समाचार

एकैसाथ ‘प्रहरी मेरो साथी’ अभियान सबै जिल्लामा

काठमाडौं । नेपाल प्रहरीले नेपालका ७५ वटा जिल्लामै ‘प्रहरी मेरो साथी’ अभियान सुरु गरेको छ । सरकारको आव २०७२÷७३ को नीति तथा कार्यक्रममा समावेश गरिएको उक्त अभियान ७५ वटै जिल्लामा सञ्चालनमा आएको छ । नेपाल प्रहरीका नागरिक समुदाय केन्द्रित सबै कार्यक्रम तथा क्रियाकलाप‘ ‘प्रहरी मेरो साथी’को अवधारणामा समेटिनेछ ।

देशभरका विद्यालय तथा समुदायमा सामुदायिक सम्पर्कको माध्यमबाट प्रहरीलाई नागरिकमैत्री बनाई अपराध, दुर्घटना र सामाजिक विकृतिलाई नियन्त्रण गर्दै शान्ति सुरक्षा कायम गर्नु अभियानको मुख्य उद्देश्य हो ।
समाजमा ‘प्रहरी मेरो साथी’ हो भन्ने भावना र सम्बन्धको विकास गरेर प्रहरी सङ्गठनको छविलाई गरिमामय तुल्याउनु अभियानको लक्ष्य रहेको छ ।

उक्त अभियानको शुभारम्भ गर्दै गृहमन्त्री शक्तिबहादुर बस्नेतले प्रहरीले समाजमा पूरा गर्नुपर्ने दायित्व र परिवर्तनको मूल्य मान्यतालाई संस्थागत गर्न ‘प्रहरी मेरो साथी’ अभियानले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । अभियानलाई नाराका रुपमा मात्र नभएर प्रभावकारी कार्यान्वयनमा जोड दिन निर्देशन दिँदै उनले यसलाई प्रहरीका अरु सबै कार्यक्रमसँग जोडेर लैजान सके गुणात्मक नतिजा हासिल गर्न सकिने बताए ।
प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले प्रहरीको सङ्गठन कुनै व्यक्ति विशेषको आदेशमा नभएर विधि र कानुनअनुरुप सञ्चालन हुन्छ भन्ने कुरा अभियानले पुष्टि गर्ने विश्वास व्यक्त गरे ।

२८ असार, २०७३ ।