समाचार

बालुवाको ढिस्काले पुरिएर ३ जनाको मृत्यु

नुवाकोट । नुवाकोटमा बालुवाको ढिस्कोले पुरिएर तीन जनाको मृत्यु भएको छ । जिल्लाको  खड्गभन्ज्याङ गाविस–९ गैरीखोल्सोमा बालुवाको ढिस्कामा पुरिदा तीन जनाको मृत्यु भएको हो ।
बा३ख ९७०९ नम्बरको मिनीट्रकमा बालुवा खानीबाट बालुवा राख्ने क्रममा माथिबाट ढिस्को खसेर पुरिँदा सो घटना भएको हो। मृत्यु हुनेमा चालक दाङसिङ– ४ का ३५ वर्षीय गङ्गासिह भनिने विकास तामाङ र सहचालक १८ वर्षीय प्रकाश तामाङ र खड्गभन्ज्याङ– ९ का कामदार २२ वर्षीय शङ्कर राई रहेका छन्।
 
अग्लो ढिस्कोमुनि ट्रकमा बालुवा भर्ने क्रममा सो घटनाल भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए।

केही क्षणमै उद्धार टोली पुगे पनि ढिस्कोले पुरिएकाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृतकको शव त्रिशूली जिल्ला अस्पतालमा परीक्षणक लागि पठाइएको छ भने मिनीट्रक प्रहरीले नियन्त्रणमा लिएको छ।