समाचार

ओली–दाहाल दूरी बढ्यो, भद्र सहमतिमा किचलो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको  सम्बन्धमा चीसोपना उत्पन्न भएको छ । वर्तमान सरकारलाई समर्थनको निरन्तरताबारे बैशाख १७ गते प्रधानमन्त्री ओली र आमोवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको भनिएको तीनबुँदै समझलारीको व्याख्या र कार्यान्वयनलाई लिएर दुई नेताबीच फरक मत देखिएको हो ।

माओवादीका सबै नेता र कार्यकर्ताविरुद्ध द्वन्द्वकालदेखि लागेका सबै राजनीतिक प्रतिशोधका मुद्दा फिर्ता गर्नेसहित विभिन्न ८ बुँदामा दुई शीर्ष नेताको सहमति भए पनि बजेट पारित भएपछि ओलीले सरकार छाड्ने र एमालेले दाहाललाई प्रधानमन्त्रीका रुपमा समर्थन गर्ने अलिखित समझदारी भएको भन्नेबारे अहिले फरक मत देखा परेको हो ।

यही विषयलाई लिएर उनीहरुबीच सोमबार विहान बालुवाटारमा भएको  भेटघाट पनि सौहार्दपूर्ण बन्न सकेन । दाहालले माओवादी केन्द्रको संसदीय दल र हेडक्वार्टर नेता सम्मिलित बैठकमा आइतबार बजेट र ओली कार्यशैलीको चर्को विरोध पनि गरे । लीसँगको भेटमा उनले त्यसबारे जिज्ञासा राखेका थिए ।

स्रोतका अनुसार दाहालले बजेटपछि आफूलाई नेतृत्व हस्तान्तरण गर्ने सर्तमा बालुवाटारमै अनौपचारिक सहमति भएअनुरुप अब बाटो खोल्नुपर्ने अडान राखेको बुझिएको छ ।

प्रचण्डले सहमति अनुसार बजेट नआएको भन्दै ओलीसँगको सम्बन्ध दीगो नबनाउने छनक पनि देखाएका छन् । यता प्रधानमन्त्री ओलीकै पार्टीका वरिष्ठ नेता  झलनाथ खनालले नीति तथा कार्यक्रम र बजेटपछि सरकार परिवर्तन गर्न माओवादीसँग सहमति भएको पुष्टि गरेका छन् ।

धर्मराएको सरकार बचाउन वैशाख तेस्रो साता दुई वामपन्थी दलबीच सहमति भएको उनको भनाइ छ । उनले भने– ‘सरकारले बजेट पेस गर्ने र पारित भएपछि काँध फेर्ने अनौपचारिक सहमति भएकै हो ।’

सरकार परिवर्तनका लागि तीनबुँदे गोप्य सम्झौताको मस्यौदा तयार भएपछि प्रधानमन्त्रीले आफूमाथि अविश्वास भएको भन्दै गुनासो गरेपछि भद्र सहमति भएको गरिएको जानकारहरु बताउँछन् ।