समाचार

मापदण्ड विपरीतका मासु पसलमा सील !

काठमाडौं । राजधानीका अधिकांश मासु पसल मापदण्ड पूरा नगरी सञ्चालन हुँदै आएको पाइएको छ ।  आपूर्ति मन्त्री गणेशमान पुन नेतृत्वमा गएको विशेष टोलीले राजधानीका केही मासु पसलमा गरेको अनुगमनका क्रममा यस्तो फेला परेको हो ।

ढक तराजु नापतौल विभागमा दर्ता नगरेको, बधशाला अत्यन्तै फोहर रहेको र बधशालामा स्याउँस्याउँती किरा परेको अनुगमनका क्रममा भेटिएको छ । आपूर्ति मन्त्री गणेशमान पुनले बधशालालाई तत्काल शिल गरेर कडा भन्दा भन्दा कडा कारबाही गर्न निर्देशन दिएका छन् ।

गुणस्तर तथा नापतौल विभाग, पशु विभाग, आपूर्ति व्यवस्थापन तथा उपभोक्त हित संरक्षण विभाग,  वाणिज्य मन्त्रालय, उपभोक्त मञ्च र पत्रकारको टोली अनुगमनका क्रममा राजधानीका विभिन्न मासु पसलको अनुगमनमा गएको हो ।

विभागले साताव्यापी रुपमा जनस्वास्थ्यसँग सरोकार राख्ने विभिन्न क्षेत्रमा अनुगमन गर्दै आएको छ । सरकारले साउन १ गतेदेखि बधशाला सञ्चालन गर्न नदिने निर्णय यसअघि नै निर्णय गरिसकेको छ । राजधानीको सतुङ्गलमा करिब १५ वर्षदेखि सञ्चालन हुँदै आएको मोज मिट सेन्टरले सामान्य मापदण्ड पुरा नगरेको फेला परेको छ । उक्त पसलमा मासुमा स्याउस्याउँती किरा भेटिएपछि मन्त्रीले उक्त मासुपसलमा तत्काल सिलबन्दी गर्न निर्देशन दिएका थिए ।