समाचार

काभ्रेमा बस दुर्घटना, २४ बढीको मृत्यु

काभ्रे,३१ साउन । काभ्रेको विर्ता देउराली गाविसमा यात्रु बस दुर्घटना हुँदा २४ भन्दा बढी यात्रुको मृत्यु भएको छ ।  दुर्घटनामा चालीस जना घाइते भएका छन् । काठमाडौंबाट मादनकुडारी जाँदै गरेको बा ३ ख १०६ नम्बरको बस उकालोबाटोमा जाँदै गर्दा दुर्घटना भएको हो । 
घटनास्थलमा रहेका स्थानिय बासिन्दाका अनुसार २४ जनाको शव फेला परेको छ । घाइतेहरुलाई उद्धार गरी माथि ल्याउँदै गरिएको छ । घाइतेहरु अधिकांशको अवस्था गम्भीर रहेको स्थानीयले जनाएका छन् ।
घाइतेलार्इ थप उपचारका लागि काठमाडौं ल्याउन नेपाली सेनाको हेलिकप्टर मगाइएको काभ्रेका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले जानकारी दिएका छन् ।

घाइतेहरूलार्इ अस्पताल लैजान ५ वटा एम्बुलेन्स घटनास्थलमा पुगेका छन् । घटना दिउँसो एक बजेतिर भए पनि झण्डै एक घण्टापछि मात्रै प्रहरी टोली घटनास्थल पुगेको थियो ।