समाचार

प्रचण्डद्वारा राष्ट्रपतिसमक्ष सपथ ग्रहण

काठमाडौं – नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्या भण्डारीसमक्ष प्रचण्डलाई सपथ लिएका हुन् । उनले देश र जनताको नाममा सपथ ग्रहण गरे । 


प्रधानमन्त्री प्रचण्डलाई सपथ ग्रहण गराएपछि राष्ट्रपति भण्डारीले उपप्रधानमन्त्रीद्वय विमेन्द्र निधि र कृष्णबहादुर महरालाई सपथ खुवाएकी थिइन् ।  निधि नेपाली कांग्रेसबाट र महरा माओवादी केन्द्रका नेता हुन् । यसैगरी रमेश लेखक, गौरीशंकर चौधरी र दलजित श्रीपाइलीले मन्त्रीको रुपमा सपथ ग्रहण गरेका छन् । 

लेखक कांग्रेसका तथा चौधरी र श्रीपाइली माओवादीका हुन् । उनीहरुलाई पनि राष्ट्रपति भण्डारीले सपथ ग्रहण गराइन् ।  सपथग्रहण कार्यक्रममा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरु, सभामुख, प्रधानन्यायाधीश, संवैधानिक अंगका प्रमुखहरु, सुरक्षा अंगका प्रमुखहरु,  कुटनीतिक नियोगका प्रतिनिधिहरु लगायत सहभागी थिए ।

साथै बिभिन्न राजनीतिक दलका नेता–कार्यकर्ताहरु पनि सपथ ग्रहण कार्यक्रममा सहभागी थिए । प्रचण्ड दोस्रो पटक  प्रधानमन्त्री भएका हुन् । यसअघि २०६५ सालमा पनि प्रधानमन्त्री बनेका थिए ।