समाचार

प्रहरी उपरीक्षक शर्मा विरुद्ध सत्य निरुपण आयोगमा उजुरी

उजुरी दर्ता गराउने समयसीमा १ महिना थप

काठमाडौं । जनकपुरमा प्रहरीद्वारा मारिएका राष्ट्रिय मानव अधिकार आयोगका कर्मचारी दयाराम परियारको परिवारले घटनामा संलग्नलाई कारबाहीको माग राख्दै सत्य निरुपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता गरेको छ ।

जनआन्दोलनको पूर्वसन्ध्यामा जनकपुरको जनकचोकमा २०६२ चैत्र ११ गते तत्कालीन प्रहरी निरीक्षक प्रकाशराज शर्मा नेतृत्वको टोलीले गोली चलाउँदा दयारामले ज्यान गएका थिए । गोली लागेका परियारको उपचारकै क्रममा चैत्र १५ गते काठमाडौंको शिक्षण अस्पताल महाराजगंजमा निधन भएको थियो । प्रहरीको गोली लागेर चैत्र ११ गते स्थानीय रामचन्द्र यादवको जनकचोकमै मृत्यु भएको थियो ।

यसअघि राष्ट्रिय मानव अधिकार आयोगले दयाराम परियार हत्याकाण्डको छानविन गरी त्यहाँ गोली चलाउनुपर्ने कुनै कारण नदेखिएको, घटनामा प्रहरीले न्यूनतम मानवियता पनि प्रदर्शन गर्न नसकेको भन्दै फौजदारी अभियोगमा कारबाही गर्न सरकारलाई सिफारिस गरेको थियो ।

यसैबीच, सत्य निरुपण तथा मेलमिलाप आयोगले द्वन्द्वकालीन घटनाको उजुरी लिने समय एक महिना बढाएको छ । उजुरी हाल्ने समय अपुग भएको गुनासो देशभरबाट आएपछि आयोगले समयसीमा थप गरेको आयोगका प्रवक्ता माधवी भट्टले जानकारी दिनुभयो । आयोगमा विहीबारसम्म ४० हजार भन्दा बढी मानवअधिकार उल्लंघनका उजुरी दर्ता भएको र उजारी आउने क्रम जारी रहेको प्रवक्ता भट्टले जानकारी दिनुभयो । आयोगमा द्वन्द्व कालमा चर्चित कोटबाडा काण्डदेखि मुक्तिनाथ अधिकारी हत्याकाण्डसम्म, गुरु लुइँटेल हत्यादेखि दयाराम परियार हत्या काण्डसम्मका उजुरी दर्ता भइसकेका छन् ।

२०६३  मंशिर ५ गते भएको तत्कालीन माओवादी विद्रोही र सरकाबीचको विस्तृत शान्ति सम्झौता भएको थियो । सम्झौतामा ६ महिना भित्र सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गर्ने उल्लेख थियो । तर, प्रमुख दलहरुबीच सहमति हुन नसक्दा लामो समयसम्म आयोग गठन हुन सकेको थिएन । राष्ट्रिय तथा अन्तराष्ट्रिय दवावकाबीच एक वर्ष अघि सरकारले सत्य निरुपण र वेपत्ता छानविन आयोग गठन गरेको हो । एक वर्ष अघि आयोग गठन भए पनि उजुरी संकलन समेत आयोगले गर्न सकेको थिएन ।

के गर्दैछन् प्रकाशराज शर्मा ?


राष्ट्रिय मानव अधिकार आयोगले जनकपुर गोली काण्डका प्रमुख दोषी ठह¥याउँदै सरकारसमक्ष कारबाहीको सिफारिश गरेका तत्कालीन प्रहरी निरीक्षक प्रकाशराज शर्माको लामो समयसम्म बढुवा रोकिएको थियो । तर, राष्ट्रिय मानव अधिकार आयोगको सिफारिशलाई लत्याउँदै प्रहरी प्रधान कार्यालयले केही वर्ष अघि प्रहरी निरीक्षक शर्मालाई बढुवा गरी प्रहरी उपरीक्षक बनाएको थियो ।

