समाचार

प्रवास र पराधिनता

राजनीति अनि समाजशास्त्रमा वर्गीय विश्लेषण अनि चेतनाले साह्रै ठूलो अर्थ राख्छ । प्रत्येक विचार, चिन्तनबाद, नीति  अनि दर्शनको मूल आधार नै समाजको वर्गीय स्वरूप हो भने त्यस्तो विश्लेषणको आधार चाहिँ शिक्षा अनि चेतनाभन्दा पनि मानिसमा निहित व्यैक्तिक स्वायत्त विचार सम्प्रेषण अनि स्वाधीनताप्रतिको आफ्नो चट्टानी अडान हो । तर हामी त्यसरी वर्गीय स्वरूप अनि यथार्थको पहिचान गर्ने काममा देशदेखि परदेशसम्म चुकेका छौं । तुलनात्मकरुपमा शिक्षा अनि सामाजिक चेतनाको अभाबमा निरङ्कुस राणाकालीन राज्य ब्यबस्था अनि एक दलीय पञ्चायती शासनकालमा आममानिसमा वर्गीय चेतना निक्कै कम थियो ।

तर त्यसपछिका राजनैतिक अनि सामाजिक परिवर्तनले नेपाली जनतामा वर्गीय चेतनाको मात्रा ह्यात्तै बढाई दियो तर तत्कालिक अर्धसामन्ती राज्य ब्यबस्थामा बिद्यमान रहेको बर्गीय समाजको यथार्थलाई बुझ्ने अनि अङ्गीकार गर्ने सवालमा परिवर्तनकामी शक्तिहरु बीचनै बुझाईको सवालमा बैचारिक बिभाजन देखा प¥यो । प्रत्येक सफल राजनैतिक आन्दोलन अनि परिवर्तन पछाडि परिवर्तनकारी राजनैतिक शक्ति सत्रु र मित्र छुट्याउने सवालमा पुरै चुक्यो ।

प्रजातान्त्रिक अनि बामपन्थी धारको संयुक्त शक्तिशाली गठबन्धनबाट सीर्जित राज्यसत्ता अनि निर्मित शासन अनि सत्ताको बागडोर सम्हालेको केही घण्टामै परिवर्तनका संबाहक अग्रगामी मित्र शक्तिलाई प्रमुख वर्गीय शत्रु घोषणा गर्ने गरिएको बिगतका प्रत्येक भूलहरुका पछाडि पुरातानिक दक्षिणपन्थी शक्तिहरु अनि केहि निहीत स्वार्थ भएका मित्र राष्ट्रहरुको नियत अनि अभिष्ट लुकेको थियो । रातो पुस्तक पढेर जबर्जस्ती बामपन्थी दर्शन र बिचारलाई कोरा अनि जडका रुपमा बुझेका राजनैतिक शक्तिहरुले वर्गीय समाज अनि वर्गीय चेतना र स्वार्थको सहाराले एकोहोरो आत्मकेन्द्रित आयातित राजनीति गरिरहे भने २००७ सात देखि २०४६ सालसम्मको परिवर्तनकारी राजनैतिक आन्दोलनको नेतृत्व गर्ने अहोभाग्य प्राप्त गरेको समाजवादी चिन्तक अनि दार्शनिक बीपी कोइरालाको गौरबशाली पार्टी नेपाली काँग्रेस र तिनका अनुयायीहरुले नेपाली समाजको वर्गीय चरित्रको नजरअन्दाज मात्र गरेन आफ्नो सामाजिक र बैचारिक वर्गको पक्षपोषण गर्ने अवसरहरुबाट पनि बञ्चित रहे ।

त्यस अर्थ र परिभाषामा नेपाली काँग्रेस उपल्ला वर्गको सामन्ति सोंच भएकाहरुको सेवा अनि पक्षपोषण गर्ने बैचारिक शक्ति बन्दै क्रमशः बैचारिकरुपमा दाहिने तर्फ कोल्टे फेर्न थाल्यो । मूल सार र आसयमा जे भए पनि लामो भारत प्रवासपछि नेपाल फर्किएका बीपी कोइरालाको स्वदेश आगमनले उनले अङ्गीकार गरेको तत्कालिक मेलमिलापको रणनीतिले त्यहि आसयलाई आमरुपमा पुनर्पुष्टि ग¥यो । बर्गीयरुपमा तात्कालिक उपल्ला अभिजात्य वर्गका नजिक रहेका काँग्रेसीजन र नेताहरुले बीपीको तत्कालिक रणनीतिलाई बुझेर पनि आफ्नो स्वार्थका लागि गलतरुपले सम्प्रेषण गर्न लागि परे । त्यो राजनैतिक संक्रमणकालमा बीपीलाई फाँसी दिईनु पर्छ भनेर लागि परेका पञ्चायतकालिन कालखण्डका थुप्रै शासक अनि प्रशासकहरु काँग्रेसमा प्रवेश गर्दै नेतृत्व नेतृत्व हात पार्न समेत सक्षम भएको प्रसंग अब इतिहास बनेको छ ।

