समाचार

बेनीमा बाढीको वितण्डा, १ सय बढी घर जलमग्न

म्याग्दी । म्याग्दी सदरमुकाम बेनी बजारमा शनिबार राती आएको बाढीले एक सय भन्दा बढी घर तथा पसलमा क्षत्ती पु¥याएको छ । बस्ती माथिको पाखोमा रहेको खोल्साबाट राती ११ बजेतिर आएको बाढी क्याम्पसचोक र मंगलाघाटका घरभित्र पसेको हो । लेदो र ढुङ्गा सहितको बाढी घर–घरमा पसेपछि रातीको समयमा स्थानीयको विचल्ली भएको थियो ।

बेनी पाखापानी सडकको आँपरुख खण्डबाट आएको बाढीले निकास पाउन नसकेपछि बजारका घरहरु डुवानमा परेका हुन् । क्याम्पसचोकमा आएको बाढीले शिक्षामार्ग, पिपलचोक, गणेशटोल, संगमचोक र न्युरोडको हुलाकचोक बैंक चोक सम्मका घरहरु प्रभावित भएका छन् ।  

मंगलाघाटको साईबाबा मन्दिर र तल्लो बजार क्षेत्रका घरहरुमा पनि बाढी पसेको छ । खाद्यान्न, तरकारी, कपडा, सुनचाँदी, मोवाईल, हार्डवयर, मासु पसलका सामान बाढीले भिजेर नष्ट भएको स्थानीयले बताएका छन् । बाढीको त्रासका कारण बेनी बजारका बासिन्दाहरु रातभर जाग्राम बसे । घरअगाडीको सडकमा करिब डेढ मिटर माथिसम्म बाढी थुप्रिएको छ । राती करिब दुई घण्टा लगातार परेको भीषण बर्षासंगै आएको बाढीले पु¥याएको क्षत्ती विवरण आईतबार बिहानदेखि संकलन गरिने प्रहरी निरिक्षक लोकन्द्र सिङ गुरुले बताउनुभयो ।

क्याम्पसचोकमा यसअघि वि.स २०६३, २०६९ र २०७२ असार ३० गते पनि बाढी पसेको थियो । बेनी पाखापानी सडक निर्माणका क्रममा माटो जथाभावी फाल्नुका साथै सडकको ढल व्यवस्थापनमा ध्यान नदिँदा स्थानीय वर्षेनी समस्या भोग्दै आएका छन् ।