समाचार

दिक्षित परिवारको अचल सम्पत्ति रोक्का गर्न अख्तियारको निर्देशन (विज्ञप्ति सहित)

अख्तियारको विज्ञप्ति जस्ताको तस्तैः

-------------------------------------
कनकमणी दिक्षितका सम्बन्धमा ।
-----------------------------------
यस आयोगमा साझा यातायात सहकारी संस्था लिमिटेडका अध्यक्ष कनकमणि दीक्षितका विरुद्ध परेका विभिन्न उजुरीहरु उपर अनुसन्धान गर्ने सिलसिलामा देहाय बमोजिमको थप निर्णय गरिएको छ । स्वर्गीय रानी जगदम्बाको नाममा स्थापित ‘जगदम्बा दातब्य औषधालय’ तथा स्वर्गीय मदन शम्शेर राणाको नाममा स्थापित ‘मदन धारा समिति’ का नाममा देशका विभिन्न भागमा रहेका जग्गा अनियमितता नहोस भन्ने तर्फ ध्यान दिदै आयोगले त्यस्ता अचल सम्पत्ती हाललाई रोक्का राख्न सम्बन्धित नेपाल सरकार, भूमी सुधार व्यवस्था मन्त्रालय र सम्बन्धित मालपोत कार्यालयलाई लेखि पठाउने निर्णय गरेको छ ।
स्वर्गीय रानी जगदम्वा कुमारी राणाले २०१५ असोज २४ गतेको लिखतद्वारा आफनो नाम/कृति अमर राख्ने उद्धेश्य अनुरुप ‘जगदम्वा दातव्य औषधालय’ स्थापना गर्न आफना सेक्रेटरी कमलमणि दीक्षितलाई संचालक समितिको सदस्य वनाउने सर्तमा ४० हजार कम्पनी दिएको देखिन्छ । उक्त रकम मध्ये ३५ हजारको जग्गा किन्नु, ४ हजारको घर बनाउनु र १ हजारको फर्निचर खरिद गरी कार्यालय सञ्चालन गर्नु भनि रानी जगदम्बाको लिखत आदेश रहेको थियो । सो अनुसार रानी जगदम्बाका सेक्रेटरी कमलमणि दीक्षित समेतले तेह्रथुम जिल्लाकै आठराई संक्रन्तीमा औषधालय स्थापना गरेका थिए ।
लिखत आदेश अनुसार दीक्षितले औषधालयको नाममा मोरङको दुलारी गा.वि.स.वडा नम्बर ५ मा ४८ विगाहा १२ कट्ठा ८ धुर जग्गा खरिद गरेको देखिन्छ । त्यस्तै ताप्लेजुङ जिल्लाको निघुराधिन गाविसमा ५३ रोपनी १३ आना ३ पैसा जग्गा खरिद गरेको पाइएको छ ।
मिति २०२९ असार २८ गतेको तत्कालीन श्री ५ को सरकारको निर्णय अनुसार दाता स्व: रानी जगदम्वाको इच्छा बमोजिम सो औषधालय सञ्चालनका लागि तेह्रथुम जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा ४ सदस्यीय सञ्चालक समिति गठन गरिएको थियो । उक्त समिति गठन भएको ४० बर्षपछि २०६९ माघ २६ गते स्वास्थ्य सेवा विभागले एक पत्र लेखि जगदम्बा दातब्य औषधालयलाई नै बैधानिकता दिन र २०२९ सालमा गठित समिति भङ्ग गर्न पत्राचार गरेको देखिन्छ । स्वास्थ्य सेवा विभागको पत्राचारपछि नयाँ समिति बनेको र उक्त समितिमा कमलमणि दीक्षित समेत रहेको देखिन्छ ।
सामाजिक संस्थाको रुपमा रहँदै आएको जगदम्बा दातव्य औषधालयलाई कमलमणि दीक्षित कै पहलमा रानी जगदम्बाको लिखत आदेशको मर्म, भावना र उद्धेश्य विपरित २०७१ बैसाख ४ गते उक्त औषधालयलाई कम्पनी ऐन २०६३ अन्तर्गत कम्पनीका रुपमा दर्ता गरेको पाइएको छ । उक्त कम्पनीको प्रवन्ध पत्र तथा नियमावलीमा कम्पनीका रुपमा परिणत गरिएको सो औषधालयको नाममा रहेका अचल सम्पत्ती वेचविखन तथा हक हस्तान्तरण गर्न सक्ने प्रावधान राखिएको छ ।