हामीले वर्गीय चेतनाका अभाबले वर्गीय समाज अनि स्वार्थ ब्यबहारिकरुपले नबुझ्दा त्यहि स्वार्थी व्यक्ति, जत्था अनि आममनोवृत्तिले एकताका नेकपा (एमाले) हुँदै पछिल्लो समयमा एकीकृत माओबादीसम्म पनि त्यहि चरित्रले पुनरावृत्ति पायो । राज्य सत्ता अनि शासकीय स्वरूपमा आम अनि आमुल परिवर्तन भयो तर तिनै विचारमा जड र पुरातनवाद भएका पुराना कर्मकाण्डी मानिसहरु नयाँ शासकका रुपमा गणतान्त्रिक बादशाह बनेर नयाँ रुप, आवरण अनि रंगमा हामीलाई शासन गर्ने अगाडि आए । चाहे त्यो पहिलो जनआन्दोलनको सफलतापछिको सूर्यबहादुर थापा अनि लोकेन्द्रबहादुर चन्दको राजनैतिक कालखण्ड होस अथवा ज्ञानेन्द्र शाहको पाला भित्र्याइएका किर्तिनिधि बिष्ट र तुलसी गिरी हुन् अथवा रायमाझी आयोगले कारवाहीको सिफारिस गरेका वर्तमान संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालका उपप्रधानमन्त्री कमल थापा होस् ।
नेपाली राजनैतिक दल र तिनका नेताहरुमा मात्र होइन हामी आमनेपालीमा रहेको पुरातानिक सोंच, पाखण्ड अनि हामीले अङ्गीकार गर्ने गरेको दोहोरो मापदण्डनै हाम्रो समस्याको मुल जड अनि चुरो हो ।

हामी विचार, जात, धर्म, सम्प्रदाय, लिङ्ग अनि वर्णको नाममा अहिले उपल्लो स्तरमा विभाजित छौं किनकी अब हामीले हामीले भोगेको अनि अहिले बाँचेको समाजको वर्गीय चेत, बुझाई अनि यथार्थलाई तिलाञ्जली दिएका छौं । हामी बाँचेको वर्गीय समाज नबुझेको अथवा बुझेर बुझ पचाएको कारणले नै यी र यस्ता सतही उन्मादहरुले हाम्रो समाजमा हलचल ल्याउने गरेको छ । चेतना, शिक्षा अनि जागरणका आयामिक आन्दोलनहरुले अहिले हामी रंग छुट्याउन सक्नेसम्म त भएका छौं तर स्वाधीन र स्वतन्त्र बन्दै लागेको कुरा बोल्ने अनि देखेको भन्ने अझै भईसकेका छैनौं । मुलुकमा दासत्वमोचन भएको, कमैया प्रथाको अन्त भएको, छुवाछुतलाई मुलुकी ऐनले बन्देज गरेको अनि हामी कहिल्यै कसैको उपनिवेश या अधिनमा नबसेको भनिए पनि यथार्थमा हामी सामाजिक अनि धार्मिक कर्मकाण्डी पुरातनका कारण लाचार औपनिवेशिक मनोदशामा दास जीवन बाँचेका छौं । त्यो राज्य, विधिविधान, ऐन या कुनै अमुक केन्द्रको निर्देशनमा होइन हामी आफ्नै रुचीमा आधुनिक दास बनेर रमाईरहेका छौं ।

