समाचार

एकै परिवारका दुई सदस्यबाट विश्व कीर्तिमान

काठमाडौं । एकै परिवारका सदस्यले दुईवटा विश्व कीर्तिमान राखे भन्दा पत्याउन गाह्रो हुन्छ । तर, संखुवासभा मकालु–५ बालाखर्कका एकै परिवाका तीन सदस्यले हिमाल आरोहण गरेर दुइवटा विश्व किर्तिमान कायम गरेका छन् । परिवारकी सदस्य लाक्पा शेर्पाले सात पटकसम्म लगातार सगरमाथाको आरोहण गरेर विश्वकै प्रथम महिलाको रुपमा विश्व किर्तिमान कायम गरेकी छन् । त्यसैगरी लाक्पासहित उनका भाइ मिङ्मागेलु र बहिनी मिङ्माकिपा शेर्पाले सगरमाथा आरोहण गरेर अर्को विश्व किर्तिमान कायम गरेका हुन् ।

सगरमाथाको सफल आरोहणपछि लाक्पा र बहिनी मिङ्माकिपा भने अमेरिका गएका छन् । तर,लाक्पाका भाई मिङ्मागेलु भने नेपालमै केहि गर्ने उद्धेश्यले पर्यटन व्यवसायमा लागेका छन् । पछिल्लो समयमा पर्वतीय पर्यटन क्षेत्रको विकासमा उनले निकै चासो दिन थालेका छन् । एक पटक मात्र हैन, सगरमाथाको ८ पटकसम्म सफल आरोहण गरेर विश्वमा नेपालको नाम सगरमाथा झै उच्च राखेका छन् उन्ने । आफ्नो लागि सबैले गर्छ । तर, उनले आफूलाई मृत्युसंग बन्दकी राखेर नेपालको नाम विश्वमा स्थापीत गरेका छन् । र सफल पनि भएका छन् ।

बाबु पासाङवाङ्छु र आमा पासाङ्भुटी शेर्पाको कोखबाट जन्मिएका उनले आफ्नो आरोहण यात्रा भरियाबाट शुरु गरेका हुन् । काठमाडौ देख्न नपाउँदै उनले मकालुमा २ बर्ष भरियाको काम गर्दै यो व्यवसायमा प्रवेश गरेका हुन् । १४ बर्षको उमेरसम्म गाउँमै चौरी चराउँदै, भेडा धपाउँदै गोठालोकै रुपमा बिताए । सामान्य परिवारमा खान र लाउन नै धौ धौं थियो त्यति बेला । बिहान खाए बेलुकी के खाने ? र बेलुकी खाए बिहान के खाने ? भन्ने पिरलो हुन्थ्यो उनको परिवारमा । राम्रो लगाउने त अलिक परैको कुरा थियो । शिक्षा आर्जनको लागि त झनै गह्रो थियो त्यतिबेला । स्थानीय देउराली माध्यमिक विद्यालय नुर्वुचौरमा कक्षा–२ र त्यसपछि जिल्ला सदरमुकाम खाँदबारीमा पुगेर निम्न स्तरको शिक्षा प्राप्त गरेका उनले आफूलाई भरियाको माध्यमबाट पर्यटन क्षेत्रमा प्रवेश गराए । भरियाबाटै हिमाल आरोहणको पाईला अगाडि बढाए ।  उलने भने–‘राम्ररी पढ्न, लेख्न र बोल्न नआए पनि मलाई हिमाल चढ्न आउँछ । यसैको माध्यमबाट म नेपाललाई विश्वसामु चिनाउन चाहन्छु ।’

सन् २००२ बाट सगरमाथाको आरोहण यात्रा सुरु गरेका उनलेसन् २०१० सम्ममा ८ पटक सगरमाथाको सफल आरोहण गरेर हिमाल आरोहणमा थकाई हुन्न भन्ने कुरालाई गलत प्रमाणीत गरे । शुरुमा निकै दर्दानक दिन थिए उनका लागि । भनेको बेला भोक मेटाउनलाई हम्मे हम्मे पर्दथ्यो । तर, सगरमाथाको आरोहणको सफलतासंगै उनले देखेको सपनाले पनि मुर्त रुप लिएको छ । तर, मिङ्माले भने यो सफलता पारिवारिक रुपमा नभई मुलककै सफलता भएको बताएका छन् । ‘हिमाल आरोहण गर्नु कम चुनौतिपूर्ण छैन् । मृत्युसंग जोडिएको बिषय भए पनि हिमालसंग पौंठेजोडि खेल्दै भए पनि नेपालको गौरव बढाउन सफल भएको छु’, उन्ले भने । त्यसो त नेपालमा अहिले युवा पर्यटन व्यवसायीको रुपमा पनि उनको छुट्टै परिचय छ ।  सेभेन समिट एड्भेन्चर र सेभेन समिट क्लवमार्फत उन्ले बर्षेनी झण्डै १३ हजार बिदेशी पर्यटक नेपाल भित्र्याएर नेपालको पर्यटन उद्योगमा सहयोग पु¥याएका छन् ।

