समाचार

काबुलमा १४ निर्दोष नेपालीले ज्यान गुमाए

तालिवानको निसाना बन्यो नेपाली चढेको बस

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहान भएको बम आक्रमणमा परी १४ जना नेपालीको ज्यान गएको छ । त्यस आक्रमणमा परी अरु नौ जना घाइते भएका छन् । घाइते भएका मध्ये पाँच जना नेपाली र चार जना अफगानी रहेको जनाइएको छ । आतंकवादी समूह तालिवानको आक्रमणमा १४ जना नेपालीको मृत्यु भएको अफगानिस्तानको गृहमन्त्रालयले पुष्टि गरेको हो ।

सोमबार बिहान उनीहरु चढेको एक मिनीबसमा एकजना आत्मघाती व्यक्तिले बम विस्फोट गराएका थिए । त्यस विस्फोटमा परी १४ जनाको घटनास्थलमै ज्यान मृत्यु भएको हो । एक विदेशी कम्पनीमा कामगर्ने ती नागरिकलाई लिएर गएको बसलाई राजधानी काबुलमा बिहान ५ः४० बजे नै आक्रमणकारीहरुले निशाना बनाएको बताइएको छ ।

काबुल नजिकैको पुल इ चर्खी सडकमा बस गुडिरहेका बेला एकजना आत्मघातीले बसलाई नै ताकेर विस्फोट गराएको बताइएको छ । मध्य काबुलमा रहेको एक विदेशी दूतावासमा सुरक्षा गार्डका रुपमा कार्यरत उनीहरु सोमबार बिहानै आफ्नो ड्युटीमा जान लागेका समयमा यो दुर्घटना भएको हो ।


यस आक्रमणको अफगानिस्तानको तालिवान संगठनले जिम्मेवारी लिएको छ । तालिवान प्रवक्ता जबिउल्लाह मुजाहिदले सोमबार बिहानै विज्ञप्तिमार्फत सो जिम्मेवारी लिएका हुन् । अफगानिस्तानका कार्यकारी प्रमुख अब्दुल्लाह अब्दुल्लाहले घटनाप्रति दुःख व्यक्त गरेका छन् । प्रमुख अब्दुल्लाहले आफ्नो ट्वीटर अकाउन्टमा सो घटना आतङ्कवादी कामबाहेक अरु केही होइन भन्दै यसप्रति दुःख व्यक्त गरेका छन् ।

यसैबीच, तालीवानीहरुले नेपालीहरुलाई निसाना बनाएर गरिएको घटनाले प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख प्रकट गरेका छन् ।  उक्त घटनाले आफू स्तब्ध भएको जानकारी दिएका छन् । साथै उनले मृतकहरु प्रति श्रद्धाञ्जली पनि अर्पण गरेका छन् । उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले लगायत दलका शीर्ष नेताहरुले घटनाको दुःख व्यक्त गरेका छन् ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लामो समयपछि नेपालबारे सार्वजनिक प्रतिक्रिया दिएका छन् । मोदीले सोमबार मध्याह्न ट्विट गर्दै काबुलमा भएको घटनाको निन्दा गर्दै निर्दोष नागरिकहरुको ज्यान गएकोमा अफगान र नेपाल सरकार र त्यहाँका जनताप्रति हार्दिक समवेदना दिएका छन्। अर्को ट्विटमा उनले यो दुःखद घडीमा नेपाल सरकारलाई आवश्यक सबै सहयोग प्रदान गर्न आवश्यक कदम चालिरहेको जानकारी दिएका छन‍्।