समाचार

अतिथि देवो भवः

दश लाख पर्यटक भित्र्याउने नेपालको लक्ष्य पुरा होला त ?
नेपाल सरकार र गैरआवासीय नेपाली संघ (एनआरएन) आईसिसीबीच गत मे १७ तारिख नेपालमा गुणात्मक र संख्यात्मक पर्यटक आगमन बढाउने उद्देश्यसहित बिश्वब्यापी ‘अतिथि देवो भवः’ (पाहुनाहरु भागवान सरह हुन्) अभियान थालनी गरिएको छ । उता नेपाल सरकारले सन् २०१८ लाई ‘नेपाल भ्रमण वर्ष’ (भिजिट नेपाल ईयर) घोषणा गर्दै वार्षिक १० लाख बिदेशी पर्यटक नेपाल भित्र्याउने लक्ष्य लिएको छ । नेपाल सरकारको यो लक्ष्य पुरा हुन सक्ला ?

लक्ष्यभन्दा कम पर्यटक
यसअघि नेपाल सरकारले घोषणा गरेको ‘भिजिट नेपाल–९८’ र ‘नेपाल पर्यटन वर्ष २०११’ मा सरकारको लक्षित पर्यटक संख्या क्रमशः आधा मिलियन (५ लाख) र एक मिलियन (१० लाख) पर्यटक भित्र्याउन सरकार असफल रह्यो । सन् १९९८ मा ४ लाख ६३ हजार ६८४ र सन् २०११ मा ७ लाख ३६ हजार २१५ पर्यटक नेपाल भित्रिए । सन् २०१५ मा महाभूकम्पको कारण सन् २०१४ मा आएका बिदेशी पर्यटकहरुको संख्याभन्दा ३१.७८ प्रतिशतले गिरावट आएको तथ्याङ्कले देखाउँछ । सन् २०१४ मा ७ लाख ९० हजार १ सय १८ पर्यटक नेपाल आएका थिए भने सन् २०१५ मा भूकम्पको कारण ५ लाख ३८ हजार ९७० पर्यटक नेपाल आउन सके ।
शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँग सीमाना जोडिएको छिमेकी मुलुक भारतको राज्य बिहारमा बुद्धले महापरिनिर्माण (बुद्धत्व) प्राप्त गरेको बोध गयालगायतका ऐतिहासिक स्थल हेर्न वार्षिक ६० लाख पर्यटकहरु आउँछन् । ति पर्यटकहरुलाई लुम्बिनिमा भित्र्याउने रणनीति नेपाल सरकारले नबनाउँदासम्म हवाई मार्गबाट तेस्रो मुलुकबाट सोझै नेपालमा थप ५ लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य फेरि पनि असफल हुन सक्दछ ।

बिदेशी पर्यटकहरुको नेपाल यात्रा
राणा कालिन नेपाल सरकारले बिदेशी पर्यटकहरुको नेपाल यात्रालाई जानीबुझी रोकतोक लगाएको इतिहास छ । नेपाली समाजमा बाह्य बिकसित मुलुकका शिक्षित पर्यटकलाई नेपाल घुम्ने अनुमति दिनु भनेको राणाशाही निरंकुश राणा शासकहरुले आफ्नो घुँडामा आफैले बन्चरोले हान्नु सरह थियो । ट्राभल राइटर मार्क होरेलका अनुसार बेलायती नागरिक बिल तिलम्यानलाई तत्कालिन श्री ३ मोहन शमशेर जबाराको शासन कालमा सन् १९४९ मा पहिलो पटक पर्यटकीय भ्रमणको लागि अनुमति दिईएको थियो । त्यसअघि सन् १९४७ मा अमेरिकी एल विश्वबिद्यालयका पन्क्षीविद् दिलोन रिप्लेलाई नेपालका चराहरुको अध्ययन गर्न बैज्ञानिकको रुपमा नेपाल प्रवेश दिईएको थियो ।

सन् १९५३ को मे २९ मा विश्वकै सर्बोच्च शिखर सगरमाथा (माउण्ट एभरेस्ट)को पहिलो पटक नेपाली छोरो तेन्जिङ नोर्गे र न्यूजिल्याण्डका एड्मण्ड हिलारीले सफल आरोहण गरेपछि नेपाल एड्भेन्चर टुरिजमको लागि विदेशी पर्यटकहरुको रोजाईको यात्रा लिस्टमा पर्न थालेको हो ।

