समाचार

समर्थकका साथमा डा.केसी सडकमा

काठमाडौं– मेडिकल शिक्षाबारेमा पटक पटक अनसन बस्दै आएका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका बरिष्ठ चिकित्सक डा. गोविन्द केसी आफ्ना समर्थकहरुको आन्दोलनमा आफै सडकमा उत्रिएका छन् ।
आठौं पटक अनसनमा बसेका केसीले पाँच दिनअघि मात्रै १५ दिनका दिनपछि अनसन तोडेका थिए । मेडिकल शिक्षासम्बन्धि माग उठाउँदै आएका केसीले पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह विरुद्ध महाअभियोग लगाउनुपर्नेसमेत माग राखेका थिए ।
उनको मागपछि कार्कीको मुद्दा संसदमा प्रवेश गरेको छ । संसदीय समितिले कार्कीलाई बयानका लागि बोलाएकोमा उनी विरामी परेको भन्दै संसदको सुशासन तथा अनुगमन समितिको बैठकमा उपस्थित भएनन् । उनी संसदीय समितिको बैठकमासमेत उपस्थित नभएपछि केसीका समर्थकहरुले अख्तियार कार्यालय अघि प्रदर्शन गर्दै लोकमानको स्वास्थ्य लाभको कामना गर्दै ब्यङगात्मक प्रदर्शन गरेका थिए ।
केसीले अख्तियार प्रमुखको विषय उठान गरेपछि यसले राजनीतिक रुप लिएको छ । सरकारसँग सहमति गरी अनसन तोडेको पाँचौ दिनका दिन केसी स्वयं सडकमा उत्रिएर अख्तियार प्रमुखको विरोध गर्न थालेका छन् ।
केसीको मागले राजनीतिक रुप लिएपछि उनको पक्ष र विपक्षमा समेत प्रदर्शन हुँदै आएका छन् । केसी विरोधीहरुले उनीविरुद्ध प्रदर्शन र अभियान छेंडेपछि केसी समर्थकहरुले केसीको अनसन तोडिएपछि पनि प्रदर्शन जारी नै राखेका छन् ।
केसीलाई एमबीबीएस अध्ययनरत विद्यार्थी, स्वतन्त्र युवा तथा विवेकशील नेपालीका युवाहरुले साथ दिँदै आएका छन् । अख्तियार प्रमुख लोकमानको विरुद्धमा युवाहरुले प्रदर्शन जारी नै राखेपछि शनिवार डा. केसीसमेत युवाहरुको साथमा सडकमा उत्रिएका हुन् । उनले सडकमा उत्रिएर समर्थकको साथमा सहभागिता मात्र जनाएनन्, उनले लोकमानविरुद्ध भाषण पनि गरे ।
माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्मको प्रदर्शनमा सहभागी भएका डा केसीले बानेश्वरमा राजनीतिक दलका नेताहरुप्रति पनि आक्रोश ब्यक्त गरे । उनले लोकतन्त्र वा लोकमानतन्त्रमध्ये एक रोज्न सांसदहरुलाई आग्रह गरे ।
केसीले आफू स्वास्थ्य र शिक्षा क्षेत्रको सुधारका लागि लडिरहेको भन्दै आफूलाई साथ दिनेहरुलाई धन्यवाद दिएका थिए ।
१६ साउन, २०७३ ।