पहिले आफै रोजगारीको खोजिमा भौतारीने उनले अहिले आफ्नो दुई कम्पनी मार्फत झण्डै १ सय ५० जनालाई रोजगारी दिएकाछन् । आफ्नो गन्तव्य र लक्ष्य पुरा गर्नु हिमाल आरोहिहरुका लागि चुनौति हुन्छ । तर, अहिले उनी त्यसको पाठशालको रुपमा छन् । हिमाल आरोहण गर्दा हिम पहिरोमा परेर उनले आँखै आगाडि धेरै साथिहरु पनि गुमाएकाछन् । तर, कति पनि बिचलित भएका छैनन् उनी । सफलता त्यसकै परिणाम ठान्छन उनी । उकाली ओराली र आरोह अवरोहविनाको जीवन उनका लागि निरर्थक हुन्छ । त्यसैले जीवनमा हरेस पनि खाएनन उनले । उनी विश्वको जुन कुनामा पुग्छन त्यहाँ नेपालको वर्णन गर्छन् र बिदेशीहरुलाई नेपाल घुम्न निम्ता दिन्छन् । यो उनको प्रचारशैली र आफ्नो मातृभूमिप्रतिको कर्तव्य पनि हो ।

आफ्नो देशको जति प्रचार गर्छन उनी तर, राज्यले नहेर्दा भने निकै दुःखी पनि हुन्छन् । राज्यले प्रख्यात आरोहिहरुलाई नहेर्दा राज्यबाट आफूहरु टाढीनु परेको उनको गुनासो छ  । जसका कारण हजारौं प्रख्यात आरोहि शेर्पाहरु बिदेश पलायन पनि भई सकेका छन् । राज्यले आरोहिहरुका सन्ततीहरुकालागि कुनै पनि सुविधा दिन सकेको छैन् । शिक्षा, स्वास्थ्य र रोजगारीको कुरा त टाढैको कुरा भयो । केहि सुविधा दिए ढुक्कसंग हिमाल आरोहण गरेर देशको नाम राख्न सकिने थियो भन्ने उनको भनाई छ । तेन्जिङ नोर्गे शेर्पा नेपाली भएर नेपाललाई चिनाए पनि उनी भारत पलायन हुनुप¥यो । त्यस्तै धेरै शेर्पाहरु आफ्नो देशबाट तिरस्कृत हुनु पर्दा बिदेशिनु परेको उनले तीतो यथार्थ पोखे ।

सगरमाथा बाहेक पनि उन्ले मकालु, कन्चनजंघालगायत नेपालका धेरै हिमाल आरोहण गरीसकेका छन् । त्यस्तै, युरोपको सबै भन्दा अग्लो हिमाल एलब्रुस आरोहण गर्ने पहिलो नेपालीको रुपमा पनि उनको किर्तिमान छ । त्यसैगरी रसियाको चोई हिमाल पनि उनले आरोहण गरेका छन् । नेपाल विश्वकै पर्यटन गन्तव्यको रुपमा रहे पनि सरकारी प्रतिवद्धता नआउँदा सबै ओझेलमा परेको उनको भनाइ छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथादेखि आरोहण योग्य एक दर्जन नाम कहलिएका हिमाल नेपालमा छन् । त्यसै गरी शान्तिका प्रतिक गौतम बुद्धको जन्मस्थलको रुपमा रहको लुम्विनिले विश्वको ध्यान केन्द्रीत गरे पनि नेपालमा एउटा पनि पर्यटन विश्व विद्यालय नहुनु दुःखलाग्दो छ । त्यसैले एउटा पर्यटन विश्व विद्यालय नेपालमा हुनु पर्ने उनको भनाइ छ ।

पर्यटन जोखिमपूर्ण यात्रा भएकाले पर्यटनसंगै उनी शेर्पा फाउण्डेशनमार्फत सामाजिक काममासमेत संलग्न हुँदै आएका छन् । हिमाल आरोहणमा अभिभावक गुमाएका परिवाका सन्ततीहरुलाई उन्ले फाउण्डेशनबाट निःशुल्क शिक्षाको व्यवस्था गरेकाछन् । भन्छन, विकासको समृद्धि पर्यटन भएकाले नेपालको आर्थिक परिर्वतन पनि पर्यटनबाट मात्र सम्भव छ । त्यसैले यही क्षेत्रमा लागेर केही गर्ने सोंच राखेका छन् ।