समाचार

एकतालाई थाँती राख्दै सरकारमा राप्रपा सामेल

काठमाडाैं- राप्रपा नेपालसँगको एकता प्रक्रियालाई थाँती राख्दै सरकारमा राप्रपा सामेल भएको छ । दुबै दलबीच मंगलबार एकता घोषणा गर्ने कार्यक्रम थियो । राप्रपा नेपाल र राप्रपाबीच सरकारमा सहभागिताका विषयमा विवाद रहँदै आएको थियो । तर, पार्टी एकता घोषणापछि सरकारमा सहभागिताका बारेमा निर्णय गर्ने सहमति भएको बताइए पनि सोमबार राप्रपाले एकता प्रक्रियालाई थाँती राख्दै पार्टीलाई सरकारमा सामेल गराउने निर्णय गरेको हो ।
राप्रपाका अध्यक्ष पशुपति शमशेर जबराले सोमबार विज्ञप्ति जारी गर्दै मंगलबार हुने भनिएको एकता घोषणासभा स्थगित गरिएको जनाएका छन् । विज्ञप्तिमा उनले भनेका छन्, ‘एकताका लागि अन्तरिम विधानका अन्तरवस्तुमा थप छलफल र सहमति आवश्यक रहेकाले हामी दुबै दललाई एकता प्रकृया सफल पार्न सन्तुलित विधानमा सहमति अपरिहार्य छ, यस दृष्टिकोणलाई आत्मसात गर्दै वार्ता घनिभूत गराइ एकताको अन्तिम निर्णयमा पुग्न राप्रपा नेपाललाई आह्वान गर्दछौं ।’
राप्रपाको यो निर्णयलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले ‘दुर्भाग्यपूर्ण’ भनेका छन् । थापाले भने, ‘दुबै पक्षको सहमतिमा पार्टी एकीकरण घोषणाको मिति तय भइसकेको अवस्थामा एकपक्षीय रुपमा एकीकरण स्थगन गर्ने पुशपति शमशेरजीको निर्णय दुर्भाग्यपूर्ण छ ।’
राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठले सोमबार विज्ञप्ति जारी गर्दै देशमा एउटा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने उदेश्यका साथ राप्रपा नेपाल र राप्रपाबीचको एकीकरणको घोषणा गर्ने दुबै पक्षको सहमतिमा मिति र स्थान समेत घोषणा भई सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको अवस्थामा राप्रपाका अध्यक्षले विज्ञप्ति प्रकाशित गरी एक पक्षीय रुपमा एकीकरणको कार्यक्रम स्थगित गरेको समाचारले आफूहरु स्तब्ध भएको जनाएका छन् ।
‘पार्टी एकीकरणका सम्बन्धमा दुबै पार्टीका वार्ता टोलीले एकीकरणको नीति तथा आधारपत्र तयार गरिसकेको, दुबै पार्टीको केन्द्रीय कार्य समितिले औपचारिक रुपमा विधिवत एकता गर्ने निर्णय गरिसकेको, दुबै पार्टीका अध्यक्षले तीन दिन अघिमात्र पार्टी एकता गर्ने संयुक्त विज्ञप्ति जारी गरिसकेको र अन्तरिम विधानसमेत तयार भईसकेको अवस्थामा राप्रपा नेपाललाई जानकारीसमेत नदिई एकीकरण घोषणाको पूर्वसन्ध्यामा विज्ञप्ति मार्फत एकीकरण स्थगन भएको प्रेस विज्ञप्ति निकाल्नु आश्चर्यजनक भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
विधान लगायतका जुन प्राविधिक बहाना बनाइएको छ, यसमा कुनै सत्यता नरहेको पनि राप्रपा नेपालले प्रष्ट पारेको छ । ‘विधानमा कुनै अस्ष्टता वा कमी भएको भए राप्रपाको माग वा चाहना बमोजिम नै गर्न पनि राप्रपा नेपाल तयार भएको अवस्थामा राप्रपाको यो एकतर्फी निर्णयले पार्टी एकीकरण भएको देख्न चाहने लाखौं कार्यकर्ता, शुभेच्छुक, शुभचिन्तकहरुलाई निराश तुल्याएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
सोमबार राप्रपाबाट दुई र नेकपा संयुक्तबाट एकजना मन्त्री थपिएका हुन् । राप्रपाबाट दीपक बोहरा र विक्रम पाण्डे मन्त्री भएका छन् । नेकपा संयुक्तबाट भने जयदेव जोशी मन्त्री बनेका छन् ।

२५ साउन, २०७३ ।