समाचार

भैरहवाको बुद्ध मुर्ति अन्य स्थानमा नसारिने

रुपन्देही । रुपन्देही जिल्लाको सदरमुकाम भैरहवाको हाल देवकोटा चोक भनेर नामाकरण गरिएको सिद्धार्थ चोकमा रहेको बुद्धको मूर्ति अन्य स्थानमा सारी उक्त स्थानमा नेपाली भाषाका महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्णकदको सालिक राख्ने जिल्लास्तरीय निर्णयबाट स्थानीय राजनीतिक दल तथा सरोकारवाला पछाडि हटेका छन् ।
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालको अध्यक्षतामा गत असार १३ गते बसेको सर्वपक्षीय भेलाले त्यहाँ देवकोटाको प्रतिमा राख्ने निर्णयप्रति बौद्ध धर्मसँग सम्बन्धित विभिन्न संस्थाले विरोध जनाएपछि दल तथा सरोकारवाला आफूले गरेको निर्णयबाट पछाडि हटेका हुन् ।
जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय र सर्वपक्षीय भेलाले त्यहाँ रहेको भगवान गौतम बुद्धको मूर्तिलाई यथावत् राख्ने, अर्धकदको देवकोटाको सालिकको ठाउँमा पूर्णकदको देवकोटाको सालिक राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए ।
गत असार १३ गते बसेको बैठकले देवकोटा चोकमा रहेको बुद्धको प्रतिमालाई भारतबाट नेपाल प्रवेश गर्ने बेलहिया नाकामा रहेको पर्यटन कार्यालयमा स्थानान्तरण गर्ने निर्णय एकपक्षीय भएको भन्दै बौद्ध धर्मसँग सम्बन्धित सङ्घसंस्थाले भैरहवामा सर्वदलीय, सर्वपक्षीय भेला आयोजना गर्दै निर्णय सच्याउन आग्रह गरिएको थियो । उनीहरुको आग्रह पश्चात पहिलेको निर्णय सच्याइएको प्रमुख जिल्ला अधिकारी ढकालले उल्लेख गरे । बुद्ध मुर्ति सार्ने उक्त निर्णय लगत्तै हिमालय बुद्धिष्ट कम्युनिट अफ नेपाल इन युएसएले विरोध जनाएको थियो ।
कम्युनिटीले विज्ञप्ती जारी गरी रुपन्देही प्रमुख जिल्ला अधिकारीको रोहबरमा स्थानीय सात राजनीतिक दलले गरेको निर्णयप्रति ध्यानाकर्षण भएको जनाएको थियो । विज्ञप्तीमा भनिएको छ– ‘बुद्ध दर्शन सदियौदेखि आजसम्म र आजदेखि कालान्तरसम्म समाज परिवर्तनका बाहक र शान्ति कायम राखी राख्ने मूल मन्त्र हो भन्ने कुरामा बुद्ध धर्मावलम्बी तथा बुद्ध दर्शनको अनुयायीहरु मात्र नभई सम्पूर्ण धर्मावलम्बीहरुमा समेत दुई मत नहोला । यति मात्र नभई विश्वमा नेपालको पहिचान गराउने भगवान बुद्ध, बुद्धिष्टहरुको आस्था मात्र नभई नेपाल र नेपालीहरुको पहिचान पनि हो । यदि आफ्नो पहिचानको  सम्मान आफैले गर्न सक्दैन भने त्यो भन्दा ठूलो दुर्भाग्य अरु कुनै हुनै सक्दैन ।’
कम्युनिटीका अध्यक्ष तेञ्जिङ उक्याव र महासचिव विआर लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा अगाडी भनिएको छ– ‘एकातिर हामी बुद्ध नेपालमा जन्मेको हो भनि गर्व गर्ने र अर्को तिर विभिन्न बहाना बाजीमा कतै  बुद्धको प्रतिमालाई प्रतिस्थापन गर्न नदिने त कतै  पहिलेदेखि स्थापित प्रतिमालाई बिस्थापित गर्ने गरिरहेका छौ, यसले ताक परे तिवारी नत्र गोतामे भन्ने नेपाली उखानलाई चरितार्थ गरेको छ । यसरी आवस्यक पर्दा प्रयोग गर्ने र नपर्दा अपमान गर्ने प्रवृत्तिले बुद्ध र बुद्ध धर्मको सम्मानमा ठेस त पु¥याउँछ नै यसको अलावा सदियौदेखि कायम रहेको हामी नेपालीहरु बीचको धार्मिक सहिष्णुता माथि पनि आँच आउने छ । आज सम्पूर्ण नेपाल र नेपालीहरु नयाँ नेपालको निर्माणमा एक जुट भै जुट्नु पर्ने बेलामा कुनै पनि बहानामा कुनै पनि धर्मको धार्मिक अस्थामाथि आँच आउने कार्यगर्नु निन्दनीय छ । तसर्थः हिमालयन बुद्धिस्ट कम्युनिटि अफ नेपाल इन युयसए रुपन्देही जिल्लाको सिद्धार्थ चोकमा अवस्थित भगवान बुद्धको प्रतिमालाई अन्यत्र प्रतिस्थापन गर्ने निर्णय फिर्ता लिनको लागि सम्बन्धित सबैमा अपिल गर्दछ । यसका साथ साथै नेपालको राजनैतिक पार्टी सँग सम्बन्धन र आस्था राख्ने संयुक्त राज्य अमेरिकास्थित संघ संस्थाहरु नेपाली जनसम्पर्क समिति अमेरिका, प्रवासी नेपाली मञ्च अमेरिका, संघीय समाज अमेरिका, प्रबासी नेपाली एकता समाज अमेरिका लगायतका सम्पूर्णलाई उक्त निर्णय फिर्ता गराउन महत्वपूर्ण भूमिका निर्वाह गरिदिन हुन समेत यसै प्रेस बिज्ञप्ति मार्फत अपिल गरिन्छ ।’