समाचार

पहिरोमा पुरिएर २ महिला वेपत्ता

दार्चुला । पश्चिम नेपालको दार्चुलामा लगातारको वर्षाका कारण आएको पहिरोमा घर पुरिदाँ दुई महिला वेपत्ता भएका छन् । घटनास्थलबाट तीन जनाको सकुसल उद्धार गरिएको छ ।  मालिकार्जुन–८ भौतडी मुसेकाँडामा शुक्रबार बिहान चार बजे पहिरोले घर पुरिएको हो । घरमा रहेकी बसन्ती धामी र अपी नगरपालिका –१७ धापकी एक महिला वेपत्ता भएकी छन् । 

घरमाथिबाट आएको पहिरोले गोपालसिंह धामीको घर पुरिएको हो । घरमा रहेका ४ जनामध्ये तीन जनाको सकुसल उद्धार गरिएको प्रहरीले जनाएको छ ।  घरभित्रै पुरिएकी हुनसक्ने आशंकामा प्रहरी र स्थानीयबासीले बसन्तीको खोजीकार्य जारी राखेका छन् । पानी परिरहेका कारण खोजी कार्यमा समस्या भएको जनाइएको छ । 

 बिहिवार राति अपी नगरपालिका –१७ धापमा पहिरोले प्रेमसिंह महरको घर पुरिदा उनकी श्रीमती वेपत्ता भएकी हुन् । दार्चुलामा तीन दिनदेखि झरी परिरहेको छ । वर्षाले जिल्लाका विभिन्न क्षेत्रमा पहिरोको जोखिम बढेको छ ।