समाचार

नयाँ शक्ति भेला, प्रतिनिधि छनोटमै विवाद

काठमाडौं ।  पूर्व माओवादी नेता डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपाल पार्टी घोषणा गरिएको भोलिपल्टै विवाद देखिएको छ । पार्टी घोषणापछि सोमवारदेखि शुरु भएको छलफल सत्रमा प्रतिनिधि ब्यवस्थापन गर्न नसक्दा कचिङ्गल भएको हो ।  
एक लाख बढीले पार्टी सदस्यता आवेदन भरेको आधारमा प्रतिनिधि छनोट गरिएको भनिए पनि प्रतिनिधि ब्यवस्थापन हुन नसक्दा प्रतिनिधि संख्यासमेत अनिश्चित छ ।
शनिबार नयाँ शक्तिमा प्रवेश गरेको परशुराम तामाङ नेतृत्वको संघीय जनमुक्ति पार्टीका कार्यकर्ताले प्रतिनिधिका बारेमा असुन्तुष्टी जनाएका थिए । प्रतिनिधि विवादकै कारण दुई घण्टा ढिला गरी छलफल सत्र शुरु गरिएको थियो । छलफल सत्र शुरु भएलगत्तै तामाङले धारणा राखेका थिए ।
कमलादीथित प्रज्ञाभवनमा भएको छलफलपत्रमा राजनीतिक, सांगठनिक तथा आर्थिकत गरी तीन छुट्टछुट्टै प्रतिवेदन पेश गरिएको छ । पार्टी संयोजक भट्टराईले राजनीतिक प्रतिवेदन, संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले सांगठनिक प्रतिवेदन र आर्थिक विभाग प्रमुख रामेश्वर खनालले आर्थिक प्रतिवेदन पेश गरेका छन् । तीन वटै प्रतिवेदनमाथि समूहगत छलफलपछि पारित गरिने पार्टी प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए ।
संयोजक डा. भट्टराईले संक्षिप्त रुपमा प्रस्तुत गरिएका तीनवटै प्रतिवेदनहरु पूर्ण नरहेको भन्दै साधारण सदस्य र विज्ञहरुबाट सुझाव लिएर मात्र त्यसलाई पूर्णता दिइने बताए ।
संगठन विभाग प्रमुख पौडेलले पेश गरेको सांगठनिक प्रतिवेदनमा नयाँ शक्तिलाई दुई वर्षभित्र मुलुकको सबैभन्दा ठूलो पार्टी बनाइने दाबी गरिएको छ ।
यस्तै, आर्थिक विभाग प्रमुख रामेश्वर खनालले मुलुकमा जनताले अनुभव गर्ने आर्थिक समृद्धि सम्भव रहेको तर त्यसका लागि सार्वजनिक संस्थाहरुको क्षमता बढाउन आवश्यक रहेको बताएका छन् ।
सार्वजनिक संस्थाहरु कमजोर बनेका कारण सरकारले विनियोजित पूँजीगत बजेट पनि खर्च गर्न नसक्ने अवस्था निम्तिएको भन्दै उनले समृद्धिका लागि सार्वजनिक संस्थाको क्षमता अभिवृद्धिसँगै सुशासनलाई प्रबद्र्धन गर्न पनि आवश्यक रहेको बताए ।
बन्दसत्रमा ७५ जिल्ला संयोजक, ६३ जिल्ला काठमाडौँ सम्पर्क समितिका संयोजक, २ सय ४० निर्वाचन क्षेत्र संयोजक, ५ सय सदस्य बराबर एक, तथा एक हजारभन्दा बढी सदस्यबाट तीन प्रतिनिधिको दरले सहभागिता रहने उल्लेख गरे पनि प्रनिधिति नियन्त्रण गर्न नसकेपछि छलफलसत्र नाम दिइएको थियो ।