अमेरिकी प्रवास अहिले यी र यावत जीर्ण रोगहरुबाट संक्रमित छ । नेपालमा गुट र फुटमा रमाएको ठूला पार्टीका भात्री संगठनहरु अहिले यो सम्भावनायुक्त प्रवासलाई विचार र गुटका आधारमा बिखन्डन गर्न लागिपरेको छ । उताको विचारमा रमाएका ति अमुक बादशाहहरुको निर्देशनमा त्यस्तो दलगत राजनीति कहिले पत्रकारको संगठनमा घुसाईन्छ त कहिले आमप्रवासी नेपालीहरुको साझा संगठन एनआरएनमा खुलेआम ‘काब्जा’को उद्घोषणमा प्रवेश हुन्छ ।  विचार र राजनीतिबाट कुनै पनि चेतनशील अनि शिक्षित मानिस निरपेक्ष हुन सक्दैन तर उताकै विचार र गुटको आधारमा प्रवासको सपना, बसाई अनि सम्भावनाहरुलाई ओझेल पार्ने गरि गुटबन्दीको बिजारोपण गर्नु भनेको समाज बिखन्डन गर्नु नै हो । अहिले लेख्दा अथवा बोल्दा तितो जस्तो सुनिए पनि अब यो सत्य आमप्रवासीहरुले अनुभूत अनि महसुस गर्न थालेका छन ।

नेपाली काँग्रेसको घोषित भात्री संगठन नेपाली जनसम्पर्क समिति आफूलाई अमेरिका भरिकै धेरै च्याप्टरहरु भएको भात्री संगठन ठान्दछ तर बीपी जन्मजयन्तीको दिन ‘बीपीको सपना साकार पार्छौं’ भनेर एक दुई कोठे बैठक अनि आआफूबीच अन्तरक्रिया गर्नु बाहेक समाजवादी नेता बीपीको समाजवादले परिकल्पना गरेको न्यायपूर्ण राज्य ब्यबस्था, श्रमजिवी वर्गको पक्षपोषण, आर्थिक तथा सामाजिक न्याय, राष्ट्र अनि राज्यमा गरिब अनि किसानवर्गको पहुँच, धर्म निरपेक्षताजस्ता बिषयमा यो प्रवासमा चुईक्क बोल्ने गरेको छैन । अमेरिकी प्रवासमा हुने कुनै पनि खाले सामाजिक अथवा न्यायिक आन्दोलनमा उनीहरुको रुचि पटक्कै छैन ।  त्यहि मियोमा नेकपा (एमाले) को अघोषित भात्री संगठन प्रवासी नेपाली मञ्च पनि अहिले त्यहि बिखण्डनकारी भूमिका निर्वाह गर्दै दाई काँग्रेसको बाटो पछ्याउँदै शाखा बिस्तारमा लागेको छ । समाजवादी चिन्तक पुष्पलाल श्रेष्ठले स्थापना गरेको अनि जनताको बहुदलीय जनबादको परिमार्जित व्याख्याले मदन भण्डारीले पुनर्जीवन दिएको त्यस पार्टीका प्रवास निर्मित स्थानीय नेता अनि कार्यकर्ताहरुमा पनि सामाजिक अनि आर्थिक न्यायका लागि अमेरिकामा हुने आन्दोलनमा कत्ति पनि रुचि छैन बरु एमालेलाई यति करोड चुनाब खर्च पठायौं अनि नेता आउँदा यति हजार डलर उठाएर उपचार गराई दियौं भन्ने बाहेकका ‘रिपोर्ट कार्ड’ उनीहरुसँग पनि छैन । सामाजिक न्याय अनि जनजीविकाको लोकप्रिय मुद्दालाई उरालेर नेपाली राजनीतिमा मझौला प्रभाब अनि उपस्थिति देखाउन सक्षम एमाले माउका प्रवासस्थित बैचारिक चल्लाहरु ति र त्यता मुद्दाहरुबाट पूर्णरुपमा बिमुख बनेका छन ।

प्रवासमा भात्री संगठन खुल्ने फेसन अहिले द्रुत गतिमा अघि बढेको छ । सक्रिय राजतन्त्र अनि हिन्दु अधिराज्यको अन्तरिक गुह्य अनि अभिष्ट राखेर सानो–तिनो आयतनमै भए पनि अस्तित्वमा रहेको प्रवासी नेपाली एकता समाजले पनि आफ्नो अघोषित भित्री नीति अनि अभिष्ट मिल्ने मान्छे उपप्रधानमन्त्री कमल थापा वर्तमान सत्तामा भएको बखतको सुयोग अनि संयोग पारेर अमेरिकी प्रवासमा राष्ट्रिय प्रजातान्त्रिक पार्टीको भात्री संगठनको हैसियतको औपचारिक घोषणा गरेको छ । सन १९९० को उत्तरार्धपछि स्वस्फुर्तरुपमा अमेरिकी प्रवासमा आएका सचेत, स्वाधीन, शिक्षित अनि नयाँ पुस्तामा उनीहरुको प्रभाब अनि पहुँच नभए पनि बिगतको एकदलीय तानाशाहीकालिन राज्य ब्यबस्था अनि कालखण्डमा उनीहरुको कृपा र निगाहले अमेरिका आएर स्थापित भएकाहरुले यो भात्री संगठनलाई ‘एलिट क्लब’ का रुपमा स्थापना गरेका थिए र अबको उनीहरुको सामाजिक हैसियत पनि त्यहाँ भन्दामाथि जाने सम्भावना छैन ।