पहिलो पटक पर्यटक छिर्न अनुमति दिएको एक दशक भित्रै सन् १९६२ मा विदेशी पर्यटकहरुको संख्या ६ हजार पुगेको थियो भने ७० र ८० को दशक विदेशीहरुको लागि नेपाल भूःस्वर्ग र स्वर्ण युग नै बन्यो । ठमेलका गल्लीहरु युरोप र अमेरिकाकाका हजारौं हिप्पीहरुको रंगरमिता गर्ने र गाँजा तान्ने क्रिडास्थल बन्न पुग्यो । सन् १९७० मा ४५ हजार ९७० पर्यटक नेपाल आए भने सन् १९८० मा १ लाख ६२ हजार ८९७ पर्यटकले नेपाल भ्रमण गरे । पछिल्लो पटक पर्यटकहरु नेपालमा माउण्टेनियरिङ, माउण्टेन फाइट, व्हाईट वाटर ¥याफ्टिङ, बन्जी जम्पिङ, पाराग्लाइडिङ, जङ्गल सफारी, माउण्टेन ट्रेक्किङ र माउण्टेन बाईकिङजस्ता एड्भेन्चर र सौखिन गतिबिधिहरु गर्न नेपाल आउने गरेकाछन् ।

सरकारी महत्वकांक्षा, पर्यटन पूर्वाधार र विश्व बजारमा मार्केटिङ
सन् १९९० मा बहुदलीय ब्यबस्थाको पुनर्बहाली पछि नेपालमा बिदेशी पर्यटकहरु आउने क्रम तीब्र भयो भने सन् १९९२ मा पहिलो पटक विदेशी पर्यटकको संख्या ३ लाख नाघ्यो । नेपाल सरकारले पर्यटकहरुको नेपालप्रतिको बढ्दो रुचीबाट हौसिएर सन् १९९८ लाई ‘नेपाल भ्रमण वर्ष’ (भिजिट नेपाल –९८) घोषण गरेर ५ लाख पर्यटक नेपाल भित्र्याउने लक्ष बनाएको थियो जुन लक्ष पुरा हुन सकेन । लक्षित संख्यामा ३६ हजार ३१६ पर्यटक कमी रह्यो ।
हरेक पटक सरकारको लक्ष्यभन्दा कम पर्यटक हुनुमा सरकारी महत्वकांक्षा मात्र कारक होइन पर्यटकका लागि चाहिने पर्यटन पूर्वाधार तयार नहुनु र नेपालको प्राकृतिक सुन्दरता र सम्पदालाई विश्व बजारमा मार्केटिङ गर्न नसक्नु मुख्य कारण हुन् । पर्यटन नेपाली अर्थतन्त्रको सबैभन्दा ठूलो क्षेत्र र वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत हो । पर्यटनपछि प्रवासी नेपालीले पठाउने बैदेशिक मुद्राको रिमिटेन्स नेपालको दास्रो महत्वपूर्ण बैदेशिक मुद्रा आर्जनको स्रोत हो । वल्र्ड ट्राभल एण्ड टुरिज्म काउन्सिलका अनुसार विश्व पर्यटनको अर्थ आर्जन ७.६ ट्रलिअन अमेरिकि डलर बराबरको रहेको छ भने नेपालले सन् २०१४ मा पर्यटनबाट १७१.६ अर्ब रुपैयाँ आर्जन गरेको थियो जुन नेपालको कूल ग्राहस्थ उत्पादन (जीडीपी) को ८.९ प्रतिशत हो ।

नेपाल सरकारले सन् २०१८ र त्यसपछिका वर्षहरुमा पर्यटन पूर्वाधार खडा गरी साँच्चिकै तदारुकताका साथ पर्यटकहरुलाई नेपाल भित्र्याउन ‘अतिथि देवो भवः’ मुलामन्त्रलाई व्यबहारमा उतार्ने हो भने लक्ष्यभन्दा कम पर्यटकमा चित्त बुझाउनु पर्दैन । नेपालको छिमेकी मुलुक भारतमा वर्र्षेनी २ करोड २९ लाख पर्यटक जान्छन्, अमेरिकाको त कुरै नगरौं (न्यूयोर्क शहरको स्टेचु अफ लिबर्टी मूर्ति हेर्न मात्र ४२ लाख पर्यटक आउँछन् । एशिया कै नेपालको पर्वत जिल्ला जत्रो सानो क्षेत्रफल रहेको सिंगापुरमा सन् २०१५ मा भ्रमण गर्ने पर्यटक संख्या १५ करोड २३ लाख १४ हजार ४६९ थिए भन्दा पत्यार लाग्न मुस्किल पर्दछ । तर नगरे नहुने केहि रहेनछ । सबैलाई चेतना भया ।

अतिथि सम्पादक प्रदीप परियार थापा मगर ‘युएस नेपाल अनलाइन डट कम’का प्रधान सम्पादक र ‘जातीय विभेद र छुवाछुतको अन्त हाम्रै पालामा’ (इण्डअफकास्ट डट कम) का अभियन्ता पनि हुन् ।