बढुवासँगै मानव अधिकार क्षेत्रमा त्यसको चर्को विरोध भएको थियो । केही वर्ष प्रहरी प्रधान कार्यालय बसेर काम गरेका शर्मा हाल जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत रहेका छन । मानव अधिकारको प्रमुख अभ्यासकर्ता स्वीटजरल्याण्ड, डेनमार्क, नेदरल्याण्डस लगायतका ९ वटा मुलुकले उनलाई कालो सूचीमा राखी भिसा अस्वीकार गर्दै आएको छ ।

मृतक दयाराम परियारका दाजु प्रकाशचन्द परियारले हामीलाई उपलब्ध गराएको उजुरीको विस्तृत विवरण यस्तो छ :


सत्य निरुपण तथा मेलमिलाप आयोग, नेपाल
अनुसूची १
(नियम ४ को उपनियम (१) र (२) संग सम्वन्धित)
सत्य निरुपण तथा मेलमिलाप आयोगमा दिएको उजुरी

१.उजूरी कर्ताकोः–
क) नाम, थर : प्रकाशचन्द्र परियार
ख) ठेगानाः
अ) स्थायी : इटहरी उपमहानगरपालिका,वडा नंवर २४
              आ) अस्थायी : कामनपाकाजि, वडा नं १० शंखमुल

२. मानव अधिकारको गम्भीर उल्लङ्गघन भएको व्यक्ति
क) नाम, थर :दयाराम परियार
ख) ठेगानाः
अ) स्थायी : इटहरी उपमहानगरपालिका,वडा नंवर २४ तरहरा,सुनसरी
              आ) अस्थायी :
इ)  टेलिफोन÷मोवाइल नं, ०१ ५०१००१६/१७/१८
 
ग) पारिवारिक विवरणः सहोदर भाइ
घ) पेशा : मानव अधिकार सहायक, राष्ट्रिय मानव अधिकार आयोग
ड) हालको अवस्था: निधन
च) मानव अधिकारको गम्भीर उल्लंघन भएको स्थान, मिति र समय ः
   २०६२ चैत्र ११ गते, जनकपुर, जनकचोक साँझ करिब ६ बजे
छ) उमेर : २४ वर्ष

३. मानव अधिकारको गम्भीर उल्लघन गर्ने पक्ष, व्यक्तिको थाहा भएसम्मको नाम, थर, ठेगाना र हुलिया तत्काल कार्यरत र हाल कार्यरत कार्यलयको नाम र ठेगाना :

प्रहरी निरीक्षक प्रकाशराज शर्मा नेतृत्वको प्रहरी टोली र टोलीमा संलग्न ४ जना जवान सहित । जिल्ला प्रहरी कार्यालय धनुषा । हाल प्रहरी कार्यालय दाङमा प्रहरी उपरीक्षकको रुपमा कार्यरत, टोलीका अन्य सदस्यहरु नेपाल प्रहरी मै कार्यरत ।

४. मानव अधिकारको गम्भीर उल्लंघन सम्वन्धी उजूरीको व्यहोरा

मेरो भाइ राष्ट्रिय मानव अधिकार आयोग तत्कालीन सम्पर्क कार्यालय जनकपुरमा मानवअधिकार सहायकको रुपमा कार्यरत थिए । आफू कार्यरत अवधिमा देशमा सशस्त्र द्वन्द्व चर्किएको थियो । सोही समयमा तत्कालीन राजा ज्ञानेन्द्र शाहले सम्पूर्ण अधिकार आफूमा लिएर प्रत्यक्ष शासन चलाइरहेका थिए ।

जनताको मानव अधिकारको संरक्षण र प्रवद्र्धनको दायित्व बोकेको राष्ट्रिय मानव अधिकार आयोगको कर्मठ कर्मचारीका रुपमा  जनकपुरमा कार्यरत रहँदा मिति– २०६२/१२/११ गते जनकपुरको जनकचोकमा मानव अधिकार अनुगमनको क्रममै दयाराम थिए ।

सोही दिन चैत्र ११ गते साँझ करिब ६ः०० बजेको समयमा प्रहरी निरीक्षक प्रकाशराज शर्मा नेतृत्वको प्रहरी टोलीले जनकचोकमा गोली चलाउनुपर्ने कुनै कारण विना नै बन्दूकको आडमा विना सन्दर्भ, प्रसंगमा अन्धाधुन्ध गोली चलाएको र सो गोलीबाट जनक चोकमा रहेका मेरा भाइ दयाराम परियारको कोखामा गोली लागेर गम्भीर घाइते बनाएर वेवारिसे रुपमै सडकमै छोडेको र उनीसँगै रहेका स्थानीय रामचन्द्र यादवको गोली लागेर घटनास्थल मै निधन भएको थियो ।

