समाचार

प्रचण्डको विशेष दूतका रुपमा महरा चीन प्रस्थान

काठमाडौं– उपप्रधानमन्त्री एबम् अर्थमन्त्री कृष्णबहादुर महरा  चीन प्रस्थान गरेका छन् ।  आज प्रधानमन्त्री प्रचण्डको विशेष दूतका रुपमा उनी चीन गएका हुन् । उनले चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमण गराउने उपप्रधानमन्त्री महराको खास एजेण्डा रहेको छ । 
 
चीन जाने क्रममा विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै महराले  आफूले चिनियाँ अधिकारीहरुसँग नेपाल–चीन सम्बन्धलाई अझ राम्रो बनाउन पहल गर्ने बताए । उनले अघिल्लो सरकारले गरेका राम्रा काम अगाडि बढाउन आफूहरु प्रतिबद्व रहेको भन्दै भने–चीनले गर्न सक्ने सहयोगका वारेमा थप अपेक्षा राखेको बताए ।
 
महराले सरकारको पहिलो कार्यसूचि नै संविधानको कार्यान्वयन हो भन्दै त्यसका लागि सहमतिको वातावरण बन्नुपर्नेमा जोड दिए । महराले चीनमा रहँदा नेपाल–चीन सम्बन्धका सम्पूर्ण पक्षका साथै राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमणमा केन्द्रित रहेर सम्बद्ध उच्च अधिकारीहरूसँग छलफल गर्नेछन् । 

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सिलाई नेपाल भ्रमणका निम्ति पठाएको निमन्त्रणापत्र विशेष दूत महराले चीन सरकारलाई हस्तान्तरण गर्ने जनाइएको छ । उपप्रधानमन्त्री महराका साथ परराष्ट्र मन्त्रालयका सहसचिव झविन्द्रप्रसाद अर्याल पनि गएका छन् ।

 यसैबीच उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि प्रधानमन्त्रीका विशेष दूतका रुपमा यसै साता भारत भ्रमणमा जानेछन् । परराष्ट्र स्रोतका अनुसार उपप्रधानमन्त्री निधिको भारत भ्रमणलाई फलदायी र एजेण्डासहित तय गर्न परराष्ट्रका उच्च पदस्थ कर्मचारीहरु र भारतस्थित नेपाली राजदूतावासले गृहकार्य तीब्र बनाइरहेको छ ।