प्रवासी नेपालीहरुको बाक्लो आवादी अनि संख्या भएको न्यूयोर्र्क सहर र अनि अन्य केहि ठूला साना सहर अनि क्षत्रहरुमा अहिले पछिल्लो चरणमा पहिचानको सवाल र मुद्दालाई बहाना बनाएर ठूला पार्टीहरुबाट टुक्रिएर अनि मधेसवादी दलसँग जोडिएर बनेको संघीय समाजवादी पार्टी र तिनका जनजाति नेताहरुको नजर पर्न थालेको छ । बिशेष गरी संघीयता र धर्मनिरपेक्षताको सवालमा काँग्रेस र एमालेबाट टाढा रहेको जनजातिको ठूलो हिस्सालाई आफ्नो पक्षमा आकर्षित गर्न संघीय समाजवादीका नेता राजेन्द्र श्रेष्ठ पनि अमेरिकाको दौडाहमा आएर केहि च्याप्टरहरुको औपचारिक गठन गरेर नेपाल फर्किएका छन । क्षमाशिल महान् नेपाली जनताको उदारताले जंगलबाट सोझैं सिंहदरबारमा राज्य गर्ने स्वर्णीम अवसर पाएको माओबादी अझै पनि एक्काइसौं शताब्दीको सोच अनि चेतनालाई सम्बोधन गर्न सक्ने पार्टीको हैसियत नभई सकेको अवस्थामा त्यसका बारेमा धेरै शब्द खर्च गर्ने गरी लेखी राख्न जरुरी छैन । त्यसको वर्तमान हालत अनि अबिगत हामीले नजिकबाट देखिसकेकै छौं ।    

उताका माउ पार्टीहरुले प्रवासमा रहेका आआफ्नो बैचारिक बोली अनि विचार बोल्ने कार्यकर्ताहरुलाई निरन्तर पार्टी पक्तिमा राख्न पार्टीगत उद्देश्यले प्रवासमा पार्टी संगठन विस्तार गर्नु कुनै पनि कोणबाट नाजायज लाग्दैन तर, पहिलो पुस्ताको गह्रौं भारी बोक्दै शारीरिक श्रम, पारिवारिक दायित्व अनि अन्य काममा अस्तव्यस्त प्रवासी नेपालीहरुले किन र कसरी त्यस्तो थप राजनैतिक भारी बोक्न तयार हुन्छन त्यो हाम्रै लागि गहन अन्वेषण अनि खोजीको विषय बन्ने गरेको छ । करिब दुई दशक अमेरिकी प्रवासमा बसेर अलिकति अधिकार कर्म गर्दै अहिले सञ्चारकर्ममा लागेको म जस्ता मान्छेहरुको लागि पनि यो बुझि नसक्नुको बिषय भएको छ । उताको माउ पार्टीको भात्री संगठनको जिम्मेवारी लिने अधिकांश मानिसहरुमा यता प्रवासको राजनीतिको त कुरै नगरौं नेपाल र आफूले भारी बोकेको माउ पार्टीको नीति अनि कार्यक्रमहरुका बारेमा समेत यथेष्ट ज्ञान छैन ।      

जबसम्म हामी दशकौं बसेको यो प्रवासी मूलधारको समाज र राजनीतिमा आफ्नो सहभागिता, रुचि र औकात राख्दैनौं तबसम्म उता पानी पर्दा यता दलगत छाता ओढ्ने संस्कारले हामी बाँचेको जीवन र जगतलाई केहि अर्थ राख्दैन । उताका नेतालाई रिझाउने अनि पार्टीलाई दाम चढाएर खुसी पार्ने यस्ता खाले राजनीतिको आयु भनेको अबको केहि वर्ष मात्र हो । आफ्नो परिवार अनि भाबी पुस्ताले अनुमोदन नगर्ने यस्ता प्रत्युत्पादक कर्मले कुनै फलदायी सामाजिक उत्प्रेरणा दिँदैन । आफ्नो घर अनि छोरा–छोरीबाटै तिरस्कृत भईने यस्ता अनुत्पादक कामको आमप्रवासी नेपाली समाजबाट अनुमोदन खोज्नु जस्तो मुर्खता केहि हुँदैन ।
मलाई कहिलेकसो सभा–समारोहहरुमा ति भात्री संगठनमा स्थानीय नेताहरुले बोलेको सुनेर अचम्म लाग्छ, अमेरिकी प्रवासमा आफ्ना उर्जाशील श्रमिक जीवनको दशकौं बिताएकाहरुसँग सम्भावनायुक्त यो प्रवासी समाज अनि नयाँ पुस्तालाई अभिप्रेरणा दिने दुई शब्द कहिल्यै उनको मुखार बिन्दबाट निस्कदैन ।