निशस्त्र रहेका मेरा भाइ दयाराममाथि गोली चलाउनुपर्ने कुनै कारण नहुँदा पनि प्रहरी निरीक्षको शर्मा नेतृत्वको टोलीले विना कारण अन्धाधुन्ध गोली चलाई गम्भीर घाइते बनाइएको र निर्दोष निशस्त्र व्यक्तिमाथि गम्भीर घाइते बनाएर जिम्मेवार प्रहरीले घाइतेको तत्काल उद्दार नगरी (अस्पताल नलगी) चरम मानव अधिकारको उल्लंघन र मानवता विरोधी कार्य गर्दै घाइतेको उपचारको वेवास्ता गरेको अवस्थालाई  हामीले हत्या गर्ने मनसायले नै गोली चलाइएको हो भन्ने निष्कर्षमा पुगेका छौं ।

कुनै रिसइवी, वादविवाद, हुलदंगा, दोहोरो भिडन्त नभएको अवस्थामा एकाएक विनाकसुर गोली चलाई गम्भीर घाइते भएर छोडिएका दयारामलाई स्थानीयले जनकपुर अञ्चल अस्पतालमा पु¥याइ मानवियता प्रदर्शन गरे । त्यहाँ उनको प्रारम्भिक उपचार गरी अर्को दिन चैत्र १२ गते थप उपचारका लागि काठमाडौं लगियो ।

उपचारकै क्रममा २०६२ चैत्र १५ गते शुक्रबार दयाराम परियारको निधन भयो । मेरो भाइ निर्दोष हुँदा हुँदै प्रहरी जस्तो जिम्मेवार निकायका कर्मचारीले गोली हान्नु र घाइते भएका परियारलाई घटनास्थलमै छाडेर न्यूनतम मानवियता समेत नदेखाएर आफ्नो बाटो लाग्नु,  जनक चोकको अवस्था द्वन्द्वात्मक नभएको कुनै हुल–दंगा, भीडन्त नहुँदा नहुँदै पनि अन्धाधुन्ध गोली चलाएर मेरो निर्दोष भाइको हत्या गरिनुले मानवअधिकारको गम्भीर उल्लंघन र वर्तमान कानुन अनुसार ज्यान मार्ने उद्यममा संलग्न भएको हुनाले दोषी तत्कालीन प्रहरी निरीक्षक प्रकाशराज शर्मा नेतृत्वको टोलीलाई हदैसम्मको कारबाही गरी न्याय पाउने हाम्रो अधिकार सुरक्षित गरी अनाहकमा ज्यान गुमाउनु परेको पीडामा मल्हम लगाउने काम गरियोस् ।

नीज प्रकाशराज शर्मा र उनको टोली हत्यामा संलग्न भएको हुँदा उनीहरुको बढुवा, वृत्तिविकास र सेवा सुविधामा कटौती गरी, हदैसम्मको कारबाही गरी पीडित पक्षलाई न्यायको अनुभूति दिलाइ परिपूरण तथा क्षतिपूर्तिसमेत दिलाइयोस् ।


५. घटनासँग सम्वन्धित सबूद प्रमाण
(क) देख्नेः श्यामसुन्दर शसी, जनकपुर ।
(ख) सुन्नेः माधवराज गौतम
(ग) कागजः स्थलगत अनुसन्धानको रिपोर्ट, पोष्टमार्टमको रिपोर्ट, मानव अधिकार आयोगले प्रकाशन गरेका स्व. दयाराम परियार स्मारिका.... ।

(घ) तस्वीर
(घटनासँग सम्बन्धित विवरण राष्ट्रिय मानव अधिकार आयोगको धारणा, पत्रपत्रिकामा प्रकाशित समाचार, लेखलाई संग्रह गरी राष्ट्रिय मानव अधिकार आयोगले प्रकाशन गरेको स्व. दयाराम परियार स्मारिका घटनाससँग सम्बन्धित सबुत प्रमाणका रुपमा यही निवदेनका साथ पेश गरेको छु ।)

