समाचार

के गर्दैछन् उपराष्ट्रपति चीनमा ?

काठमाडौं । चीनको साताव्यापी औपचारिक भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले मंगलबार यून्नान प्रान्तको स्वशासित क्षेत्र शी श्वाङ पान्ना पुग्नु भएको छ । मंगलबार विहान चाइना ईस्टर्नको उडानबाट कुन्मिङबाट शी श्वाङ पान्नाको चोङ होङ कासा अन्तर्राष्ट्रिय विमान स्थलमा ओर्लादा उनलाई शी श्वाङ पान्ना स्वशासित क्षेत्रका उपगभर्नरले स्वागत गरेका थिए ।

उपराष्ट्रपतिले शी श्वाङ पान्ना पुगेपछि जंगली हात्तिहरु रहेको जंगी हात्ति उपत्यका फरेष्ट पार्कको भ्रमण गरे । त्यसक्रममा उनले एशियाली हात्ति संग्राहलयको पनि अवलोकन गरे ।

चीनको एकमात्र हात्ति पार्कमा वार्षिक १५ लाख पर्यटकले भ्रमण गर्ने गरेको व्यवस्थापन पक्षले जनाएको छ । मंगलबार साँझ उपराष्ट्रपति शी श्वाङ पान्ना स्वाशसित क्षेत्रको कम्युनिस्ट पार्टी र पिपुल्स गभरमेन्टले दिएको वेलकम भोजमा सहभागी भए ।
उनले उक्त कार्यक्रमलाई संबोधन गर्दै नेपाली चीन सम्बन्ध ऐतिहाँसिक उचाईमा पुगेको बताए ।

उनले भृकुटि, अरनीकोहरुले सुरु गरेको नेपाल चीन सम्बन्ध अहिले नङ र मासुको जस्तो बन्दै गएको बताए । त्यस अवसरमा उनले शी श्वाङ पान्ना स्वर्गको टुक्रा जस्तो रहेको बताए । स्वागत कार्यक्रममा त्यहाँका आदिवासी जनजातिको पहिचान झल्कने गरी कलाकारहरुले आफ्नो प्रस्तुति पस्केका थिए ।