समाचार

भगवान पुकार्दै, पहिरो नियाल्दै, जोखिमपूर्ण यात्रा

काठमाडौं । असार महिनाको मध्यतिर आएर वर्षा व्यापक रुपमा हुन थालेपछि यात्रुलाई सहजरुपमा यात्रा गर्न मुस्किल परेको छ । काठमाडौं जोड्ने नारायणगढ–मुग्लिन सडकखण्ड यात्रुका लागि जोखिम बन्दै गएको छ । ठाउँ ठाउँमा पहिरोका कारण दिनहुँ जसो सडक अवरुद्ध हुन्छ भने बल्ल बल्ल खुलेको बाटोमा पहिरो नियालेर यात्रा गर्नुपर्ने अवस्था आएको छ । 

सोही रुटबाट जाने अधिकांश वसका यात्रुले बिहीबार झ्यालबाट पहाड नियाल्दै यात्रा गरिरहेका थिए ।  उनीहरूको मुहारमा गन्तव्यमा कतिखेर पुगिएला भन्ने आशय थियो भने त्रास पनि उस्तै ।  दिउँसो सिमसिम पानी पर्न थालेपछि पहिरोबाट जोगिन बस र ट्रक तीव्र गतिमा कुदाइन्छ ।  सडकका अधिकांश भागमा ढुंगा र माटो थुप्रिएका छन्, जसले सडक साँघुरो बनेको छ । पहिरोको जोखिमले ठूला सवारी साधानका चालकले अत्तालिएर गाडी चलाउँदा साना चेपुवामा पर्ने गरेका छन् व।

यात्रु भगवान पुकार्दै यात्रा गर्नुपर्ने अवस्था छ । राति पहिरो खसेर सडक धेरै अवरुद्ध हुने भएकाले जोखिम मोलेर गाडी चलाउनुपर्ने बाध्यता रहेका चालकहरुको गुनासो छ । यस खण्डको जलबिरे र कालीखोलामा पहिरोको बढी प्रकोप छ । यस क्षेत्रमा असार सुरुदेखि पहिरोको जोखिम बढेको हो । प्रहरीका अनुसार अहिलेसम्म एउटा बस, कार, ट्रक, आयोजनाका २ स्काभेटर पुरिइसकेका छन् । यस खण्डमा असारदेखि भदौसम्म बढी खतरा हुनेगर्छ । 
काठमाडौं भित्रिने र बाहिरिने गरी  दैनिक करिब ८ हजारभन्दा बढी सवारी साधन गुड्छन् । मुग्लिनदेखि नारायणघाटसम्मको ३६ किलोमिटरको दूरी पार गर्न करिब  १ घण्टा समय लाग्ने भए पनि पहिरो खसेका कारण सडक पार गर्न घण्टौं लाग्ने गरेको छ । मौसमको अवस्था हेरेर पहिरो खस्ने सम्भावित ठाउँमा सडक विभागले पहिरो पन्छाउन आवश्यक पर्ने मेसिन सहितको टोली तयारी अवस्थामा राख्ने गरेको छ ।