तसर्थ रानी जगदम्बाको परोपकारी भावना र सामाजिक उद्धेश्य अनुसार स्थापित जगदम्बा दातव्य औषधालयको नाममा रहेको जग्गा विक्रि वितरण तथा नास गर्न सक्ने संभावनालाई दृष्टिगत गरी सामाजिक कार्यका लागि खरिद गरिएको सो जग्गाको संरक्षण गर्न आवश्यक भएकाले आयोगको मिति २०७३ जेठ २६ गतेको बैठकद्वारा सो औषधालयको नाममा रहेका सम्पूर्ण जग्गा रोक्का राख्न नेपाल सरकार, भूमीसुधार तथा व्यवस्था मन्त्रालय र सम्बन्धित मालपोत कार्यालयलाई लेखि पठाउने निर्णय गरिएको छ । साथै सामाजिक सस्थालाई निजी कम्पनीका रुपमा परिणत गर्ने र संस्थाको चल÷अचल सम्पत्ती वेचविखनको प्रयास गर्ने सम्बन्धित व्यक्तिहरुमाथि आयोगले विस्तृत अनुसन्धान समेत गर्ने छ ।
यसैगरी कमलमणि दीक्षितकै पहलमा स्वर्गीय मदन शम्शेर राणाको नाममा समेत मदन धारा समिति नामक एक संस्था गठन भएको र सो समितिको नाममा मोरङ जिल्लाको दुलारी गाविस वडा नम्बर ५ मै ७ विगाहा १२ धुर जग्गा खरिद गरेको देखिन्छ । आयोगको हालसम्मको अध्ययनबाट मदन धारा समिति कसरी, कहिले र के उद्धेश्यले स्थापना भएको हो भन्ने केही कतै देखिदैन ।
यस मदन धारा समितिलाई समेत २०७० माघ २९ गते कम्पनी रजिष्टारको कार्यालयको निर्णयले कम्पनी ऐन २०६३ अन्तर्गत कम्पनीका रुपमा दर्ता गरेको देखिन्छ । यो कम्पनी सञ्चालनका लागि कमलमणि दीक्षितको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति गठन गरिएको पाइएको छ । समितिको प्रवन्ध पत्र तथा नियमावली अध्ययन गर्दा मदन धारा समिति कसरी, कहिले र कुन उद्धेश्यले स्थापना गरिएको हो भन्ने स्पष्ट नुहुँदै सो समितिको नाममा रहेको जग्गा कम्पनीको स्वामित्वमा रहने र वेचविखन गर्न समेत पाउने व्यवस्था गरेको पाइएको छ । तसर्थ मदन धारा समितिको नाममा रहेको उक्त जग्गासमेत रोक्का राख्न नेपाल सरकार, भूमी सुधार तथा व्यवस्था मन्त्रालय र सम्बन्धित मालपोत कार्यालयलाई लेखि पठाउन आयोगको मिति २०७३ जेठ २६ गतेको निर्णय अनुसार यो विज्ञप्ती जारी गरिएको छ ।
यसैगरी रानी जगदम्बाले पाटन कलेजलाई दान दिएको भनिएको ललितपुर उपमहानगरपालिका वडा नम्बर ३ अन्तर्गतका कित्ता नम्बर ८०, ८१, ८२, ८३, ८४ र ८५ को ५ रोपनी २ आना जग्गा कमलमणि दीक्षितले जगदम्बा प्रेस प्रा.लि. र मदन पुरस्कार पुस्तकालयको नाममा दर्ता गरेको देखियो । उक्त जग्गामा रहेको जगदम्बा प्रेस प्रा.लि. दीक्षित परिबारको नाममा रहेको प्रष्ट देखिन्छ । पाटन कलेजलाई दिएको भनिएको उक्त जग्गामा दीक्षित परिबारले सञ्चालन गरिरहेको जगदम्बा प्रेस प्रा.लि. को २०७२ पुस २३ गतेको सञ्चालक समितिको निर्णय बमोजिम अध्यक्ष कमलमणि दीक्षित र निजका नजिकका नातेदारहरुका वीच शेयर वाडफाँड गर्ने गरी भएको निर्णय समेतका विषयमा छानविन अनुसन्धान गर्न र शेयर सदस्यहरुवीच अचल सम्पत्ती वाँडफाँड तथा हक हस्तान्त।णको विषयमा आयोग समक्ष सत्य तथ्य व्यहोरा पेश गर्न कम्पनी रजिष्टारको कार्यालयलाई लेखि पठाउने समेत निर्णय भएको छ ।
यसअघि आयोगको मिति २०७३ जेठ १६ गतेको निर्णय अनुसार कमलमणि दीक्षित निजका छोरा द्वय कनकमणी दीक्षित, कुन्द दीक्षित र परिवारका सदस्य तथा नजिका नातेदारले हदबन्दीभन्दा वढीको लुकाई राखेको १७ रोपनी १३ आना जग्गाबारे भूमी सुधार ऐन २०२१ बमोजिम कारबाहीका लागि नेपाल सरकार, भुमीसुधार तथा व्यवस्था मन्त्रालयमार्फत भुमिसुधार कार्यालयमा लेखिपठाइएको थियो ।