विश्व

‘जी–२०’ सम्मेलन सुरु, के–के छन् एजेण्डा ?

एजेन्सी– विकसित र विकाशशील मुलुकहरुको साझा संस्था‘ ‘जी–२०’ को सम्मेलन शुरु भएको छ । चीनको हाङझोउमा आयोजित सम्मेलनमा विश्वभर भइरहेको कार्बन उत्सर्जन, आतंकवाद, परमाणु आपूर्तिकर्ता समूह (एनएसजी)जस्ता मुद्दामा छलफल हुनेछ । दक्षिण चीन सागरमा देखिएको विवादमा पनि छलफल हुनसक्ने जनाइएको छ ।
सम्मेलनमा जी ट्वेन्टी मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरुको सहभागिता रहेको छ । चिनियाँ राष्ट्रपति सि जिनपिङ, अमेरिकी राष्ट्रपति बराक ओबामा, रुसी राष्ट्रपति भ्लादिमीर पुटिन, दक्षिण अफ्रिकाका राष्ट्रपति ज्याकोब जुमा, ब्राजिलका राष्ट्रपति मिशेल टेमर, बेलायती प्रधानमन्त्री थेरेसा मे, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उक्त संस्थाका विश्वभरका नेता सम्मेलनमा उपस्थित छन् । विश्व नेताहरुले सम्मेलनमा भाग लिनुका अतिरिक्त द्विपक्षीय भेटवार्ता पनि गरेका छन् । भेटमा आ–आफ्ना देशबीचको विषयमा पनि छलफल गरेका छन् । खासगरी ब्रिक्स समूहमा रहेका नेताहरुले आसन्न ब्रिक्स सम्मेलनबारे छलफल गरेका छन् । आगामी अक्टोबरमा भारतको गोवामा ब्रिक्सको सम्मेलन हुँदैछ ।