समाचार

चोर बाटो रोज्दा डक्टरको तुलना कन्डक्टरसँग

काठमाडौं । भगवानकै अर्को रुप मानिने डाक्टरहरु कन्डक्टरसँग तुलना  गर्न लायक बनेका छन् । कारण हो नक्कली सर्टिफिकेट । हालै केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले तराइका केही जिल्ला लगायत काठमाडौं र ललितपुर गरी ३६ जना नक्कली डाक्टरलाई नियन्त्रणमा लिएको थियो । उनीहरुलाई ब्यूरोको टोलीले आइतबार काठमाडौं जिल्ला अस्पतालमा पेश गरेको थियो ।

नक्कली शैक्षिक प्रमाण पत्रको आधारमा चिकित्सक भएकाहरू तथा अन्य चिकित्सकको एनएमसी दर्ता नं प्रयोग गरी चिकित्सकिय सेवा प्रदान गर्ने ३६ जना डाक्टरहरुलाई म्याद थपका लागि  जिल्ला अदालतमा पेश गरेको हो ।
अदालत पुगेका डाक्टरहरु त्यहाँ पुगेका मिडियादेखि निकै सर्तक देखिन्थे । मिडियाले क्यामारा तेर्साउने बित्तिकै उनीहरुले अनुहार छोप्थे ।
अदालतले उनीहरुलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि म्याद दिएको छ ।

शिक्षक, प्रहरी लगायत संस्थानका कर्मचारीहरुले नक्कली सर्टिफिकेट पेश गरेर जागिर खाइरहेको कुरा त सुनिरहेकै हो । तर मानिसको जीवनसँग प्रत्यक्ष सरोकार राख्ने चिकित्सकहरु नै नक्कली भेटिएपछि बाँकी जीवनको आशा बोकेर अस्पताल पुगेका विरामीहरुको कस्तो उपचार भयोहोला ? यतिबेला यही प्रश्नले आम नागरिकलाई चिन्तित बनाइरहेको छ ।

पैसा तिरेर उपचारका लागि अस्पताल जानेहरुलाई उल्टै भय र त्रासका बीच बचेको स्वास्थ्य पनि खराब पो हुने हो कि भन्ने चिन्ताले पिरोल्न थालेको छ ।

निजामती कर्मचारी, विभिन्न सरकारी संस्थानमा आवद्ध कर्मचारीहरुले जागिर खानका लागि डुब्लिकेट सर्टिफिकेट पेश गर्नु अपराध हो, यसको कानुनी उपचार पनि खोजिनु पर्छ । तर, उनीहरुबाट ज्यानै जाने खतरा नभए पनि सेवा प्रवाहमा कमी कमजोरी रहला ।
यता, नक्कली प्रमाणपत्रधारी डाक्टरहरुको बिगबिगीले अप्रेसन, ल्याब, डाइग्नोसिस लगायत उच्च प्राविधिक क्षेत्रमा कस्ता खालका लापरवाही र कमी कमजोरी हुँदा रहेछन् भन्ने यी पक्राउ परेका नक्कली डाक्टरले प्रमाणित हुन्छ । अस्पताल पुगेर अकालमा ज्यान गुमाउनेहरु यस्तै डाक्टरले चिरफार गर्दा भएका घटना हुन् ।

दोस्रो भगवानको रुप मानिने डक्टरहरु नै चोरबाटोबाट भगवान बन्न खोजेपछि बाँकी साराले उनीहरुलाई अब कसरी पुज्ने ? विश्वमै डाक्टरहरुलाई मेहनती, परिश्रमी र उच्चकोटीका पेशाकर्मीको रुपमा सम्मानजनक स्थान दिइन्छ । डाक्टर पढ्न महँगो खर्च मात्र होइन, चानचुने नम्बर र चानचुने खोपडीले चल्दैन यो सर्वविदितै छ । तर, चोर बाटोबाट सर्टिफिकेट किन्ने अनि ‘मेरिट वेश’को यो एमबीबीएस परीक्षामा सहजै छिर्ने शैलीले डक्टरी पेशाप्रति नै आँच पुगेको छ ।

मेहनती, स्वावलम्वी, भद्र स्वभावका उच्च कोटीका चिकित्सकलाई नक्कली डाक्टर पक्राउ प्रकरणले यतिबेला आघात पुगेको छ । हुन त सबैलाई एउटै बास्केटमा हाल्ने नेपाली चलनले उनीहरुलाई यस्तो नकारात्मक असर परेको हो । डक्टरी पेशा नै बद्नामी बन्ने अवस्था सिर्जना भएको हो ।

त्यसो त शुरु शुरुमा नेपाल चिकित्सक संघले आफ्ना डाक्टरहरुको बचाउका लागि विज्ञप्ति जारी गरेर नेपाल मेडिकल काउन्सिललाई चुनौती दिएपछि केही वर्ष प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआइवीलाई हाइसन्चो भएको थियो । तर, उपत्यका बाहिरका खास गरेर तराई मधेसमा रहेका मेडिकल–अस्पताल भित्रकै सक्कली प्रमाणपत्र धारी डाक्टरहरुले नाम नखुलाई उजुरी गर्ने आँट गरेपछि नक्कली डाक्टरहरुको अहिले कन्तविजोगको अवस्था आएको हो । तराईबाट शुरु भएको नक्कली डाक्टर पक्राउ अभियान अहिले देशव्यापी बन्दै गएको छ । सीआइबीले यसको अनुसन्धान जारी राखेको छ ।

पक्राउ परेका मध्ये काठमाडौंबाट समातिएका १५ जना छन् भने पर्सा, जनकपुर, विराटनगर, पोखरा, चितवन, ललितपुर,  लगायतबाट दुई दर्जन छन् । यसअघि पनि ब्युरोले १९ जना नक्कली डाक्टरलाई पक्राउ गरेको थियो जसमा १८ जना धरौटी बुझाएर रिहा भएका छन् ।