६. मानव अधिकारको गम्भीर उल्लंघन सम्वन्धी अन्य विवरणः
 
७. यस विषयमा अन्य कुनै निकायमा उजुरी गरेको भए गरेको निकाय र भएको कारवाहीको विवरणः
राष्ट्रिय मानव अधिकार आयोगले घटनास्थलको अवलोकन, अनुगमन, प्रत्यक्षदर्शी, मृतकको पोष्टमार्टम प्रतिवदेन समेतको सूक्ष्म रुपले विश्लेषणपछि राष्ट्रिय मानव अधिकार आयोगका तत्कालीन अध्यक्ष नयनबहादुर खत्रीको अध्यक्षतमा २०६२ चैत्र २० गते आयोगको बैठकबाट निम्नानुसार निर्णय भएको थियो ।

‘गोली, जनकपुरकै मुजेलियाबाट जिल्ला प्रहरी कार्यालयतर्फ आउँदै गरेको प्रहरीको डफ्फामा रहेका चार जना प्रहरीले चलाएको देखिन्छ । यसरी कारण विना नै चलाएको गोलीबाट हताहत हुँदासम्म उक्त टोलीका प्रमुख प्रहरी निरीक्षक प्रकाशराज शर्मा र उनको टोलीले के–कति क्षति भयो भन्ने कुराको जानकारी लिने र तत्काल उद्दार पु¥याउनेसम्म प्रयास गरेको देखिएन । गोली चलाइनुपर्ने अपरिहार्य अवस्था नदेखिएको अवस्थामा ज्यानै जानेगरी गोली चलाउनुका साथै मृतक र घाइतेको स्थिति जानी उद्दार गर्ने तुरुन्त प्रयास नगुर्न भनेको लापरवाही मात्र होइन, मानव अधिकार एवं मानवीय कानुनको घोर उल्लंघन हो तसर्थ राष्ट्रिय मानव अधिकार आयोग (उजुरी, कारबाही तथा क्षतिपूर्ति निर्धारण) नियमावली–२०५७ को नियम १७ वमोजिम मृतक रामचन्द्र यादव र दयाराम परियारका परिवारलाई जनही रु २ लाख ५० हजारका दरले क्षतिपूर्ति उपलब्ध गराउने र गोली चलाई ज्यान लिने प्रहरी कर्मचारीलाई फौजदारी अभियोगमा कारबाही चलाउन आवश्यक अनुसन्धान शुरु गर्न यस किसिमका घटना दोहोरिन नदिन प्रहरीले चाहिने शतर्कता अपनाउनका लागि आवश्यक व्यवस्था मिलाउन’ समेत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सिफारिस भएको थियो ।

मैले, जिल्ला प्रहरी कार्यालय काठमाडांैमा परिवारका तर्फबाट हत्याको घटनामा संलग्न प्रहरी निरीक्षक प्रकाशराज शर्मा सहितको टोलीलाई प्रतिवादी बनाइ कर्तब्य ज्यान मुद्धामा किटानी जाहेरी  दरखास्त २०६२ चैत १३ गते मुद्दा दर्ता नं. १६० मा दर्ता गराएकोमा अनुसन्धान जारी भइरहेको भन्दै कुनै कारबाही अघि बढाइएको छैन ।

यसैगरी, सम्मानित सर्वोच्च अदालतमा परिवारका तर्फबाट म प्रकाशचन्द्र परियार र अधिवक्ता रत्नबहादुर वाग्चन्दले सर्वोच्च अदालतमा रिट दायर गर्नु भएको र सर्वोच्च अदालतले अग्राधिकार सहित सरकारको नाममा परमादेश जारी गरेको थियो । तर, सरकारले आजसम्म घटनाका दोषीलाई कारबाही गर्नुको साटो तत्कालीन प्रहरी निरीक्षक रहेका शर्मालाई बढुवा गरी हाल प्रहरी उपरीक्षक (डीएसपी) बनाइ पुरस्कृत गरेर दण्डहिनतालाई प्रश्रय दिएको छ । राष्ट्रिय मानव अधिकार आयोगले सरकारलाई दयाराम परियार गोली काण्डका दोषिलाई गरिएको कारवाही शिफारिस बारे ताकेता पत्र पठाएको भन्ने सूचना आएको छ ।

८. माथि लेखिएको व्यहोरा ठीक सांचो छ । झुट्टा ठहरे कानुन बमोजिम सहुंला

उजुरीकर्ताको नामः प्रकाशचन्द्र परियार
दस्तखतः
मितिः २०७३ /०३/०२