समाचार

अमेरिका छिर्न नेपाली लाखौं रुपैयाँ फसाउँदै

काठमाडौं । आफ्नो आवास बनाउन दुईलाख खर्च गर्न नसकी सरकार गुहारीरहेका भूकम्प पीडतिहरुले भने अमेरीका र युरोपको रोजगारीका लागि करोडौं फसाउने गरेको रहस्य खुलेको छ ।  प्रहरी समक्ष भूकम्पपीडितलाई विभिन्न मुलुक पठाइदिने भन्दै एक करोडभन्दा बढी ठगीको उजुरी परेपछि यो रहस्य खुलेको हो ।

रोजगारीका लागि अमेरिका, क्यानाडा र जापान पठाइदिने भन्दै ठगी गर्ने सिन्धुपाल्चोक चौतारा–८ का पुण्यप्रसाद दङ्गाललाई काठमाडौबाट  हालै प्रहरीले नियन्त्रणमा लिएको हो । अभियुक्त दङगाललाई अरवीन्द योग आश्रम थानकोटमा लुकिरहेका अवस्थामा नियन्त्रणमा लिएको महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख प्रहरी नायब निरीक्षक डिल्लीराज पन्तले बताए । अभियुक्त दङ्गालका नाममा विभिन्न व्यक्तिबाट एक करोडभन्दा बढी ठगीका उजुरी परेको प्रहरीले जनाएको छ ।

यसैबीच, २०७२ बैशाख १२ गते गएको विनाशकारी भूकम्पले भत्किएका घर अझै सोझिएका छैनन् । सरकाले पुनर्निर्माणका लागि सहयोग रकम नदिएको गुनासो गर्नेहरुको संख्या पनि धेरै नै छ । यही विषयलाई लिएर प्रमुख प्रतिपक्षीदल कांग्रेसले पनि दिनहुँ संसद बैठक अवरुद्ध पार्दै आएको छ । तर, एउटा यस्तो झुण्ड पनि छ, जसले भूकम्पले भत्केको घर उठाउने काममा अग्रसरता देखाउँदैन, लाखौं खर्च गरेर विदेश पलायनको बाटो रोज्छ । यो झुण्ड अन्त कतैको होइन्, भूकम्प प्रभावित जिल्लाकै हुन् । उनीहरु माइक्रोनियामा पक्राउ परेपछि लाखौं खर्च गरेर अवैध बाटो प्रयोग गरी अमेरिका, अस्ट्रेलिया छिर्न खोजेको रहस्य पत्ता लागेको हो ।

अवैध बाटो प्रयोग गरी अमेरिका र अस्ट्रेलिया जान लागेका १६ नेपालीलाई माइक्रोनेसियाबाट उद्धार गरिएको हो । गत शनिबार मलेसियास्थित नेपाली दूतावासले उनीहरुलाई उद्धार गरेको हो। फिलिपिन्सदेखि पूर्व प्रशान्त महासागर क्षेत्रमा अवस्थित टापुहरूको राज्य माइक्रोनेसियाले १६ नेपालीलाई पक्राउ गरेको थियो। पक्राउ परेकासँग तस्करहरुले लाखौं रुपैया असुलेको बुझिएको छ ।

माइक्रोनियामा पक्राउ परेका मध्ये पाल्पाका वसन्तबहादुर दर्लामी, चितवनका प्रवीन लामा, मकवानपुरका सोमबहादुर लामा थिङ, इलामका सञ्जीव राई, चितवनका स्याम्युल तामाङ, धनुषाका अमितकुमार साह र चितवनका जयराम वाइबा नेपाल फर्किएका छन् ।

युवाहरुमा पनि विदेशकै मोह
वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या दिनानुदिन बढ्दै गएको छ । तत्कालीन सशस्त्र विद्रोही माओवादी शान्ति प्रक्रियामा आएपछि विदेश जाने युवाहरुको संख्या ह्वात्तै बढेको हो ।
आव २०५० र ५१ देखि २०६२ देखि २०६३ सम्म ७ लाख अन्ठाउन हजार ६ सय ७५ कामदार विदेशिएका थिए । आव २०६३ देखि ६४ पछिमात्रै ३५ लाख ५० हजार सय ५ नेपाली कामदार विदेशिएको वैदेशिक रोजगार विभागको तथ्यांक छ । यो १० वर्षको अवधिको तथ्यांक कूल विदेशिने युवाको ७५ प्रतिशत हो ।