समाचार

नेपालको एउटा तस्वीरले विश्वको ध्यानाकर्षण गर्ने शर्माको दाबी

काठमाडौं । हालै ‘पिपुल्स च्याम्पियन’ अन्तर्राष्ट्रिय उपाधि पाउन सफल  सिँचाइ नहरसम्बन्धी एक तस्बिरलाई अमेरिकाको वासिङ्टन डिसीमा हुने विश्व जलवायु परिवर्तन आर्थिक अनुकूलन सम्मेलनमा प्रदर्शनी गरिने भएको छ ।
नेपाल जलवायु परिवर्तन सहयोग परिवर्तन कार्यक्रम अन्तर्गत बर्दियाको सिँचाई नहर निर्माणका क्रममा खिचिएको उक्त तस्विर अमेरिकामा प्रदर्शनी गरिने जनसङ्ख्या तथा वातावरण मन्त्रालयका जलवायु वित्तसम्बन्धी वरिष्ठ अर्थविज्ञ नरेश शर्माले बताउनुभयो । यही असार २९–३१ गते अमेरिकाको वासिङ्टन डिसीमा विश्व जलवायु परिवर्तन आर्थिक अनुकूलन सम्मेलन हुदैछ । उक्त तस्वीरले सिंगो विश्वको ध्यान खिच्ने शर्माले दाबी गरे ।
बर्दियाको खैरी चन्दनपुर गाविसको लालपुर – १ का थारु समुदायको सहभागितामा निर्माण हुँदै गरेको सिँचाइ नहरको उक्त तस्विरलाई गत वैशाख १० गते अमेरिकाको न्युयोर्कमा चलेको ‘पेरिस जलवायु सम्झौता हस्ताक्षर समारोह तथा पृथ्वी दिवसका अवसरमा प्रदर्शनी गरी प्रतियोगितामा सहभागी गराइएको थियो । प्रगियोगितामा १२७ मुलुकका तस्बिर सहभागी थिए ।
एक वर्षका लागि अनुकूलन कोषको अध्यक्ष समेत रहनुभएका शर्माले सो कार्यक्रमबाट नेपालमा गरिब र सङ्कटापन्न अवस्थामा रहेका स्थानीय जनतालाई जलवायु परिवर्तनसँग जुध्न सक्ने क्षमता वृद्धि गरिने बताउनुभयो । रु ९४ करोड बजेट भएको सो कार्यक्रम अन्तर्गत मुगु, जुम्ला र कालीकोटका २२ गाविसमा कार्यक्रम सञ्चालित छ ।