समाचार

एसएलसीको ग्रेडिङ नतिजा आज, ११ कक्षा पढ्नलाई न्यूनतम मापदण्ड यस्तो

काठमाडौं । प्रवेशिका परीक्षा (एसएलसी)को नतिजा बिहीबार दिउँसो सार्वजनिक हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले परीक्षाफल सार्वजनिकको सबै तयारी लगभग पूरा भइसकेको जनाएको छ । परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले नतिजा बिहीबार दिउँसो २ बजेसम्म परीक्षाफल सार्वजनिक गर्ने तयारी गरेको बताए । नतिजा विगतको जस्तो फेल, पास र श्रेणी छुट्याएर आउने छैन ।

विद्यार्थीको सिकाई कुन समूहमा छ भनेर बर्गिकरण गरिएको छ । परीक्षा नियन्त्रण कार्यालयले ए प्लस, ए, बी प्लस, बी, सी प्लस, सी, डी प्लस, डी र ई समूहमा छुट्याएर नतिजा सार्वजनिक गर्दैछ ।

२०७२ चैत १८ गतेदेखि २९ गतेसम्म एसएलसी परीक्षा चलेको थियो । देशभर १ हजार ४ सय ४३ परीक्षा केन्द्रबाट जम्मा ६ लाख १५ हजार ५ सय ५३ विद्यार्थी एसएलसीमा सहभागी भएका थिए ।

 

विद्यार्थीले ११ कक्षामा विषय रोज्ने मापदण्ड यस्तो
 
एसएलसीमा विद्यार्थीले ल्याएको ग्रेडको आधारमा ११ कक्षामा भर्ना हुन पाउने व्यवस्था गरिएको छ । उच्च माध्यमिक शिक्षा परिषद्का अनुसार ग्रेडिङका आधारमा विद्यार्थीले ११ कक्षामा विषय छनौट गर्न सक्नेछन् ।

परिषदका अनुसार ११ कक्षामा विज्ञान विषय अन्तर्गत भौतिक, रसायन, जीव विज्ञान, गणित कम्प्यूटर साइन्स पढ्न एसएलसीमा विज्ञान र गणित विषयमा सी प्लसका साथै अंग्रेजीमा सी, सामाजिक र नेपालीमा डी प्लस ल्याउनुपर्नेछ ।

प्राविधिकतर्फ जीव विज्ञान, वनस्पति विज्ञान, इलेक्ट्रोनिक इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ र कम्प्यूटर इन्जिनियरिङको लागि विज्ञान, गणित र अंग्रेजीमा सी, सामाजिक र नेपालीमा डी प्लस अनिवार्य ल्याउनुपर्नेछ ।

त्यस्तै गणित लेखा, अर्थशास्त्र, कम्प्यूटर साइन्स, टिचिङ, म्याथमेटिक्स, इलिमेन्टस अफ फाइनान्स, ज्योतिष, बिजनेस म्याथमेटिक्स, को–अपरेटिभ म्यानेजमेन्ट, बिजनेस स्टडिज, जियोग्राफी र साइकोलोजी पढ्न गणित विषयमा सी, अंग्रेजी, नेपाली, सामाजिक र विज्ञानमा डी प्लस ल्याउनुपर्नेछ ।

यस्तै फिजिक्स एजुकेशन, केमेस्ट्री एजुकेसन, वायोलोजी एजुकेसन र टिचिङ साइन्सको लागि विज्ञान र गणितमा सी तथा अंग्रेजी, नेपाली र सामाजिकमा डी प्लस अनिवार्य ल्याउनुपर्नेछ । अंग्रेजी, अल्टरनेटिभ अंग्रेजी, टिचिङ अंग्रेजी र लिङगुस्टिक्स पढ्न अंग्रेजीमा अनिवार्य सी, नेपाली र सामाजिकमा डी प्लस आवश्यक पर्छ ।

मास कम्युनिकेसन, होटल म्यानेजमेन्ट, ट्राभल एण्ड टुरिजमका लागि अंग्रेजीमा सी, नेपाली, गणित र सामाजिकमा डी प्लस ल्याउदा पनि पढ्ना पाइने व्यवस्था छ ।
नेपाली र टिचिङ नेपाली पढ्नको लागि नेपालीमा सी, अंग्रेजी र सामाजिकमा डी प्लस ल्याउनुपर्छ । पोलिटिकल साइन्स, इतिहास, संस्कृति, गृह विज्ञान, समाजशास्त्र, दर्शनशास्त्र, लाइब्रेरी र इन्फरमेसन साइन्सको लागि सामाजिक विषयमा सी तथा नेपाली र अंग्रेजीमा डी प्लस आवश्यक पर्ने उच्च माध्यमिक शिक्षा परिषद्ले जनाएको छ ।

यसैगरी इन्ट्रोडक्सन टु एजुकेशन, इन्स्ट्रक्सनल पेडागोजी, स्वास्थ्य तथा शारीरिक शिक्षा, जनसंख्या शिक्षा र वातावरण शिक्षाको लागि जनसंख्या तथा स्वास्थ्य शारीरिक शिक्षामा सी, नेपाली, अंग्रेजी र विज्ञान विषयमा डी प्लस ल्याउनुपर्छ ।

ह्युमन भ्यालु एजुकेसन, जनरल ल, संस्कृत व्याकरण, साहित्य, न्याय, वेद, नीति शास्त्र, बुद्ध एजुकेशनका लागि नेपाली, अंग्रेजी र सामाजिक विषयमा डी प्लस ल्याउनुपर्छ । विद्यार्थीले ल्याएको ग्रेडिङको आधारमा नै ११ कक्षामा यी विषय अध्ययन गर्न पाउने व्यवस्था गरिएको परिषद्ले जनाएको छ ।