनिएका मुद्दाबाट पछि हटी फेरि यसमा छलफल चलाउनुपर्ने बताएपछि अहिलेलाई सहमति प्रयास अन्त्य भएको बताए । राष्ट्रपति ओबामाले अमेरिकी विदेशमन्त्री जोन केरी र रूसी विदेशमन्त्री सर्गेइ लाभरोभले यस विषयमा सोमबार पुनः भेट गर्ने जानकारी दिएका छन् ।

अमेरिकी विदेशमन्त्री केरीले भने, ‘हामी आज आइतबार राति केही विषयमा पुनर्विचार गर्दैछौं । यसमा एक दुई तर जटिल मुद्दाबारे पुनर्मूल्यांकन गरी सोमबार पुनः भेट्नेछौं ।’ जटिल मुद्दा के हुन् भन्नेबारे केरीले केही पनि बताएनन् । अन्नपूर्णमा समाचार छ ।