समाचार

सशांक कोइरालाको स्वास्थ्य सुधारोन्मुख

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाको स्वास्थ्यमा क्रमिक सुधार आएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
बुधबार दिउँसोसम्म अचेत रहेका कोइरालाको बेलुका होस खुलेको छ । अहिले उहाँको अवस्था बुधबार बेलुकाको जस्तै रहेको अस्पतालले जनाएको छ । अझै केही घण्टा उहाँलाई अब्जरभेसनमा राखिने र त्यसपछि मात्र स्वास्थ्य अवस्थाबारे भन्न सकिने डाक्टरले बताएका छन् ।

डाक्टरहरुका अनुसार उहाँलाई निमोनिया भएको हो । बुधबार विहानको भन्दा स्वास्थ्यमा केही सुधार आएको भन्दै डा. लव जोशीले भने स्वास्थ्य अवस्था स्थिर भए पनि उनले आँखा खोलेका छन् र बोलाउँदा थाहा पाए जस्तो गरेका छन् । यसलाई होसमा आएको मान्न सकिने डा. जोशीले बताए । उनले भने, ‘उहाँलाई अहिले पनि मेकानिकल भेन्टिलेटरमा  राखेर उपचार जारी राखेका छौं,  हामीले बोलाउँदा उहाँले सुन्नु भएको छ र केही रेस्पोन्स गर्नु भएको छ । यो सकारात्मक र ठूलो उपलब्धि जस्तो हो ।’


शशांकको उपचारमा नेपालमा उपलब्ध विशेषज्ञ डाक्टरहरुको टिम नै खटिएको छ । डा. भगवान कोइराला, उपेन्द्र देवकोटा, अर्जुन कार्की, शशांक पत्नी सुपात्रासहित १५ जना बढी चिकित्सक खटिएका छन् । मंगलबार  बेलुका एक्कासी स्वास्थ्यमा समस्या आएपछि महामन्त्री कोइरालालाई अस्पताल भर्ना गरिएको थियो ।