समाचार

फिस्टेलको हेलिकोप्टर दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौं– नुवाकोटमा दुर्घटनाग्रस्त भएको फिस्टेल एयरको हेलिकोप्टरमा सवार सबै ७ जनाको मृत्यु भएको छ । 9NAKA कल साईन भएको हेलिकोप्टर नुवाकोटको बेलकोट क्षेत्रमा दुर्घटनाग्रस्त हुंदा पाइलट रञ्जन लिम्बुसहित ७ जनाको मृत्यु भएको फिस्टेल एयरले पुष्टि गरेको छ । 

मृतकमध्ये एक २ बर्षिय बालक समेत रहेका छन् । गोरखाबाट विरामी लिएर काठमाण्डौंतर्फ आउंदै गरेको हेलिकप्टर नुवाकोटको मदनपुर—९ बेतीनि जंगलमा दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटको प्रहरी नायब उपरिक्षक ऋषिराम कंडेलले बताए ।

उनका अनुसार स्थानीयले दुर्घटना भएलगत्तै हेलिकोप्टरमा आगो लागेको बताएका छन् । दिउँसो साढे १२ बजे गोरखाबाट उडेको हेलिकोप्टर आधा घण्टापछि नै सम्पर्कवीहिन भएको थियो । स्थानीयले नुवाकोटको बेतनी बनको सिरानमा हेलिकोप्टर दुर्घटनामा परेको खवर प्रहरीलाई गरेका थिए । हेलिकोप्टर दुर्घटनाग्रस्त भएको खवर गरेपछि उद्धारका लागि अर्को हेलिकोप्टर घटनास्थल पुगेको र मृतकहरुको शव ल्याउने प्रयास भइरहेको फिस्टेल एयरले जनाएको छ ।