न्युयोर्क

एनआरएन नवौं क्षेत्रीय सम्मेलनको तयारी पूरा

न्यूयाेर्क– अमेरिकाको न्यूजर्सीमा यही अगस्ट २७–२८ तारिखमा हुन गइरहेको एनआरएनएको नवौं क्षेत्रीय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिका संयोजक सोनाम लामाले बताएका छन् ।  पत्रकार सम्मेलनमाफर्त क्षेत्रीय सम्मेलनको तयारी पूरा भएको जानकारी दिइएको हो ।

कार्यक्रमकाे  तयारीबारे जानकारी दिँदै संयोजक लामाले सम्मेलनको पूर्वतयारी र उपलब्धिका विषयमा जानकारी गराएका थिए । उनले  सम्मेलनमा बिभिन्न देशका एनआरएन पदाधिकारीहरुको उल्लेख्य सहभागिता रहने जानकारी दिदै कार्यक्रमलाई भव्य एवं सभ्य बनाउन सबैको अमुल्य सल्लाह एवं सुझावको अपेक्षा गरे । 

लामाको संयोजकत्वमा गठित बिभिन्न १४ सदस्यीय आयोजक समिति र २० सदस्यीय उप(समितिले अहोरात्र काम गरिरहेको र सबै समितिले गरेको काम परिणाममुखी र प्रशंसनीय रहेको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएकाे हाे । सम्मेलनकाे तयारीमा सहयोग गर्ने सम्पूर्ण गैर आवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय कार्यकारी सचिवालय (आइइएस), एनआरएनए सचिवालय, एनआरएनए एनसीसी युएस, स्टेरिङ कमिटी तथा विभिन्न उपसमितिमा बसेर सहयोग पु¥याउने तथा प्रचार–प्रसारमा सघाउ पु¥याउने पत्रकारहरुलाई विशेष धन्यवाद दिइएको छ । 

क्षेत्रीय सम्मेलको नारा “भिजन २०–२० एण्ड बियोण्ड” यस अघि नै सार्वजनिक गरिएको भए पनि सम्मेलनमा छलफलका लागि प्रस्तुत गरिने कार्यपत्रको तयारी अन्तिम चरणमा रहेको समेत जानकारी दिइएको हाे । 

क्षेत्रीय सम्मेलनमा क–कसकाे सम्बाेधन रहन्छ ? 
एनआरएन नवौं क्षेत्रीय सम्मेलनमा नेपालबाट प्रमुख अतिथिको रुपमा पूर्व सभामुख सुबास नेम्बाङल लाई आमन्त्रण गरिएको छ ।

नेम्बाङ्गसँगै एनआरएनए अध्यक्ष शेष घले, न्युजर्सी राज्यका कंग्रेसम्यान डोनाल्ड पाईन जुनियर, संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई, अमेरिकाको लागि नेपाली राजदूत डा. अर्जुन कार्की, नेपाली महावाणिज्य दूतावास, न्यूयोर्क प्रमुख पुष्पराज भट्टराई,  पहिलो नेपाली बिलिनेयर बिनोद चौधरी, एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महत्तो, एनआरएनएका प्रमुख संरक्षक एवं पुर्व अध्यक्ष जीवा लामीछाने लगायत अन्य बिशिष्ट पदाधिकारीहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । 

कार्यक्रमका लागि २ करोडको प्रतिवद्धता

सम्मेलनका लागि हालसम्म विभिन्न प्रकारको प्रायोजक मार्फत नेपाली २ करोड भन्दा बढी रकम प्रतिवद्धता भइसकेको छ । प्रतिवद्धता जाहेर भए अनुसारको रकमको संकलन कार्य पनि जारी राखिएको छ । आयोजकले सम्मेलन स्थलबाट पनि अझ थप रकम संकलन गर्ने लक्ष्य लिएको छ । संकलित रकमको बचत रकम शत प्रतिशत नेपालमा एनआरएन हेडक्वार्टर निर्माणको लागि एनआरएनको खातामा जम्मा गरिने जनाइएको छ । यस सम्मेलनबाट नेपाली २ रकोड रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको छ । 

स्थानीय सहभागीको लागि के कस्ताे सुविधा छ ?
नवौं क्षेत्रीय सम्मेलनको तयारी गर्दै गर्दा स्थानीय सहभागीहरुको सुविधाको लागि तीन प्रकारको दर्ता शुल्क निर्धारण गरिएको छ ।

स्थानीय सहभागीको लागि वगीकृत दर्ता शूल्कः सम्मेलनको पूरा अवधीको (अगष्ट २७ र २८ ) को लागि ब्रेक फास्ट, लन्च र डिनर सहित २०० डलर तोकिएको छ । त्यस्तै, सम्मेलनको कुनै एक दिन (अगष्ट २७ र २८) को लागि ब्रेकफास्ट, लन्च र डिनर सहित १०० डलर तोकिएको छ भने सम्मेलनमा खाना खाजा नचाहिने सहभागिको लागि सांस्कृतिक कार्यक्रम लगायतको अन्य कार्यक्रमहरुमा भाग लिनको लागि सम्मेलनको पूरा अवधि (अगष्ट २७ र २८) को लागि दर्ता शूल ४० डलर तोकिएको छ ।

साथै, पत्रकारहरको प्रवेश एवं सहभागिताको हकमा हाल नियमित रुपमा प्रकाशन भइरहेका पत्रिका एवं अनलाइन पत्रिकाहरुको तर्फबाट एक–एक जना सञ्चारकर्मीलाई निशुल्क प्रवेशको व्यवस्था समेत गरिएको छ ।

यस सम्मेलनले एनआरएनएको नयाँ लक्ष्य, नयाँ रणनीति, नयाँ संरचना र नयाँ दृष्टिकोणको आविष्कार हुने अायाेजकले विश्वास लिएको छ । 

तस्वीरः प्रेस चौतारी डटकमबाट