समाचार

माओवादीका ८ मन्त्रीमध्ये ६ नौला अनुहार

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आइतबार तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन्।  ‘प्रचण्ड’ नेतृत्वको सरकारमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार हुँदासम्म माओवादीतर्फका ८ जनाले सपथ लिएका छन् । जसमध्ये दुई अनुहार पुराना भए पनि अरु सबै नयाँ अनुहार छन् । माओवादी केन्द्रले  सरकारमा महिला बाहेक समावेशी अनुहारलाई अघि ल्याएको छ ।

आइतबार जनार्दन शर्मा ऊर्जा, सुरेन्द्र कुमार कार्की सूचना तथा सञ्चार, हितराज पाण्डे संघीय मामिला तथा स्थानीय विकास, अजयशंकर नायक कानुन, न्याय तथा संसदीय मामिला र धनीराम पौडेल विना विभागीय मन्त्रीमा नियुक्त हुनु भएका हुन् ।  नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष राष्ट्रपति भवन शितल निवासमा पद तथा गोपनीयताको सपथ लिए।

आइतबारको समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री दाहाल, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रीहरु, संवैधानिक निकायका प्रमुख, सरकारका मुख्य सचिव, संसद् सचिवालयका महासचिव, सुरक्षा निकायका प्रमुखहरु, सरकारका सचिवलगायत उच्चपदस्थ पदाधिकारीको उपस्थित थियो ।

प्रचण्ड नेतृत्वको सरकारले आफ्नो भागमा परेका मन्त्रीमा अधिकांश नयाँ अनुहार ल्याएर समावेशीता अंगालेको छ । अहिलेसम्म मन्त्री भएका कृष्णबहादुर महरा, गौरिशंकर चौधरी र दलजीत श्रीपाइलीले प्रचण्डले सपथ लिएकै दिन मन्त्रीको सपथ लिएका थिए । त्यसपछि राप्रपा र नेकपा (संयुक्त)बाट दोस्रो पटक तीन सदस्य मन्त्रिपरिषद्  विस्तार भएको थियो ।

कांग्रेसबाट अहिलेसम्म दुई जना मात्रै मन्त्री बनाइएकाले अझै ११ जना बाँकी नै छन् । प्रचण्ड नेतृत्वको सरकारमा सहभागी ८ मन्त्री मध्येका उपप्रधानमन्त्री समेतको जिम्मेवारी पाएका कृष्णबहादुर महरा पटक पटक मन्त्री भएका पुराना अनुहार हुन् । माओवादी शान्ति प्रक्रियामा आएपछि महराले उपप्रधान तथा गृहमन्त्री र सूचना तथा सञ्चार मन्त्रीको अनुभव सम्हालिसके छन् । यसैगरी उर्जामन्त्री बनेका जनार्दन शर्मा पनि पुराना अनुहार हुन् । यसअघि उनले शान्ति मन्त्री बनेका थिए । त्यसबाहेकका अन्य ६ जना मन्त्री भने नयाँ अनुहारका हुन् ।