समाचार

जीवनरक्षाका लागि अधिकारकर्मीले आवाज उठाए

काठमाडौं– लामो समयदेखि आमरण अनसन बसेकी गंगामाया अधिकारीको जीवनरक्षाका लागि अधिकारकर्मी धर्नामा बसेका छन् । आफ्ना छोराको हत्यारालाई कारबाही हुनुपर्ने माग राखी अनशनरत गङ्गामाया अधिकारीको जीवन रक्षाका लागि ‘गङ्गामाया बचाऔँ अभियान’ अन्तर्गत मानवअधिकारकर्मीले सिंहदरबार दक्षिण ढोकातर्फ धर्ना दिएका हुन् । 

मानवअधिकारकर्मीले छ वर्षदेखि अनशनरत गङ्गामायाले गत बिहीबारदेखि स्लाइन र पानीसमेत त्यागेर आमरण अनशन सुरु गरेपछि उनको जीवन रक्षाका लागि सरकारलाई दबाब दिन केहीदिन यता उनीहरुले दबाबमूलक कार्यक्रमको आयोजना गरिरहेका छन् । 
 
गंगामायाको जीवनरक्षाका लागि मानवअधिकारकर्मीहरु चरण प्रसार्इं, इन्द्र अर्याल, सुमन अधिकारी, कृष्ण अर्याल, शोभा महर्जन, सावित्री श्रेष्ठ, भोजराज चापागाईंलगायत धर्नामा बसेका हुन् ।  विसं २०६१ मा तत्कालीन माओवादीले आफ्नो १७ वर्षीय छोरा कृष्णप्रसादको हत्या गरेको भन्दै गङ्गामाया र नन्दप्रसाद अधिकारी अनशनमा बसेका थिए । अनशनरत अवस्थामा नै नन्दप्रसादको दुई वर्षअघि मृत्यु भए पनि उनको अहिलेसम्म दाहसंस्कार गरिएको छैन । 

३१ साउन, २०७३ ।