समाचार

बल्झिदै युद्धकालीन घटना

काठमाडौं । तत्कालीन माओवादी युद्धकालमा भएको घटनाका सम्बन्धमा सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानबिन आयोगमा दिएको उजुरीले समस्या झनै बल्झाउने देखिएको छ । शान्ति प्रक्रियामा आएको झण्डै एक दशकपछि द्वन्द्वकालीन घटनाका सम्बन्धमा आयोगले उजुरी लिन शुरु गरेपछि युद्धकालीन घटना झनै बल्झिने सम्भावना बढेको छ ।
द्वन्द्वकालीन घटनालाई सत्यनिरुपण तथा मेलमिलाप आयोगबाटै निरुपण गर्ने भनी सहमति भए पनि दलहरुले चासो नदिँदा लामो समयसम्म आयोगले पूर्णतासमेत पाउन सकेको थिएन । सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको पूर्णतापछि हालै दुबै आयोगले द्वन्द्वकालका घटनाका सम्बन्धमा उजुरी माग गरेपछि देशैभरी द्वन्द्वपीडित परिवारले उजुरी दिइरहेका छन् ।
द्वन्द्वकालका घटनाका सम्बन्धमा किटानीका साथ उजुरी दिन सक्ने आयोगले बताएपछि पीडितले पूर्वराजा ज्ञानेन्द्रदेखि माओवादी नै परित्याग गरी नयाँ शक्तिमा लागेका डा.बाबुराम भट्टराई तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सम्मलाई दोषी भन्दै किटानीका साथ उजुरी दिएका छन् ।
पीडितले पूर्वराजा ज्ञानेन्द्र, प्रधानमन्त्री तथा एमाले अध्यक्ष खड्गप्रसाद ओली, पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायत दर्जनौं नेताहरुविरुद्ध उजुरी परेको छ ।
यस्तै, नेपाली सेनाका तत्कालिन प्रधानसेनापतिदेखि प्रहरी अधिकारीहरुविरुद्ध पनि आयोगमा उजुरी परेका छन् । द्वन्द्वकालका घटनालाई मेलमिलापको माध्यामबाट निरुपण गर्ने भनिएपनि एकपछि अर्को नेतालाई किटानीका साथ उजुरी दिइएको छ । यसले पीडित र पीडकबीच मेलमिलाप भन्दा दूरी बढाउने सम्भावना देखिएको छ ।

बस्नेतले दिए १६ जनाविरुद्ध उजुरी
आयोगमा उजुरी दिने क्रमसँगै झापाका भिमबहादुर बस्नेतले सोमवार १६ जनाविरुद्ध बेपत्ता छानबिन आयोगमा उजुरी दिएका छन् । आफ्ना दुई छोराहरुलाई वेपत्ता पार्ने काममा संलग्न भएको भन्दै झापाका भिमबहादुर बस्नेतले प्रधानमन्त्री ओलीसहित १६ जनाविरुद्ध आयोगमा उजुरी गरेका छन् ।
प्रधानमन्त्री ओलीकै गृहजिल्ला झापाको दमक नगरपालिका–१ का बस्नेतका छोराहरु पुष्प र धिरेन्द्र १० वर्षे सशस्त्र युद्धकालमा काठमाडौंबाट वेपत्ता भएका थिए । पुष्पलाई काठमाडौंको कालिमाटीबाट र धिरेन्द्रलाई कलंकीबाट तत्कालीन शाही नेपाली सेनाले पक्राउ गरेर वेपत्ता पारेको उजुरीमा उल्लेख छ । उनीहरुलाई भैरवनाथ गणमा यातना दिएर राखिएको र पछि वेपत्ता पारेको पीडितको भनाइ छ ।

उनले बेपत्ता पार्ने काममा संलग्न भएको भन्दै पूर्वराजा ज्ञानेन्द्रसहित दिवगंत पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाविरुद्ध पनि उजुरी दिएका छन् ।
प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा, कांग्रेस नेता रामचन्द्र पौडेल, एमाले नेता माधवकुमार नेपाल र राप्रपा नेपालका अध्यक्ष एवम् हालका उपप्रधानमन्त्री कमल थापाविरुद्ध उजुरी पनि उजुरी दिइएको छ ।
यसैगरी तत्कालिन प्रधानसेनापति प्याराजंग थापा, तत्कालिन रक्षा सचिव, तत्कालिन गृहसचिवद्वय अनन्तराज शर्मा र चण्डिप्रसाद श्रेष्ठ, तत्कालिन प्रहरी महानिरिक्षक श्यामभक्त थापा, भैरवनाथ गणका तत्कालीन गणपति राजु बस्नेत, तत्कालीन मेजर विवेक विष्ट, तत्कालीन क्याप्टेन इन्दिवर राणा र तत्कालिन सैन्य गुप्तचर विभाग प्रमुख दीलिप रायमाझीविरुद्ध पनि उजुरी परेको छ ।
पुष्पराजलाई २०६० साल मंसिर १९ गते दिउँसो कालीमाटीबाट र धिरेन्द्रलाई २०६० साल मंसिर २८ बिहान कलंकीबाट भैरवनाथ गणबाट आएका सेनाले नियन्त्रणमा लिएर वेपत्ता पारेको बस्नेतले जनाएका छन् ।
संयुक्त राष्ट्रसंघीय मानवअधिकार उच्च आयुक्तको कार्यालय र राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमा समेत पुष्प र धिरेन्द्रलाई राज्यपक्षबाट जबर्जस्ती वेपत्ता पारिएको उल्लेख छ । आमा चन्द्रकुमारी बस्नेतले २०६२ भदौ ७ गते बन्दी प्रत्यक्षीकरणको रिट अदालतमा हालेकी थिइन् । अदालतले पनि राज्यपक्षले उनीहरुलाई वेपत्ता पारेको ठहर गर्दै राहत तथा क्षतिपूर्ति दिन आदेश दिएको थियो ।