ठाउँ कूठाउँ उनीहरु कुर्ली रहेको सुनिन्छ ‘म त नेपाली काँग्रेसको सिपाही’ अनि ‘म त एमालेको इमान्दार कार्यकर्ता’ आदि इत्यादी तर अमेरिकी निर्वाचनहरुको तिथि मितिको आसपासमा उनीहरुबाट कहीकतै रिपब्लिकन पार्टी, डेमोक्रेटिक पार्टी, हिलारी क्लिन्टन, बर्नी सान्डर्स, डोनाल्ड ट्रम्प अथवा टड क्रुजको नाम लिएको सुनिँदैन । लाग्छ उनीहरु अमेरिकामा होइन माथि आकाशको कुनै ओजोन तहमा बस्छन । त्यसैले उनीहरुको जीवन अनि जगतलाई सहर, राज्य अनि क्यापिटल हलमा हुने नयाँ बिधेयक, कानुन अथवा राष्ट्रपतिय घोषणाहरुले कुनै अर्थ राख्दैन । दुनियाँमा कहीँ नभएको पुरातानिक चलन अनि संस्कार छ हाम्रो नेपालमा, अनि यहाँ प्रवासी नेपाली समाजमा ‘जन्मजात कांग्रेस’, ‘आजीवन एमाले’ अनि ‘पुख्र्यौली राजावादी’ !    


नेपाल डे परेडमा अचानक भेट भएका अमेरिकी मुलधार राजनीतिमा उज्वल सम्भावना बोकेर उदाएका नेपाली अमेरिकी ह्यारी (एचबी) भण्डारी यहि सवालमा मलाई भन्दै थिए ‘शैलेशजी, तपाई जति भन्नुस अथवा लेख्नुस उनीहरु परिवर्तन हुँदैनन् किनकी उनीहरुको डीएनए मै त्यस्तो छ जो जे छ त्यसैमा रमाउँछ, न उ नयाँ कुरा सिक्छ न पढेका, बुझेकाहरुको कुरा नै सुन्छ । उनीहरुलाई त्यसरी नै रमाउन दिनुस्, उनीहरुले गरेको नेपाल केन्द्रित राजनीतिको आयू अबको केहि वर्ष मात्र हो, अबको केहि कार्यकालपछि उनीहरुको भात्री संगठनले नेतृत्व लिने मान्छे समेत पाउँदैनन् किनकी अबको पुस्ताले जे गर्न हो यहीँको समाजका लागि गर्छ । के तपाईको छोरीले उताको पार्टीको राजनीति गर्छ ?’

मैले उनलाई प्रति प्रश्न गरेँ ‘उसो भए अमेरिकी समाज र मूलधारको राजनीतिमा लाग्नु पर्छ भन्ने विचार सम्प्रेषण गरेर मैले मेरो समय र उर्जा खेर फालिरहेको छु त ?’ उनले मलाई आस्वस्त पार्दै भने ‘हैन शैलेशजी कहीँ न कहीँ कतै न कतै कसैले त यो अरुले नगरेको छुच्चो काम सुरु गर्नु पर्ने नै थियो यो चेतनाको अभियान तपाईंले साहासका साथ सुरु गर्नु भएको छ, नठान्नुस तपाई एक्लो हुनुहुन्छ यो अभियानले उपल्लो परिबेग सिर्जना गरेको छ ।’  उनीसँग छुट्टिएर सेभेन ट्रेनको डिब्बाभित्र बसे पछि उनका भनाइहरुलाई सम्झँदै मनमनै थप दृढ संकल्पहरु गरेँ ‘मनको आदेश’मा सबै खाले दासताहरुका बिरुद्ध निरन्तर बोलिरहन्छु अनि लेखिरहन्छु ।