समाचार

'रफ गाइड्स'को सूचीमा नेपाल पहिलो नम्बरमा

काठमाडौं, २५ साउन ।  विश्वमा घुम्नैपर्ने १० देशको सूचिमा नेपाल पहिलो स्थानमा परेको छ । अनलाईनमार्फत पर्यटन सम्बन्धि सूचना तथा जानकारी दिने बेलायतको ‘रफ गाइड्स’ले तयार पारेको रिपोर्टमा नेपाल विश्वको घुम्नै पर्ने देशको सूचीमा पहिलो नम्बरमा पर्न सफल भएको हो ।
लन्डनमा कार्यालय रहेको ‘रफ गाइड्स’ ले ३४ वर्षदेखि विश्वभरका पर्यटकका लागि ‘गाइड बुक’ तयार पार्ने काम गर्दै आएको छ । सन् २०१६ का लागि रफ गाइड्सले तयार पारेको उत्कृष्ट घुम्नुपर्ने देशको सूचीमा दक्षिण एसियाबाट नेपाल र श्रीलंका परेका छन् । श्रीलंकाले उत्कृष्टको १० औं स्थान पाएकोे छ ।
त्यस्तै दोस्रो स्थानमा कोलम्बिया, तेस्रोमा क्युबा, चौथोमा जोर्डन र पाँचौं स्थानमा अल्बानिया परेका छन् । त्यस्तै, छैठौं स्थानमा रोमानिया, सातौंमा एल साल्भाडोर, आठौंमा वेल्स, नवौंमा केन्या र दसौंमा श्रीलंका परेको छ ।
 भूकम्पका कारणले छाँयामा परेको नेपालको पर्यटन उद्योग फेरि उदाएको रफ गाइड्सले भनेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथादेखि बाघ, हात्ती र गैंडाको बासस्थान समथर तराईसम्मका विविध भौगोलिक परिदृश्यबाट पर्यटकले मनोरञ्जन लिनसक्ने ‘रफ गाइड्स’ले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ  । त्यसकारण सन् २०१६ मा घुम्न जाँदै हुनुहुन्छ भने नेपाल तपाईंको पहिलो छनोट हुर्नु पर्नेछ रफ गाइड्सले उल्लेख गरेको छ ।