समाचार

गोली ठोकेर गुण्डालाई पक्राउ

काठमाडौं । प्रहरीले गोली चलाएर गुण्डागर्दीमा संलग्न जसवन्त राई भनिने कर्ण गुरुङलाई पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाको विशेष टोलीले राईलाई काठमाडौंको विजुलीबजारबाट पक्राउ गरेको हो ।  प्रहरीले राईलाई नियन्त्रणमा लिन खोज्दा जसवन्तले प्रहरी टोलीमाथि नै आक्रमणको प्रयास गरेपछि उनीमाथि गोली चलाईएको प्रहरीले जनाएको छ ।  ज्यान मार्ने उद्योगमा समेत परेका राईलाई प्रहरीले बिहीबार दिउँसो बिजुलीबजारबाट पक्राउ गरेको हो । 

उनले काठमाडौं कलंकी, कालीमाटी, वाफल लगायतका क्षेत्रमा चन्दा असुल्ने, धम्क्याउने, र कुटपिट गर्ने गुनासा आएकाले पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए । 


यसअघि दुई वटा ज्यानमुद्दामा सफाइ पाएका जसवन्तविरुद्ध चार वटा आपराधिक उजुरी परेको पनि एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए ।  केही दिन अघि कलंकी आसपासका झण्डै एकदर्जन सर्वसाधरणले गुण्डा नाइके जसवन्त राईले दुःख दिएको भन्दै अपराध महाशाखामा उजुरी दिएका थिए ।